नेपाल पत्रकार महासंघले पत्रकारिता क्षेत्रमा कोभिड–१९ को प्रभाव सर्वेक्षण सार्वजनिक गरेको छ । कोरोना महामारी र त्यसका कारण भएको लक डाउनले समग्र नेपाली पत्रकारिता तथा सञ्चार क्षेत्रमा नकारात्मक असर देखिएपछि यस्तो सर्वेक्षण सार्वजनिक गरेको हो ।
सर्वेक्षणका अनुसार महामारी तथा लक डाउनका कारण मिडिया क्षेत्रको आम्दानी घटेको र त्यसको प्रत्यक्ष असर श्रमजीवी पत्रकारहरुमा परेको देखिएको छ । साथै, कतिपय सञ्चार गृहले भने महामारीलाई बहाना बनाई सञ्चारमाध्यम बन्द गर्ने वा पत्रकारहरुलाई रोजगारीबाट निकाल्ने गरेको पनि पाइएको छ । ७० प्रतिशतभन्दा बढी पत्रकारले कोरोना महामारी तथा लक डाउनका कारण समाचार संकलन र सम्प्रेषणमा असहजता महसुस गरेका छन् । अधिकांश पत्रकारहरुले यस अवधिमा समाचार संकलन र सम्प्रेषण गर्दा उपलब्ध स्वास्थ्य सुरक्षाका विधि अपनाएको भए पनि करिब दुई तिहाई पत्रकारले आफ्नो काम गर्दा असुरक्षित महसुस गरेका छन् । मास्क र स्यानिटाइजर जस्ता सामग्री उपलब्ध भए पनि अस्पताल तथा संक्रमित व्यक्तिहरु भएका स्थानमा रिपोर्टिङ गर्न जाँदा पिपिइको अभावका कारण आफूहरुले असुरक्षित महसुस गरेको पाइएको छ ।