कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–३ का ६६ वर्षीय पर्शुराम डगौरालाई बिहानै उठेर गोरुको सहायताले दाइँ लगाउनु पर्ने झन्झट छैन । ट्रयाक्टर, पावर टिलर लगायतका कृषि कार्यमा प्रयोग हुने यन्त्र र उपकरणले काममा सहज बनाइदिएपछि डगौरालाई गोरुको दाइँ लगाउनुपर्ने झन्झट नभएको हो ।
‘दुई तीन महिना लगाएर धान, गहुँ दाइँ (गहनी) लगाउनुपर्ने कार्य विगत भइसक्यो,’ उनले भने, ‘दुई महिनासम्म गोरु जुटाएर गरिने दाइँ अब लगाउँदैनौं, एक दुई घण्टामै थ्रेसरको सहायताले धान, गहुँ, मसुरो, तोरी लगायतको बाली थ्रेसिङ गरी भित्र्याउने गरिन्छ ।’ कृषिमा आधुनिक यन्त्र र उपकरणको प्रयोग हुन थालेपछि गोरु, राँगाको सहायताले दाइँ लगाउनुपर्ने चलन हटेको उनले बताए ।
‘बिहान कुखुराको डाँकमै दाइँ लगाउनका लागि पुरुषले उठनु पर्दथ्यो, महिलाहरू ढिकीमा धान कुट्नका लागि उठ्ने गर्दथे,’ सोही ठाउँका रामबहादुर डगौराले भने, ‘विगतको जस्तो कष्ट अब छैन, धान कुट्न ‘राइसमिल’मा जान्छौं, दाइँको कार्य आधुनिक थ्रेसरले गर्न थालेपछि किसानलाई खेती गर्न सहज भएको छ ।’
उनका अनुसार गहुँ, मसुरो खेतमा छरेपछि बढी जग्गा हुनेले चार–पाँच जोडी गोरु, राँगा जुटाएर तीन चार महिनासम्म आँगनमा राखिएको धानमा दाइँ लगाउने गर्दथे । थोरै जग्गा हुनेसँगै एकै जोडी गोरु तथा राँगा हुने भएकाले त्यसकै सहयोगमा एक महिना बढी समय लगाएर दाइँ लगाउँथे । ‘दिनभर दाइँ लगाउथ्यौं,’ उनले भने, ‘ककटी (परालको भूस)मा मकै भुटेर खाथ्यौं, परालभित्रै सुत्ने, दाइँ लगाउने गोरुलाई माली (रस्सीले एक अर्कालाई बाँध्ने) लगाइ दाइँ लगाउथ्यौं ।’ दाइँ लगाउने क्रममै परालको पिर्का बुन्ने कार्य पनि हुने गरेको उनले सुनाए ।
‘दाइँ लगाउँदै थाकेकाहरूले कुवाको पानी चिसो बनाउनका लागि माटोका गाग्रीमा राख्थे,’ स्थानीय रामकिसन डगौराले भने, ‘त्यसैबाट पिउँथे । केहीले सिधै कुवाबाट पानी निकालेर खाने गर्दथे ।’ ती सबै चलन आधुनिक परिवेशसँगै हराएको उनले बताए ।
दाइँका लागि प्रयोग हुने गोरु, राँगाको खुट्टाले धान, गहुँ, मसुरो लगायतको अन्नबाली झार्ने गरिन्थ्यो भने माथिल्लो हिस्साको अन्नबाली झारिएपछि काठमा फलामको प्रयोग गरी बनाइएको अखैनको प्रयोगले पराल, गहुँको डाँठमा अड्केका दानालाई झार्ने कार्य हुन्थ्यो । केहीले त्यो कार्यका लागि बाँसबाट बनेको अखैन प्रयोगमा ल्याउने गरेका थिए । झारेको अन्नलाई एक ठाउँमा थुपार्दै नझरेको अन्नलाई झार्नका लागि अखैनको सहायतले पुनःआँगनमा फिजाएर दाइँ लगाउने गरिन्थ्यो । त्यो क्रम डाँठबाट अन्न नझर्दासम्म जारी रहन्थ्यो ।
‘पहिले घर–घरमा गोरु, राँगा दाइँ लगाउन, खेत जोत्न, गाडा गुडाउने लगायतका कार्यका लागि पालिने गरिन्थ्यो,’ शुक्लाफाँटा–३ का वडाअध्यक्ष नरेन्द्रप्रसाद चौधरीले भने, ‘एक दशकयतादेखि गोरु, राँगा पाल्ने कार्यसँगै कार्यमा लगाइने कार्यमा निकै कमी आएको छ, त्यसको ठाउँ ट्रयाक्टर, पावर टिलरलगायतले लिएका छन्, गोरु राँगा पाल्ने किसानको सङ्ख्या थोरै मात्र रहेको छ ।’
