आधुनिक कृषि यन्त्रप्रति किसानको आकर्षण बढ्दै

परम्परागत हलो जोतेर खेतीपातीको काम गर्दै आएका कैलालीका किसान आधुनिक कृषि यन्त्रतर्फ आकर्षित हुन थालेका छन् । खेतीपाती गर्न छिटो र सजिलो हुने भएकाले आधुनिक कृषि यन्त्रको प्रयोगमा किसानको ध्यान गएको हो । बर्खे धान खेती गर्न वा हिउँदे बाली लगाउनका लागि आधुनिक कृषि यन्त्रले धेरै सहयोग पुग्ने गरेको उनीहरु बताउँछन् । किसानले सबैभन्दा बढी पावर टिलरको प्रयोग गर्दै आएका छन् । ‘पावर टिलरले खनजोतको काम गर्न सजिलो हुन्छ’, कैलारी गाउँपालिकास्थित रामपुरका कृषक खुशीराम चौधरीले भन्नुभयो । ‘यसले रोपाइँमा धेरै सहयोग पुगेको छ ।’ किसानलाई अहिले रोपाइँको चटारो चलेको छ । उनीहरु खेतीपातीको कार्यमा व्यस्त छन् । खेतमा पावर टिलरको प्रयोग बढ्दो देख्न सकिन्छ । र, खनजोतका लागि पशुचौपाया र परम्परागत हलोको प्रयोग कम । गतविगतमा दुई÷तीन हल गोरु, राँगा हुने परिवारमा अचेल चौपाया कम छन् । भने, प्रायः धेरै जसोको घरमा पावर टिलर छ । विगतमा चार हलसम्म गोरु जोतेको स्मरण गर्दै कृषक चौधरीले अगाडि थप्नुभयो–‘अचेल एउटै पावर टिलरले खेतको सबै काम चाँडै सम्पन्न हुने गर्दछ ।’ कृषिमा आधुनिकीकरण गर्ने लक्ष्यका साथ तीन तहकै सरकारले पनि कृषिको कार्यमा आधुनिक उपकरणको प्रयोगलाई बढावा दिदैं आएका छन् । आधुनिक यन्त्र उपकरणको प्रयोगले उत्पादन वृद्धि हुने पनि बताइन्छ ।

सम्बन्धित सामग्री

हाते ट्याक्टरमा किसानको आकर्षण

ओखलढुङ्गामा किसानको आधुनिक कृषि यन्त्रमा आकर्षण बढ्दै गएको पाइएको छ । यहाँका किसानले पछिल्लो समय खेत जोत्न, धान चुट्न, गहुँ काट्न, मकै छर्ने लगायतका काममा आधुनिक कृषि यन्त्र (हाते ट्याक्टर, थ्रेसर)को प्रयोग गर्न थालेका छन् ।