सर्वोच्च अदालतले काठमाडौँको बालाजुमा सडक विस्तारका क्रममा विरोध प्रदर्शन गरेको आरोपमा पक्राउ परेका स्थानीयवासीलाई थुनामुक्त गर्न आदेश जारी गरेको छ । न्यायाधीशद्वय दीपककुमार कार्की र प्रकाशमान सिंह राउतको संयुक्त इजलासले आज बिना आधार पक्राउ गरी अनुसन्धानका लागि भनी पक्राउ गरिएकालाई थुनामुक्त गर्न आदेश जारी गरेको हो ।
आदेशमा भनिएको छ, “स्पष्ट आधार र कारणबिना निवेदकलाई पक्राउ गर्ने र अनुसन्धानको क्रममा भनी थुनामा राख्ने कार्य न्यायिक दृष्टिकोणबाट समेत औचित्यपूर्ण नदेखिएकाले निवेदकलाई आजै थुनामुक्त गर्नु ।” बालाजु बाइसधारा क्षेत्रमा सडक विस्तारका क्रममा प्रदर्शनमा उत्रिएका नागरिक अभियन्ता सुमन सायमी, जुजुकाजी मर्हजन, सुमन घिमिरे, सुशील पोखरेल, प्रकाश महर्जन, वीरेन्द्र महर्जनलगायतलाई गत बुधबार पक्राउ गरी प्रहरीले महानगरीय प्रहरी वृत्त बालाजुमा राखेको थियो ।