५ महीनामा ७ अर्ब २७ करोड बराबरको पूँजीगत लाभकर संकलन

पुस ८, काठमाडौं । चालू आर्थिक वर्षको पाँच महीनामा सरकारले रू. ७ अर्ब २७ करोड बराबरको पूँजीगत लाभकर संकलन गरेको छ । धितोपत्र कारोबारमा नाफा भए बापत लगानीकर्ताहरुले उक्त रकम बराबरको पूँजीगत लाभकर सरकारलाई बुझाएका हुन् ।  सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससी) का प्रबक्ता सुरेश न्यौपानेले दिएको जानकारी अनुसार साउन महीनामा रू. ३ अर्ब २ करोड पू्ँजीगत लाभकर संलकन भएकोमा भदौ महीनामा यो रकम रू. २ अर्ब ६१ करोडमा झरेको थियो ।  असोज महीनामा रू. ५४ करोड मात्र संकलन भएको पूँजीगत लाभकर कात्तिक महीनामा भने रू. ५८ करोड रहेको थियो । मंसिर महीनामा भने रू. ५२ करोड पूँजीगत लाभकर संकलन भएको सिडिएससीको भनाइ छ । पछिल्लो समय धितोपत्र दोस्रो बजारमा कारोबार रकममा कमी आएसँगै पूँजीगत लाभकर संकलन पनि घटेको छ । दोस्रो बजारले ३ हजार २०० विन्दु पार गर्दा दैनिक २१ अर्बभन्दा बढीको शेयर खरीदविक्री हुने गरेको थियो ।  हाल दैनिक रू. ५ अर्बभन्दा कम शेयर कारोबार हुने गरेको छ । पछिल्लो कारोबार दिन बिहीवार रू. ४ अर्ब ४९ करोडभन्दा बढीको शेयर कारोबार भएको छ । मंसिर २७ गते २ हजार २५९ दशमलव ५१ विन्दुसम्म झरेको बजार पुस ८ गते बिहीवार भने २ हजार ५२० दशमलव २३ विन्दुमा पुगेको छ ।  पछिल्लो तीन कारोबार दिन भने समग्र धितोपत्र कारोबार मापक नेप्से परिसूचक निरन्तर बढेको छ । भदौ २ गते नेप्सेले  हालसम्मकै उच्च विन्दु कायम गरेको थियो । बढेको बजारमा भएको कारोबार अधिकांश नाफामै हुने भएकाले पनि त्यस बेला पूँजीगत लाभकर बढेको पाइन्छ ।  पछिल्लो समय भने बैंक तथा वित्तीय संस्थाहरुमा तरलता कम हुनु र नयाँ केही नीतिगत व्यवस्थाका कारण बजारमा प्रत्यक्ष असर परेको हो । बजार निरन्तर घट्दा लगानीकर्ताहरु आत्तिएर घाटामै शेयर विक्री गरेकाले पनि साउन महीनायता पूँजीगत लाभकरमा कमी आएको देखिन्छ ।  धितोपत्र कारोबारमा नाफा भएको खण्डमा मात्र लाग्ने पूँजीगत लाभकर यसै आर्थिक वर्षदेखि फरक फरक लागू भएको छ । सरकारले साउन १ गतेदेखि व्यक्तिगत लगानीकर्ताहरुको लागि फरक फरक पूँजीगत लाभकर लागू गरेको हो । यस अघि समान ५ प्रतिशत पूँजीगत लाभकर तिर्दै आएका व्यक्तिगत लगानीकर्ताहरुले यसै वर्षदेखि ७ दशमलव ५ प्रतिशतसम्म पूँजीगत लाभकर तिर्न थालेका हुन् ।  दीर्घकालिन लगानीलाई प्रोत्साहन गर्ने उद्देश्य अनुरुप सरकारले दीर्घकालिन लगानीकर्ताको हकमा ५ प्रतिशत र अल्पकालिन लगानीकर्ताको हकमा ७ दशमलव ५ प्रतिशत पूँजीगत लाभकरको व्यवस्था गरेको हो । यस वर्षदेखि धितोपत्र कारोबारमा सहभागी लगानीकर्ताहरुले ३६५ दिनभन्दा अघि खरीद गरेको शेयर विक्री गर्दाको नाफामा ७ दशमलव ५ प्रतिशत र ३६५ दिनभन्दा बढी समय शेयर कायम गरी विक्री गर्दाको नाफामा भने ५ प्रतिशत लाभकर तिर्न थालेका हुन् ।  यस वर्षदेखि सामूहिक लगानी कोषहरुलाई भने पूँजीगत लाभकर नलाग्ने व्यवस्था सरकारले गरेको छ । धितोपत्र बजारमा लगानी गर्ने संस्थागत लगानीकर्ताहरुका लागि भने १० प्रतिशत पूँजीगत लाभकरको व्यवस्था छ । धितोपत्र लगानीकर्ताहरुले भारित औषत लागतका आधारमा पूँजीगत लाभकर तिर्नु पर्ने व्यवस्था रहेको छ । चालू आर्थिक वर्षयता संलकन भएको पूँजीगत लाभकर :                                                  स्रोतः सिडिएस एण्ड क्लियरिङ लिमिटेड

