महिला उद्यमी संघ चितवन अध्यक्षमा शर्मा

चितवन (अस) । महिला उद्यमी संघ नेपाल चितवनको अध्यक्षमा राजकुमारी शर्मा चयन भएकी छन् । संघको छैटौं साधारणसभा तथा दोस्रो अधिवेशनबाट शर्मा सर्वसम्मत निर्वाचित भएकी हुन् । संघले ११ सदस्यीय कार्यसमिति चयन गरेको छ । प्रथम उपाध्यक्षमा श्वेता उपाध्याय, द्वितीय उपाध्यक्षमा बिनु लामा श्रेष्ठ, तृतीय उपाध्यक्षमा आरती प्रधान चयन भएका छन् । यस्तै, सचिवमा सरस्वती सिग्देल र कोषाध्यक्षमा तारा रसाइली चयन भएका छन् । सदस्यमा तीर्थना उप्रेती, बिना तिवारी, डा. पूजा कोइराला, नितु गुरुङ र सल्लाहकारमा कल्पना राजभण्डारी चयन भएका हुन्  ।  नवनिर्वाचित अध्यक्ष शर्माले विगतका बाँकी रहेका कामलाई पूरा गर्ने प्रतिबद्धता व्यक्त गरिन् । आफ्नो कार्यकालमा  महिलालाई आत्मनिर्भर बनाउन सीपमूलक तालिम, चेतनामुलक कार्यक्रमलाई अगाडि बढाई उद्यममा आकर्षण गर्ने योजना ल्याइने उनले जानकारी दिइन् ।

सम्बन्धित सामग्री

चितवनमा महिला उद्यमी मेला शुरु

चितवन । उद्योग वाणिज्य संघ, चितवनको परिसरमा महिला उद्यमी मेला शुरू भएको छ । मेलाको शनिवार प्रतिनिधिसभा सदस्य अन्जनी श्रेष्ठले उद्घाटन गरिन् ।  उद्धघाटनपछि बोल्दै श्रेष्ठले महिला उत्पादनमा जोडिनु आवश्यक रहेको बताइन् । उत्पादनमा नजोडिएसम्म महिला आत्मनिर्भर बन्न नसक्ने भन्दै उनले महिला उद्यमी मेलाले चितवन र आसपासका महिलाहरूलाई उद्यमी बनाउन मद्दत पुग्ने बताइन् ।  कार्यक्रममा जिल्ला समन्वय समिति, चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले उत्पादनबिना समृद्धिको परिकल्पना गर्न नसकिने बताए । राज्यले नीति निर्माण गर्दा आधा आकाश ढाक्ने महिलाहरूका मुद्दामा पनि ध्यान दिनुपर्ने उनको भनाइ थियो  । उद्योग वाणिज्य संघ, चितवनका अध्यक्ष चुननारायण श्रेष्ठ, भरतपुर–१ का वडाअध्यक्ष केशव महर्जन, भरतपुर महानगरका आर्थिक विकास महाशाखाका प्रमुख तेजेन्द्रप्रसाद पौडेल, चितवन उद्योग संघका उपाध्यक्ष युगराज वस्ती लगायतले उद्यम उद्यमशीलता, उत्पादन, आत्मनिर्भर लगायतका विषयमा जोड दिएका थिए ।

‘तिज विशेष उद्यमशील एक्स्पो’

नेपाली महिलाको महान् चाडको अवसर पारेर चितवनको भरतपुरस्थित चितवन औद्योगिक प्रदर्शनी केन्द्रमा ‘तिज विशेष उद्यमशील एक्स्पो २०८०’ गरिने भएको छ । चितवन उद्योग सङ्घ महिला उद्यमी मञ्चको परिकल्पनामा चितवन उद्योग सङ्घ युवा उद्यमी मञ्च र महिला सृजनशील केन्द्रको संयुक्त आयोजनामा चितवनमै पहिलो पटक भदौ २२ देखि २४ सम्म एक्स्पो गर्न लागेको मङ्गलबार यहाँ पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो ।

