जनसंख्या वृद्धि रोक्नका लागि कुनै बेला एक दम्पती एक सन्ततिको नीति लिएको चीनमा गत वर्ष जनसंख्या वृद्धिदर ऋणात्मक बन्यो । अर्थात् जन्मनेको जनसंख्यालाई मृत्यु हुनेको संख्याले जितेको छ । विकसित मुलुकहरूमा प्रौढहरूको संख्या बढी हुने गरेको त वर्षौं भइसक्यो तर चीनजस्तो विकासोन्मुख मुलुकमा पनि युवाको संख्या कम हुन थालेपछि चिन्ताको विषय बनेको छ । यो समस्या चीनमात्र होइन, तीव्र दरमा जनसंख्या बढिरहेको भारतका केही प्रान्तमा पनि देखापर्न थालिसकेको छ । नेपालमा पनि त्यस्तै समस्या देखिएको छ । नेपाल विकास हुनुभन्दा अगाडि नै युवा जनसंख्या कम हुने समस्यामा पर्ने संकेत देखापरिसकेको छ । छिमेकी मुलुकले तीव्र आर्थिक विकास गर्दै गएर जनसांख्यिकीय असर भोग्दै छन् भने नेपाल चाहिँ विकास नै नदेखेर यो समस्या भोग्ने मुलुकमा पुग्ने हो कि भन्ने आशंका बढाएको छ ।
चीनमा अहिले देखिएको जनसंख्याको ऋणात्मक वृद्धिदरले उसलाई निकट भविष्यमै कामदार जनशक्तिको अभाव हुने संकेत गर्छ । यसो हुँदा उसले विदेशी श्रमलाई आकर्षित गर्नुपर्ने हुन्छ । त्यो लाभ नेपालले पाउन पनि सक्छ । तर यो अहिलेलाई अपेक्षा मात्र हो । कुनै बेला सस्तो श्रमका कारण विश्वका ठूला कारखानाहरू चीनमा सरेका थिए । अब भने चीनले बिस्तारै सस्तो श्रमका लागि अन्य देशमा आफ्नो उत्पादन प्लान्टहरू सार्नुपर्ने पनि हुन सक्छ । चीनसँग अन्तरदेशीय रेलमार्गबाट जोडिन सक्यो भने त्यसको लाभ नेपाललाई प्राप्त हुन सक्छ ।
भारत र चीनको उदाहरणबाट नेपाल आफै पनि सचेत हुनुपर्ने देखिएको छ । तत्काललाई विकासका लागि जनसांख्यिकीय लाभ नेपाललाई छ । काम गर्ने युवाको संख्या अधिक छ । केही वर्ष अझै नेपालले यस्तो लाभ लिन सक्छ । यस्तो लाभ लिन नेपालले अहिलेको काम गर्ने तौरतरीकामा भने परिवर्तन गर्न आवश्यक देखिन्छ । अहिलेकै ढिलासुस्ती जारी रहनेमा डेढ दुई दशकमा नेपाल विकसित नहुँदै प्रौढहरूको जनसंख्या बढी भएको मुलुकमा पर्न जान सक्छ । त्यसपछि बुढ्यौली नेपालका लागि पनि गम्भीर समस्या बन्न सक्छ भन्नेमा सरकारको ध्यान जानु आवश्यक छ ।