दुर्गम क्षेत्रका विपन्न बस्तीहरूमा भने पुरानै दाइँ लगाउने चलन भने विद्यमान रहेको उनले बताए । जिल्लाका ९० प्रतिशतभन्दा बढी किसानले अन्न बाली स्याहार्न, चुट्न, सफा गर्नका लागि कृषियन्त्र र उपकरणकै प्रयोग गर्ने गरेका छन् । महिनौं लगाएर हुने काम एक दुई घण्टामै हुन थालेपछि परम्परागत रूपमा चल्दै आएको दाइँ लगाउने कार्य हट्दै गएको स्थानीय किसानको भनाइ छ ।
किसानका लागि कृषि ज्ञान केन्द्र, कृषि निर्देशनालय र पालिकामा रहने कृषि विकास शाखामार्फत कृषि यन्त्र र उपकरण अनुदानमा उपलब्ध हुन थालेपछि किसानले गोरु तथा राँगा पाल्न छाडेका हुन् । रासस
धादिङ । धादिङको गल्छी गाउँपालिकाले किसानलाई खेत जोत्न आधुनिक प्रविधिको हाते ट्र्याक्टर (मिनी पावर टिलर) वितरण गरेको छ । चालु आर्थिक वर्षको बजेटबाट ५० प्रतिशत अनुदानमा पावर टिलर वितरण गरिएको गाउँपालिकाले बताएको छ ।
कृषिमा यान्त्रिकीकरण गरी उत्पादन बढाउने र लागत घटाउने उद्देश्यले गाउँपालिकाले किसानलाई हाते ट्र्याक्टर प्रदान गरेको हो । गाउँपालिकाको कृषि शाखाले १७५ किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्र्याक्टर वितरण गरिएको बताएको छ ।
गाउँपालिकाले ठेक्कामार्फत खरिद गरेर ल्याएको डिजेल इञ्जिनको मिनिटिलर ९५ थान, पेट्रोल इञ्जिनको ७९ थान र पावर टिलर एक थान गरी १७५ थान किसानलाई उपलव्ब् गराइएको गाउँपालिका कृषि शाखाका टीकाराम खतिवडाले जानकारी दिए ।
किसानलाई खेती गर्न सहज होस् भनेर अनुदानमा हाते ट्र्याक्टर दिइएको गाउँपालिका अध्यक्ष कृष्णहरि श्रेष्ठले बताए । ‘गाउँका युवा विदेशीएका छन् । काम गर्ने मान्छे खोज्दा पाइँदैैन । गोरु पाल्न छाडेका छन्,’ उनले भने, ‘खेतीलाई सरल र सहज बनाउन किसानलाई हाते ट्र्याक्टर वितरण गरेका हौं ।’ कृषिमा यान्त्रिकीकरण, व्यावसायिकीकरण र बजारीकरण गर्नुपर्ने भन्दै उनले यसका लागि किसानलाई सहयोग गरिएको बताए ।
कृषिलाई आधुनिकीकरण गर्दै कृषि पकेट क्षेत्रको विकासका लागि किसानका मागका आधारमा कृषि औजार वितरण गरिएको अध्यक्ष श्रेष्ठको भनाइ छ । ७७ लाख १३ हजार बजेटबाट किसानको मागका आधारमा वडामा कृषि उपकरण वितरण भइरहेको गाउँपालिका कृषि शाखाले बताएको छ । कृषि उत्पादन बढाउन र लागत घटाउन गतवर्षदेखि नै किसानलाई कृषि सामग्री वितरण थालिएको र यसबाट किसानले फाइदा उठाउने गाउँपालिका उपाध्यक्ष राधा तिमल्सिनाले बताइन् । रासस
कृषिमा यान्त्रीकरण भएपछि दाङका किसानको बाली उत्पादनमा वृद्धि भएको छ । परम्परागतरुपमा जोत्दै आएको खेतबारीलाई आधुनिक यन्त्रको प्रयोग गर्दा कम लागतमा उत्पादनमा वृद्धि भएको किसानको भनाइ छ ।