चितवन उद्योग संघ, माडीको अध्यक्षमा रमेश नेपाली

चितवन । चितवन उद्योग संघ माडी समिति अध्यक्षमा रमेश नेपाली चयन भएका छन् । संघको शनिवार भएको पाँचौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनले २०८०/०८१ को लागि नेपालीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।  संघको उपाध्यक्षहरूमा नारायणदत्त रिजाल र गोविन्दप्रसाद नेपाल, सचिवमा जिताराम महतो र कोषाध्यक्षमा सुमनराज खनाल चयन भएका छन् । यसैगरी संघको सदस्यहरूमा चिरञ्जीवी बराल, कौशल्या देवी शाह, मोहनराज पोख्रेल, अर्जुन श्रेष्ठ, भारती न्यौपाने भुसाल र दामोदर देवकोटा छन् ।  महिला उद्यमी मञ्च माडी अध्यक्षमा भारती न्यौपाने भुषाल र युवा उद्यमी मञ्चमा दामोदर देवकोटा चयन भएका हुन् । नव निर्वाचित पदाधिकारीहरूलाई चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलले सपथ गराएका थिए । कार्यक्रममा माडी नगरपालिकाकी मेयर ताराकुमारी काजी महतोको उपस्थिति थियो ।

बारीमा झाडी बनेको 'बाँकोको गुन्द्रुक' किलोको दुई हजार रुपैयाँ, हङकङसम्म निर्यात

बलेवा । वनमा खेर गइरहेको बाँको अहिले भान्सा भान्सामा पुगेको छ । सिपालुको हात लागेपछि बाँको गुन्द्रुक बन्छ । बारीमा झाडी बनेको सिस्नोको माग पनि अधिक छ । सीप सिकेका महिला सिस्नोको धुलो बनाउँछन् । प्याकिङपछि सिस्नो सबैको भान्सामा पुग्छ । तरकारीका लागि मात्रै प्रयोग गरिने आलु खाजा बनेको छ । चिप्स बनाएपछि आलुको मूल्य दोब्बर पर्छ । बागलुङको जैमिनी नगरपालिका–३ दमेकका उद्यमीको परिचय यिनै उत्पादनले बदलेको छ ।  यहाँका किसानले उत्पादन गरेको बाँको, सिस्नो र आलु चिप्सको माग बजारमा बढ्दो छ । वनजङ्गल र घरआँगनमा खेर गइरहेको सिस्नोलाई सङ्कलन गरी पाउडर बनाइन्छ । पहिले तरकारीका रूपमा एकाध प्रयोग हुने बहुगुणी सिस्नोको बजारीकरणमा जैमिनी नगरपालिकाले सघाएको छ । नगरपालिकाले सिस्नोको धुलो बनाउने आधारभूत तालिम र मेसिनसमेत सहयोग गरेपछि महिला उद्यमी उत्साहित छन् । 'यो वर्षमात्रै दुई हजार किलो सिस्नो पाउडर तयार भयो, माग धान्नै सकिएन,' गाजादह सिस्नो पाउडर उत्पादन समितिका अध्यक्ष तारादेवी पुनले भनिन्, 'अब सिस्नो उत्पादनमा लाग्नुपर्ने भयो ।' पहिले छुँदा पोल्ने सिस्नोलाई झाडीका रूपमा पन्छाएर आगो लगाउने किसानले अहिले सिस्नो जोगाउन थालेका छन् । 