सम्बन्धित सामग्री

७१ प्रतिशतले घट्यो लाभकर

काठमाडौ। धितोपत्र बजारबाट सरकारले आर्थिक वर्ष (आव) २०७९/८० मा रू. २ अर्ब ९७ करोडभन्दा बढी पूँजीगत लाभकर संकलन गरेको छ । सरकारले व्यक्तिगत लगानीकर्तातर्फ दीर्घकालीनबाट रू. ९९ करोड ८५ लाखभन्दा बढी र अल्पकालीनबाट रू. १ अर्ब ६४ करोडभन्दा बढी पूँजीगत लाभकर संकलन गरेको छ । त्यस्तै संस्थागत लगानीकर्ताबाट सरकारले आव २०७९/८० मा रू. ३३ करोड १२ लाखभन्दा बढी पूँजीगत लाभकर संकलन गरेको छ । गत आव सरकारले अघिल्लो आवको तुलनामा ७१ प्रतिशतभन्दा कम पूँजीगत लाभकर संकलन गरेको हो । अघिल्लो आव २०७८/७९ मा सरकारले रू. १० अर्ब ३५ करोडभन्दा बढी पूँजीगत लाभकर संकलन गरेको थियो । अघिल्लो वर्ष दीर्घकालीन लगानीकर्ताबाट रू. २ अर्ब ३६ करोड ६१ लाखभन्दा बढी र अल्पकालीनबाट रू. ६ अर्ब ४९ करोड ६५ लाखभन्दा बढी कर सरकारले उठाएको थियो । त्यस वर्ष संस्थागत लगानीकर्ताबाट रू. १ अर्ब २६ करोडभन्दा बढी कर संकलन भएको थियो । अघिल्लो वर्षको तुलनामा रकमको हिसाबमा सरकारको आम्दानी रू. ७ अर्ब ३८ करोड २४ लाखभन्दा धेरैले घटेको हो । सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले दिएको जानकारीअनुसार अघिल्लो वर्षको तुलनामा गतवर्ष अल्पकालीन लगानीकर्ताबाट रू. ४ अर्ब ८५ करोड ५८ लाख कम पूँजीगत लाभकर संकलन भएको छ । दीर्घकालीन लगानीबाट संकलित कर अघिल्लो वर्षको तुलनामा गतवर्ष रू. १ अर्ब ३६ करोड ७५ लाख रुपैयाँ कम छ ।  सीडीएससीका सूचना अधिकारी सुरेश न्यौपानेले आव २०७८/७९ को कुल पूँजीगत लाभकरमध्ये रू. २२ करोड ५९ लाखभन्दा बढी व्यक्तिगत अल्पकालीन र दीर्घकालीन लगानीकर्ताबाट संकलन भएको जानकारी दिए । आव २०७८/७९ नेपालको धितोपत्र बजारले कीर्तिमान कायम गरेको वर्ष भएकोले पूँजीगत लाभकर संकलन बढी भएको उनले बताए । २०७८ भदौ २ गते नेपालको समग्र धितोपत्र बजार मापक नेप्से परिसूचक ३ हजार २०० विन्दुभन्दा माथि पुगेको थियो ।  