फागुन ११, काठमाडौं । राष्ट्रिय बीमा संस्थानको ५ वर्षको वित्तीय विवरण हेर्दा सबै सूचकहरुमा उलेख्य वृद्धि भएको पाइएको छ । ५ वर्षको अवधिमा कम्पनीको चुक्तापूँजी, जगेडा कोष, जीवन बीमा कोष, आम्दानीलगायतमा उलेख्य वृद्धि भएको पाइएको हो ।
यो कम्पनीको आर्थिक वर्ष (आव) २०७३/७४ मा ९३ लाख रुपैयाँ कायम रहेको चुक्तापूँजी गत आव २०७७/७८ को अन्त्यसम्ममा १ हजार ८४६ प्रतिशतले वृद्धि भएर १८ करोड रुपैयाँ कायम भएको छ । त्यसैगरी जगेडा कोष पनि ६ दशमलव ३४ प्रतिशतले वृद्धि भएको छ । ५ वर्षअघि ३२ करोड १७ लाख रुपैयाँ रहेको जगेडा कोष गत आवको अन्त्यसम्ममा वृद्धि भएर ३४ करोड २१ लाख रुपैयाँ कायम भएको छ ।
त्यसैगरी ५ वर्षको अन्तरालमा खुद नाफामा पनि वृद्धि भएको छ । यो कम्पनीको आव २०७३/७४ को तुलनामा २०७७/७८ को अन्त्यसम्ममा खुद नाफा ७ सय ५८ प्रतिशतले वृद्धि भएको हो । आव २०७३/७४ मा खुद नाफा ६८ लाख रुपैयाँ भएकोमा गत आवको अन्त्यसम्ममा बढेर ५ करोड ६२ लाख रुपैयाँ कायम भएको हो । त्यस्तै खुद बीमा शुल्क पनि ५ वर्षको अवधिमा १७५ प्रतिशतले वृद्धि भएको छ भने आम्दानी २३९ प्रतिशत र अभिकर्ता कमिशन १४१ प्रतिशतले वृद्धि भएको छ ।
यो कम्पनीको ५ वर्षअघि ११ अर्ब ७२ करोड रुपैयाँ जीवन बीमा कोषमा जम्मा भएको थियो । तर, गत वर्षको अन्त्यसम्ममा १८० प्रतिशतले वृद्धि भएर ३२ अर्ब ९३ करोड रुपैयाँ कायम भएको छ ।