'बाँझो जग्गामा सिस्नो लगाउने योजना छ, आफैँ उम्रिएको सिस्नोले अब पुग्दैन,' पुनले भनिनन्, 'सामान्य प्रचार हुँदामात्रै देश–विदेशबाट माग आयो ।' चितवन, काठमाडौं, पोखरा र हङकङका बजारमा दमेकको सिस्नो पुगेको उनले बताइन्। यसले स्थानीय महिलाको आम्दानी पनि राम्रो भएको छ । पाउडरका रूपमा उत्पादन गरिने सिस्नो विभिन्न खानाका परिकारसँग खान मिल्ने र स्वास्थ्यलाई समेत फाइदा पुग्ने भएकाले माग बढ्दै गएको हो । प्रतिकेजी रु ६ सय ५० मा सिस्नोको धुलो बिक्री भइरहेको पुनले बताइन् । सिस्नोको धुलोजस्तै बाँकोको गुन्द्रुक पनि दमेकको परिचय बनेको छ । छुँदा चिलाउने बाँकोलाई किसानले सावधानीपूर्वक टिपेर गुन्द्रुक बनाउँछन् । त्यही गुन्द्रुकले प्राङ्गारिक स्वाद दिन्छ । 'हामीले यो वर्ष व्यावसायिक उत्पादनको प्रयास थाल्यौँ, प्रशोधन र प्याकिङमा नगरपालिकाले सहयोग गरेको छु,' स्थानीय कृष्णबहादुर छन्त्यालले भने, 'गाउँ आउनेले बोकेर जानुहुन्छ, बजारबाट आएको माग पूरा गर्न सकिएको छैन ।' बाँको सबै याममा पाइँदैन । किसानले वर्षायाममा जङ्गलबाट बाँको घर भित्र्याउँछन्, गुन्द्रुक बनाउँछन् । बाँकोको गुन्द्रक १०० ग्रामलाई २०० रुपैयाँमा विक्री हुने गरेको छ । 'धान फल्दैन, कोदो, मकै र गहुँ कम फल्छ, हाम्रो मुख्य उत्पादन आलु हो, अहिले गुन्द्रुकले आम्दानीसँग जोडेको छ,' छन्त्यालले भने ।   खानाको स्वादका लागि निकै राम्रो मानिने दमेकको आलुले पनि स्वरुप फेरिएपछि मूल्य पाउन थालेको छ । किसानले बर्सेनि उत्पादन गर्ने आलु कहिले खाद्यान्नसँग साटेर त कहिले विक्री गरेर खर्च चलाउँथे । पछिल्लो समय वडा र नगरले चिप्स बनाउन सिकाएको छ । किसानले आलुको चिप्स बनाउन थालेपछि आलुको सटही र विक्री गर्दाभन्दा दोब्बर मूल्य पर्ने गरेको स्थानीय इन्दिरा थापाले बताइन् । 'स–साना उत्पादन गरेरै भए पनि नागरिकलाई उद्यमी बनाउने प्रयासमा छौं' वडाध्यक्ष कृष्णबहादुर भुजेल भन्नुहुन्छ, 'आलु चिप्स वडाका विद्यालय, कार्यालय र सार्वजनिक कार्यक्रममा खाजाका रूपमा प्रयोगमा ल्याएर भए पनि यसको प्रवर्द्धन गर्छौँ ।' रासस

