बनेपा । काभ्रेपलाञ्चोकको धार्मिक तथा ऐतिहासिक मन्दिर चण्डेश्वरीदेखि गोसाईंस्थानसम्मको पर्यटकीय पदमार्ग निर्माण शुरू गरिएको छ । बनेपा नगरपालिकाको गौरवको योजनाअन्तर्गत वडा नं ५ को चण्डेश्वरी मन्दिरदेखि वडा नं ६ को गोसाईंस्थानस्थित महादेव मन्दिरसम्म पर्यटकीय पदमार्गको लागि नगरपालिका र शहरी विकास मन्त्रालयको गरी करिब पाँच करोड आर्थिक सहयोगमा सिँढी निर्माण शुरू भएको हो ।
बनेपा नगरपालिकाले आर्थिक वर्ष २०७७÷७८ मा विनियोजन गरेको १ करोड ३७ लाखमा ठेक्का आह्वान गरी अहिले सिँढी निर्माण भइरहेको वडा नं ५ का वडाध्यक्ष बलराम अधिकारीले बताए । नगरपालिकाको गौरवको आयोजनाअन्तर्गत विभिन्न आयोजनामध्येको सो सिँढी गत वर्षदेखि नै प्रयत्न गरिएकोमा प्रारम्भिक वातावरणीय प्रभाव मूल्यांकन गरी यस वर्ष ठेक्का आह्वान भएर काम अगाडि बढेको हो,’ उनले भने, ‘यो पदमार्ग निर्माण भएपछि पर्यटकीय गन्तव्य बन्नेछ ।’ वडा नं ५ को चण्डेश्वरी मन्दिर छेउबाट शुरू भएर वडा नं ६ को गोसाईंस्थान मन्दिरसम्म पुग्ने सिँढी एक हजार ६०० निर्माण हुने उनले बताए । आठ मिटरको चौडाइमा निर्माण थालिएको सिँढीका लागि शहरी विकास मन्त्रालयबाट समेत ३ करोड ५० लाख बजेट विनियोजन भइसकेकाले छिट्टै सम्पन्न हुने उनको भनाइ छ ।
यसअघि चण्डेश्वरीबाट गोसाईंस्थान मन्दिर जान बनेपा बुडोल भएर घुमेर जानुपर्ने अवस्था रहेकोमा सिँढी निर्माण भएपछि छोटो बाटोमा सिधै जान पाउने भएको छ । सिँढीसँगै सो क्षेत्रमा पार्किङ, बगैंचालगायतका काम हुनेछ । बनेपाकै महत्त्वपूर्ण जंगलको रूपमा रहेको चण्डेश्वरी जंगल भएर निर्माण हुने पदमार्ग वडा नं ६ मा रहेको शहीद पार्कलाई समेत छोएर गोसाईंस्थानसम्म जोडिनेछ । विशेषगरी बजार क्षेत्रका मानिस बिहानी हिँडाइसँगै धार्मिक हिसाबले मन्दिरमा दर्शन गर्न आउनेलाई समेत सो सिँढी निर्माण भएपछि थप सहज हुने अपेक्षा गरिएको छ । त्यससँगै नगरपालिकाले बुद्धपार्क र पूण्यमाता कोरिडोरलगायतको क्षेत्रमा पनि निर्माण अगाडि बढेको बताएको छ । रासस