गत असार १ मा ब्रम्हायाणी र नेशमखोलामा आएको बाढीले यसको तट क्षेत्र पूरै ध्वस्त बनायो । यी दुई खोला तर्ने दुई वटा झोलुंगे पुल चुडिँएपछि स्थानीय बर्खाभर गाउँमै थुनिए, ब्रम्हायाणीतिरका दुई दर्जनभन्दा बढी परिवार विस्थापित भए । झोलुंगे पुल चुँडिएपछि जिल्लाको सदरमुकाम चौताराबाट करिब ६५ किलोमिटरको दूरीमा रहेको जुगल गापाको पुछारका गाउँ दिपु ,तेगा र तेम्बाथानबीच आपसी सम्पर्क पूरै टुट्यो, सडक, बिजुलीदेखि उच्च शिक्षाजस्ता विकासको पर्खाइमा वर्षौंदेखि कुरेर बसेका तीन गाउँभरका दुई सय २० परिवार बजारक्षेत्रसँग जोड्ने पुल बगाएपछि थप समस्यामा परे ।