विदेशमा लगानी गर्न नदिनु लज्जास्पद : गभर्नर अधिकारी

काठमाडौं । निजीक्षेत्रले नेपाली नागरिकलाई विदेशमा लगानी गर्न अनुमति दिनुपर्ने माग गर्दै आइरहेका बेला एक जना उच्च अधिकारीले नेपालीलाई विदेशमा लगानी गर्नमा लगाइएको प्रतिबन्ध अविलम्ब हटाउनुपर्नेमा जोड दिएका छन् । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालीलाई विदेशमा लगानी गर्न दिनुपर्ने तर्क मात्र गरेनन्, त्यसमा रोक लगाउनु लज्जाको विषय भएको बताए । ‘विदेशी लगानीकर्ताले नेपालीले विदेशमा लगानी गर्छन् कि गर्दैनन् भन्ने सोध्दा जवाफ दिन लाज भयो,’ नेपाल उद्योग परिसंघले काठमाडौंमा सोमवार आयोजना गरेको ‘मेक इन नेपाल : स्वदेशी समिट–२०२२’ मा गभर्नर अधिकारीले लगानी बोर्ड नेपालको प्रमुख कार्यकारी अधिकृत हुँदाको अनुभव सुनाए । नेपालीलाई विदेशमा लगानी गर्ने बाटो छिटो खुला गर्नुपर्नेमा उनले जोड दिए । उनका अनुसार सरकारले २०२१ सालमै ऐन ल्याएर नेपाली नागरिकलाई विदेशमा लगानी गर्न प्रतिबन्ध लगाएको हो । कार्यक्रम अन्तर्गतको पहिलो सत्रमा अधिकारीले आवश्यक शर्त राखेर विदेशमा लगानी गर्न दिनुपर्ने बताए । ‘कस्ता शर्त, कुन देश, कुन क्षेत्र जस्ता विषयमा स्पष्ट हुनुपर्छ,’ अधिकारीले भने, ‘विदेशमा लगानी जतिसक्दो छिटो खुला गरौं ।’ उत्पादन बढाउन विदेशी लगानीको अवसर शीर्षकको उक्त सत्रका प्रमुख वक्ता रहेका राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले भने नेपाली उद्यमी, व्यवसायीलाई अहिले नै विदेशमा लगानी गर्न दिन नहुने तर्क गरे । ‘विदेशमा लगानी ⋲वात्तै खुला गर्नुपर्छ भन्ने होइन,’ पौडेलले भने, ‘पारदर्शी रूपमा हुने लगानी विस्तारै खुला गरिनुपर्छ । कर्मचारी र नेतृत्वकर्तामा आत्मविश्वास भएपछि मात्रै विदेशमा लगानी गरौं ।’ उक्त अवसरमा गभर्नर अधिकारीले वैदेशिक लगानी आउँदा निजीक्षेत्रले प्रतिस्पर्धा गर्न डराएको पनि बताए । विभिन्न कम्पनीको उदाहरण दिँदै उनले लगानीले प्रविधि, गुणस्तरका साथै प्रतिस्पर्धात्मक क्षमतामा पनि सकारात्मक योगदान दिने बताए । कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले औद्योगिक क्षेत्र, ग्राम तथा विशेष आर्थिक क्षेत्र (सेज)को पूर्वाधारमा लगानी नै गर्न नसकेको बताए । २०७९ देखि स्वदेशी उत्पादन र उपभोग बढाउने अभियान तथा दशक नै शुरू गर्ने योजना रहेको र त्यो कुरा बजेटमा आउने मन्त्री बडूको भनाइ छ । मुलुकमा खुला गरिएका औद्योगिक क्षेत्रमा निजीक्षेत्र पाटर्नर बनेर आउनुपर्नेमा उनले जोड दिए । पूर्वअर्थमन्त्री वर्षमान पुनले राजनीतिक दलहरूमा आर्थिक क्रान्तिका साथै उत्पादकत्व वृद्धिको सोच पनि आउन जरुरी रहेको बताए । ‘उत्पादकत्व वृद्धिमा कानूनी तगारा’ शीर्षकको दोस्रो सत्रमा उनले कानून सहज होला भन्दा मन्त्रिपरिषद्सम्म पुग्दा थप जटिल हुने बताए । उनले कानून र नीतिका साथै नियत बदल्न पनि जरुरी रहेको बताए । अर्का पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले उद्योग र कृषिका लागि जग्गा नहुँदासम्म समृद्धि नहुने तर्क गरे । ‘उद्योगमा जमीन खोइ ?’ विषयको तेस्रो सत्रमा उनले यी क्षेत्रका जग्गा कर लगाउन नहुने र राष्ट्रव्यापी रूपमा जग्गाको वर्गीकरण हुनुपर्ने बताए । त्यो काम केन्द्र तहबाट हुनुपर्ने पूर्वमन्त्री पाण्डेको सुझाव छ । सरकारी जग्गा भए पनि त्यसलाई उपभोगमा लैजान मन्त्रालयका उच्च अधिकारीले स्वीकृति नदिने समस्या रहेको उनले गुनासो गरे । कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटाले अहिलेसम्म सरकारले नै ऐन बनाएको तर निजीक्षेत्र तथा व्यवसायीले यस्तो कानून चाहियो भनेर विधेयक नल्याएको बताए । परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले अहिले उत्पादन क्षेत्रले कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा १५ प्रतिशत योगदान गरेको र त्यसलाई २५ प्रतिशत पुर्‍याउने गरी काम गरिने बताए । अबको ५ वर्षमा ५ खर्बको निर्यात गर्ने गरी अभियान अघि बढाउने लक्ष्य रहेको कार्यक्रममा उनले जानकारी दिए । ‘लगानी गर्न जग्गाको अभाव छ, उद्योगमा भन्दा जग्गामा बढी लगानी जान्छ,’ अध्यक्ष अग्रवालले भने, ‘अबको दशकलाई स्वदेशी दशक घोषणा गरौं ।’ दिगो विकास लक्ष्य प्राप्ति र मध्यम आयमा स्तरोन्नति हुन ठूलो लगानी आवश्यक हुने भन्दै उनले स्वदेशी स्रोतले मात्रै नपुग्ने हुँदा ठूलो मात्रामा वैदेशिक लगानी ल्याउन आवश्यक भएको बताए । महिला उद्यमी महासंघकी पूर्वअध्यक्ष छायाँ शर्माले पुराना कानूनहरू खारेज वा संशोधन नहुँदा समस्या भएको बताइन् । निजीक्षेत्रको सक्रियता र सरकारले महिला उद्यमीलाई प्रोत्साहन गर्नुपर्नेमा उनको जोड थियो । इक्रा नेपाल लिमिटेडकी बिजनेश हेड वर्षा श्रेष्ठले देशको रेटिङ गर्न सके जोखिम हेरेर विदेशी लगानीकर्ता आउने वातावरण बन्ने बताइन् । कम्पनीहरूको रेटिङ गर्दा पनि निजीक्षेत्रमा सकारात्मक प्रभाव परेको उनको भनाइ छ । परिसंघका पूर्वअध्यक्ष हरिभक्त शर्माले अहिले उद्योगी, व्यवसायीले आफ्नै स्रोतसाधनबाट उद्योग खोल्न सक्ने अवस्था नभएको बताए । ‘अहिलेको जग्गाको बजार मूल्य हेर्दा उद्योग स्थापना नै कठिन छ,’ शर्माले भने, ‘यस्तै भएमा अबको ५ वर्षमा उद्योग सञ्चालन गर्न सक्दैनौं ।’ गणतन्त्र आएपछि नेपालमा एउटा पनि औद्योगिक क्षेत्र कार्यान्वयनमा नआएको भन्दै उनले थपे, ‘औद्योगिक कोरिडोरहरूमा भैरहवा, चितवन, नेपालगञ्जजस्ता क्षेत्र आएका छन् ।’ अहिले भएका जग्गासम्बन्धी र औद्योगिक व्यवसाय ऐनले उद्योगको जग्गालाई अप्रत्यक्ष रूपमा राष्ट्रियकरण गर्न खोजेको उनले बताए ।

