रुकुम पूर्व । रुकुम पूर्वको सिस्ने गाउँपालिका–१ मा पाखा ओराली लघुजलविद्युत्् आयोजनाको काम रोकिएको छ । हिमपातका कारण उक्त लघुजलविद्युत् आयोजनाको काम रोकिएको हो ।
माघभित्र सम्पन्न गरिसक्नुपर्ने उक्त विद्युत् आयोजनाको काम हिमपातका कारण पछि धकेलिने भएको छ । गत साता बाक्लो हिउँ परेपछि काम गर्न सिस्ने–१ मा गएका प्राविधिक कर्मचारी र कामदार सबै फिर्ता भएका छन् । हिउँ नपग्लिँदासम्म काम पुनः सुरु गर्न नसकिने वडाध्यक्ष मानबहादुर बुढाले बताए । सम्झौता भएको दुई वर्षभित्र अर्थात् गत आर्थिक वर्षभित्रैमा सम्पन्न गरिसक्नुपर्ने उक्त विद्युत् आयोजनाको काम कोभिडका कारण सामान ढुवानी गर्न नसक्दा पछि धकेलिएको थियो ।
आगामी माघसम्मको म्याद थप गरेर काम अघि बढाए पनि अहिले हिमपातका कारण सबै कामकाज ठप्प भएको वडाध्यक्ष बुढाले बताए । विद्युत् आयोजनाका लागि पाखाओरालीमा पुर्याएको १२ क्विन्टल सिमेन्ट पनि नष्ट भएको वडाध्यक्ष बुढाले जानकारी दिए । उनका अनुसार हिउँले पर्खालमा पनि क्षति पुगेको छ । देउखोलाबाट प्रतिखेप दुई दिन लगाएर खच्चडमार्फत ढुवानी गरिएको सिमेन्ट नष्ट हुँदा समस्या भएको छ । श्रमदानसहित ३ करोड ७७ लाखको लागतमा निर्माण हुन लागेको विद्युत् आयोजनाको अहिलेसम्म ६० प्रतिशत काम सम्पन्न भएको छ । रासस