अघिल्लो आवमा जस्तो उत्साह आव २०७९/८० मा लगानीकर्तामा नदेखिएकाले सरकारको आम्दानीमा कमी आएको न्यौपानेको अनुमान छ । उनले आव २०७८/७९ को साउनमा मात्र रू. ३ अर्ब २४ करोड ६९ लाखभन्दा बढी पूँजीगत लाभकर संकलन भएको जानकारी दिए । शेयर सूचकले कीर्तिमान कायम गरेको दिन कुल बजार पूँजीकरण रू. ४४ खर्ब ६८ अर्ब ५० करोड ५३ लाख कायम भएको थियो । आव २०७९/८० को अन्तिम दिन कुल बजार पूँजीकरण रू. ३० खर्ब ६४ अर्ब ६४ करोड ९१ लाख रुपैयाँ कायम भएको छ । लगानीकर्ताको सम्पत्ति मूल्य कम भएसँगै गत आवमा सरकारको लगानीकर्ताबाट नाफामा उठाउने करमा समेत कमी आएको न्यौपानेको भनाइ छ । सरकारले धेरै कर उठाउने क्षेत्रमध्ये धितोपत्र बजार पनि एक हो । कोरोना महामारीले देशका अन्य आर्थिक गतिविधि बन्द रहेको बेला पनि सरकारले धितोपत्र बजारबाट मासिक अर्बौं रुपैयाँ कर संकलन गरेको थियो ।  सरकारले धितोपत्र दोस्रो बजारका लगानीकर्ताले कमाएको नाफामा १० प्रतिशतसम्म पूँजीगत लाभकर लिन्छ छ । संस्थागत लगानीकर्ताबाट १० प्रतिशत र व्यक्तिगत लगानीकर्ताबाट बढीमा ७ दशमलव ५ प्रतिशत पूँजीगत लाभकर सरकारले संकलन गर्छ । व्यक्तिगत लगानीकर्ताले दुई प्रकारको पूँजीगत लाभकर तिर्नुपर्ने व्यवस्था छ ।  एक वर्षभन्दा बढी शेयर कायम गर्ने लगानीकर्तालाई दीर्घकालीन र सोभन्दा कम अवधि शेयर कायम गर्नेलाई अल्पकालीन लगानीकर्ता मानेर सरकारले अल्पकालीनबाट ७ दशमलव ५ र दीर्घकालीनबाट ५ प्रतिशत पूँजीगत लाभकर असुल्छ । धितोपत्रका लगानीकर्ताले भारित औसत लागतका आधारमा पूँजीगत लाभकर तिर्नुपर्र्ने व्यवस्था छ ।

कोकाकोला विरुद्ध लाभकर छली गरेको आरोपमा साढे ७ अर्ब विगो दावी गर्दै मुद्दा दायर

फागुन २७, काठमाडौं। सरकारले कोकाकोला पेय पदार्थको नेपाली वितरक बोटलर्स नेपालविरुद्ध मुद्दा दायर गरेको छ। राजस्व अनुसन्धान विभागले बोटलर्स नेपालले पूँजीगत लाभकर छली गरेको आरोपमा उक्त कम्पनी विरुद्ध पाटन उच्च अदालतमा मुद्दा दायर गरेको हो । बोटलर्स नेपालले पूँजीगत लाभकर बापत ३ अर्ब ७१ करोड ८१ लाख रुपैयँ बढी छली गरेको विभागको ठहर छ ।  विभागले शुक्रवार विज्ञप्ति जारी गरेर बोटलर्स नेपालविरुद्ध ७ अर्ब ४३ करोड ६३ लाख ८ सय २२ रुपैयाँ विगो दावी गर्दै मुद्दा दायर गरिएको जानकारी गराएको छ । विभागले बोटलर्स नेपालको स्वामित्व परिवर्तन गर्दा पूँजीगत लाभकर छली गरेको आरोप लगाएको छ ।