तीन महीनामा चितवनमा ७८३ ओटा नयाँ उद्योग दर्ता

कात्तिक १०, चितवन । चितवनमा तीन महीनाको अवधिमा सबै प्रकारका उद्योग गरी ७८३ ओटा नयाँ उद्योग दर्ता भएका छन् । कार्यालयको तथ्यांक अनुसार सबैभन्दा बढी कृषि तथा वनजन्य उद्योग दर्ता भएका हुन् ।  सो अवधिमा ५८८ ओटा कृषि तथा वनजन्य उद्योग दर्ता भएका थिए । यस्तै सो अवधिमा १३३ ओटा सेवामुलक उद्योग, उत्पादनमुलक उद्योग ८८ ओटा र पर्यटन मुलक उद्योग ८ ओटा दर्ता भएको तथ्यांक छ ।  ऊर्जामुलक उद्योग, खनिजजन्य उद्योग, निर्माणमुलक उद्योग र विज्ञान तथा सूचनाप्रविधि उद्योग भने दर्ता भएका छैनन् । कार्यालयका प्रमुख यादवनाथ आचार्यले चितवन कृषि तथा पशुपालन उद्योग गर्न उर्वर र उपयुक्त भूमि तथा अनुदानको व्यवस्था भएकोले कृषि तथा वनजन्य उद्योग अन्तर्गत उद्योग दर्ता गर्नेको संख्या बढेको बताए । ‘चितवन आफैमा कृषिको हब र उर्वरभूमि हो, उनले भने, कृषि क्षेत्रमा स्थानीय सरकार, प्रदेश र संघीय सरकारले बढी प्राथमिकता पनि दिएको छ ।’  महिला उद्यमी झण्डै दोब्बर  तीन महीनाको अवधिमा पुरुष उद्यमीभन्दा महिला उद्यमीको संख्या झण्डै दोब्बर भएको पाइएको छ । तथ्यांक अनुसार सो अवधिमा ५५३ ओटा महिला उद्यम दर्ता भएको छ भने २९२ ओटा पुरुषको नाममा उद्योग दर्ता भएको छ । यसमध्ये उत्पादनमुलक उद्योगमा ६३ महिला, ५६ जना पुरुष उद्यमी, कृषि तथा वनजन्य उद्योगमा ३८३ महिला, १९३ जना पुरुष उद्यमी, सेवामुलक उद्योगमा १०१ जना महिला उद्यमी, पुरुष उद्यमीको संख्या ४० र पर्यटनमुलक उद्योगमा ६ जना महिला उद्यमी र ३ जना पुरुष उद्यमी रहेका छन् ।  कार्यालयका प्रमुख आचार्यले पुरुषको तुलनामा महिलालाई सरकारी निकाय तथा वित्तीय संस्थाबाट व्याजदरमा थप सहुलियत उपलब्ध हुने भएकोले महिला उद्यमीको संख्या पुरुषको तुलनामा बढी भएको बताए । ‘पुरुषलाई भन्दा महिलालाई उद्योग दर्ता गर्न सहज पनि छ । सहुलियत पनि छ ।  उनले भने, दर्ता भएका उद्योगहरु मध्ये महिलाले उद्यम गर्ने प्रकृतिका उद्योगहरु बढी दर्ता छन् ।’ अधिकांश महिलाहरुले आफ्नो नाममा उद्योग दर्ता गर्ने, कृषि तथा वनजन्य उद्योगमा पनि महिलाहरुनै बढी भएकोले पनि महिलाको नाममा उद्योगहरुको संख्या दर्ता बढी भएको उनको भनाइ छ । २२९८ जनालाई रोजगारी  तीन महीनाको अवधिमा दर्ता भएका उद्योगमा २ हजार २९८ जना रोजगार संख्या थपिएको छ । ती मध्ये उत्पादनमुलक उद्योगमा महिला पुरुष गरी ४०५ जना, कृषि तथा वनजन्य उद्योगमा १ हजार ४८६ जना, सेवामुलक उद्योगमा ३७६ जना र पर्यटनमुलक उद्योगमा ३१ जनाले रोजगारी पाएका छन् ।  कार्यालयले यी सबै प्रकारका उद्योग दर्ताबाट १ करोड ६७ हजार रुपैयाँ राजस्व संकलन गरेको जानकारी दिएको छ । यी रोजगारीमा पनि महिलाहरुले नै रोजगारी प्राप्त भएको प्रमुख यादवको भनाइ छ ।  ‘महिलाले दर्ता गरेको उद्योगमा महिलालाईनै प्राथमिकता र अवसर पाउँछन् । स्वतः रोजगारी पनि बढी महिलाको नै हुन्छ ।’ उनले भने कार्यालयमा हाल ५ लाखदेखि पाँच करोड पूँजी भएका उद्योगहरु दर्ता हुँदै आएका छन् । पाँच लाखभन्दा तल पूँजी भएका उद्योग स्थानीय तहमा दर्ता हुने गर्दछ । कार्यालयमा हाल पाँचलाख देखि २० लाख पूँजी भएका उद्योग दर्ता गर्न १२ हजार रुपैयाँ, २० लाख ५० लाख पूँजी भएका उद्योग दर्ताका लागि २० हजार, ५० लाख देखि १ करोडसम्म ३० हजार र १ करोड भन्दा माथि पाँच करोडसम्मका उद्योगका लागि ५० हजार रुपैयाँ दर्ता शुल्क लाग्ने गर्दछ ।

चितवनमा महिला उद्यमी बढे

चितवन, १७ साउन: घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता भएका उद्योगमा महिला उद्यमीको सङ्ख्या पुरुषको तुलनामा बढेका छन् । गत आर्थिक वर्षमा दर्ता भएका उद्योगमा महिला उद्यमीको सङ्ख्या एक हजार ४६९ छ । पुरुषको सङ्ख्या एक हजार १५२ छ । गत आर्थिक वर्षमा दुई हजार ३९२ नयाँ उद्योग दर्ता भएका छन् । साझेदारीसमेत हुने भएकाले […]