असार २९, काठमाडौं । छ ओटा जीवन बीमा कम्पनीले आईपीओ निष्कासन गर्ने तयारीमा गरिरहेका छन् ।
ती कम्पनीले ३ करोड ७५ लाख कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरेका हुन् । छ ओटा कम्पनीमध्ये दुई ओटा कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिइसकेका छन् भने बाँकी चार ओटा कम्पनीले भने निवेदन दिन बाँकी छ ।
धितोपत्र बोर्डका अनुसार सानिमा लाइफ इन्स्योरेन्स र आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले ६०/ ६० लाख कित्ता आईपीओ निष्कासनका लागि निवेदन दिइसकेका छन् ।
सानिमा लाइफले आईपीओ निष्कासन गर्नका लागि गत जेठ ९ गते र आइएमई लाइफ इन्स्योरेन्सले गत जेठ ३१ गते निवेदन दिएका हुन् । सानिमा लाइफले आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त गरेको छ भने आइएमई लाइफले सिभिल क्यापिटल मार्केटलाई नियुक्त गरेको छ ।
बाँकी चार ओटा कम्पनीले भने थप प्रक्रिया पुरा गरेर मात्र नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिने तयारी गरिरहेका छन् । ती छ ओटा कम्पनीहरु मध्ये सबैभन्दा बढी सिटीजन्स लाइफ इन्स्योरेन्स कम्पनीले आईपीओ निष्कासन गर्ने तयारी गरिरहेको छ । उक्त कम्पनी ७५ लाख कित्ता आईपीओ निष्कासन गर्ने तयारीमा रहेको छ ।
यूनियन लाईफ इन्स्योरेन्स कम्पनीले असार २४ गतेदेखि २८ गतेसम्म आईपीओ निष्कासन गरिसकेको छ । उक्त कम्पनीको आईपीओमा भने २१ लाखभन्दा बढीले भरेका छन् । पछिल्लो समयमा आईपीओ भर्ने लगानीकर्ताको आकर्षण बढ्दो क्रममामा रहेको देखिएको छ ।
यसरी हेर्दा आगामी दिनमा आईपीओ भर्नेको संख्या झनै बढ्ने देखिन्छ । सिडीएस क्लियरिङका अनुसार मंगलवारसम्ममा डिम्याट खाताको संख्या ३७ लाखभन्दा बढी पुगेको छ ।