किसानको धेरै समय खेतबारी खनजोतमा नलाग्ने र काम गर्न सहज हुने भएपछि यान्त्रीकरणतर्फ किसानको आर्कषण बढेको छ । दाङको घोराही उपमहानगरपालिका–४ का लक्षुराम चौधरीले पुर्खौंदेखि खेत जोत्न प्रयोग हँुदै आएको ‘गोरुले जोत्न’ छाड्नुभएको छ । उहाँले अहिले खेतबारी जोत्नका लागि गोरुको ठाउँमा (पावर टिलर) को प्रयोग गर्नुहुन्छ । “कम श्रममा एकैपटक धेरै खेत जोत्न सकिने भएपछि गोरु बेचेर पावर टिलर खरीद गरेको हुँ”, उहाँले भन्नुभयो, “गोरु पाल्नका लागि घरका अरु सदस्यले घाँस काट्ने, खुवाउने र चराउने काम पनि घटेको छ । पावर टिलर खरीद गरेपछि काम छिटोछरितो भएको छ ।”
पावर टिलरको प्रयोग गरेपछि चार दिनको काम दुई घण्टामा पूरा भएको कृषकको भनाइ छ । कृषि यन्त्रको सहयोगले कृषि कार्यले काममा सहज हुनुका साथै समयको बचत भएको उहाँ बताउनुहुन्छ । कृषि उत्पादनमा विगतको तुलनामा दोब्बरले वृद्धि भएको छ । पावर टिलरले जोतेको खेतमा बाली धेरै उब्जनी भएको छ । गोरुले जोतेकोभन्दा धेरै राम्रोसँग माटो जोतिने भएकाले रोपाइँ गर्दा पनि एकदमै छिटो र सजिलो हुन्छ ।
परम्परागत हलो जोतेर खेतीपातीको काम गर्दै आएका कैलालीका किसान आधुनिक कृषि यन्त्रतर्फ आकर्षित हुन थालेका छन् । खेतीपाती गर्न छिटो र सजिलो हुने भएकाले आधुनिक कृषि यन्त्रको प्रयोगमा किसानको ध्यान गएको हो । बर्खे धान खेती गर्न वा हिउँदे बाली लगाउनका लागि आधुनिक कृषि यन्त्रले धेरै सहयोग पुग्ने गरेको उनीहरु बताउँछन् ।
किसानले सबैभन्दा बढी पावर टिलरको प्रयोग गर्दै आएका छन् । ‘पावर टिलरले खनजोतको काम गर्न सजिलो हुन्छ’, कैलारी गाउँपालिकास्थित रामपुरका कृषक खुशीराम चौधरीले भन्नुभयो । ‘यसले रोपाइँमा धेरै सहयोग पुगेको छ ।’
किसानलाई अहिले रोपाइँको चटारो चलेको छ । उनीहरु खेतीपातीको कार्यमा व्यस्त छन् । खेतमा पावर टिलरको प्रयोग बढ्दो देख्न सकिन्छ । र, खनजोतका लागि पशुचौपाया र परम्परागत हलोको प्रयोग कम । गतविगतमा दुई÷तीन हल गोरु, राँगा हुने परिवारमा अचेल चौपाया कम छन् । भने, प्रायः धेरै जसोको घरमा पावर टिलर छ । विगतमा चार हलसम्म गोरु जोतेको स्मरण गर्दै कृषक चौधरीले अगाडि थप्नुभयो–‘अचेल एउटै पावर टिलरले खेतको सबै काम चाँडै सम्पन्न हुने गर्दछ ।’
कृषिमा आधुनिकीकरण गर्ने लक्ष्यका साथ तीन तहकै सरकारले पनि कृषिको कार्यमा आधुनिक उपकरणको प्रयोगलाई बढावा दिदैं आएका छन् । आधुनिक यन्त्र उपकरणको प्रयोगले उत्पादन वृद्धि हुने पनि बताइन्छ ।
पावर टिलरको प्रयोग बढेपछि गोरु, राँगा पाल्ने किसान घटेका छन् । कृषिमा आवद्ध केही किसानले आफ्नै लगानीमा पनि ट्याक्टर किनेका छन् । “खेती गर्नका गोरु राँगा बेचेर पावर टिलर किन्ने किसान धेरै छन्”, किसान उमेश जोशीले भने, “किन गोरु राँगा पाल्नु ? छिटो, छरितो र धेरै उपयोगी भएकोले मैले नि पावर टिलर किनेको छु ।” उनले राँगा तथा गोरुलाई पाल्न दुःख र जोखिम हुने तर पावर टिलरका लागि डिजेलको जोहो गरे पुग्ने बताए । पछिल्लो समय सिँचाइ आयोजना र स्थानीय सरकारले कृषि उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्ने खालका कार्यक्रम अघि ल्याएका छन् । यसले पनि पावर टिलरको प्रयोगमा वृद्धि भएको छ ।