कृषि पेशामा निराशा : गोठदेखि ओठसम्म किसान रुवाउँदै सरकार
मल, बीउ, सिंचाइ, मूल्य र राहत जस्ता विषयमा सरकार, व्यवसायी र दल निकट बिचौलियासँग मुलुकका अन्नदाता रुँदै हिंड्नुपर्ने विडम्बनापूर्ण अवस्थाले समग्र कृषि उपज माथिको परनिर्भरता झनै बढेको छ ।
तनहुँ। जिल्लाको देवघाट गाउँपालिका–३ ल्हुङ्ग्रिङका सुधन रानामगर भिरालो जग्गामा केही पनि खेती नभएपछि विदेश गए । अहिले विदेशबाट फर्किएर सुन्तला खेतीमा व्यस्त छन् । सुन्तला खेतीले उनलाई करिब पाँच वर्ष कतारको बसाई र रोजगारी छाडेर गाउँ फर्काएको छ ।
भिरालो जमिनमा केही पनि अन्नबाली नहुँदा विदेशिन र बसाइँसराइको विकल्प नदेखेर वैदेशिक रोजगारीमा पुगेका सुधन सुन्तलाखेती हुन थालेपछि गाउँ पर्किएका हुन् । विदेशमा पैसा फलिरहेको लागे पनि स्वदेशमा नै सुन फल्ने ठाउँमा रहेको उनको बुझाइ छ ।
सुन फलिरहेका स्थानलाई समयमा नै पहिचान गर्न नसकेर विदेशिएको सुधन बताउँछन् । उनि जस्तै सुन्तलाखेती हुने देवघाटका ग्रामीण क्षेत्रका अधिकांश युवा अहिले विदेश तथा बसाइँ सरे पनि फर्कनेक्रम बढेको उनि बताउँछन् ।
उनि भन्छन्, 'सुन्तलाखेतीले नै वैदेशिक रोजगारीबाट घर फर्कन प्रेरणा मिलेको छ । केही अन्नबाली नहुँदा खानै नपाएर मरिन्छ कि भनेर विदेश गएकामा अहिले सुन्तलाखेती राम्रो हुन थालेपछि फर्किएको हो । यही नै मुख्य आयस्रोतको बनेको छ ।'
अहिले युवा विदेशिनेक्रम बढे पनि गाउँघर, परिवारसँगै बसेर काम गर्दा खुसी र रमाइलो हुने गरेको उनि बताउँछन् । विदेश र यहाँको दुःखमा धेरै अन्तर रहेको उनको भोगाइ छ । उनि भन्छन्, 'विदेशमा पैसा फलेको छ जस्तो लाग्थ्यो । तर, होइन रहेछ यहाँको दुःखभन्दा कैयौँ गुणा बढी दुःख विदेशमा भोग्नुपर्छ । यहाँसम्म कि बिरामी भएको अवस्थामा समेत आराम गर्न पाइँदैन । अहिले बिरामी भए आराम गरी परिवारको साथमा रहेर काम गरेको आम्दानीले सुन्तलाखेतीले उत्साहित बनाएको छ ।'
गण्डकी प्रदेशकै कर्णालीकारुपमा रहेको देवघाटको ग्रामीण क्षेत्रमा सुन फलिरहेको र यसको उपयोग गर्न सक्नुपर्ने उनको भनाइ छ । त्यस्तै १० वर्ष कतारको रोजगारीबाट फर्किएर सुन्तलाखेती गरिरहेका रुपेश रानामगरले सुन्तलाले नै गाउँ फर्किन उक्साएको बताउँछन् । सुन्तलाखेती राम्रो हुँदा विदेशको रोजगारीबाट फर्किएको उनि बताउँछन् । केही नहुने ठाउँ भनेर बसाइँ सर्नेक्रम बढेकामा अहिले सुन्तलाले फर्काउन थालेको उनले सुनाए ।
सुन्तला राम्रो फल्दै गर्दा उत्साहित किसान अहिले सुन्तलाको बोट मर्न थालेपछि भने फेरि विस्थापित नै हुनुपर्छ कि भन्ने चिन्ताले सताउन थालेको रुपेश बताउँछन् । सुन्तलाले नै विदेशबाट फर्कायो । तर अहिले फल्दा फल्दैको सन्तलाको बोट मर्न थालेपछि विकल्प सोच्नुपर्ने अवस्था देखिएको उनको चिन्ता छ ।
त्यसैगरी करिब ३०/३५ वर्षदेखि सुन्तलाखेती गरिरहेका किसान कर्णबहादुर रानाले फल्दै गरेको सुन्तलाको बोट मर्न थालेपछि वैकल्पिक व्यवसाय सोच्नुभन्दा यसको उपचार खोज्न आवश्यक रहेको बताउँछन् । उनि भन्छन्, 'लामो समयदेखि फल दिइरहेका सुन्तलाका करिब तीन सय बोट मर्न थालेका छन् । बोटमा हरियो रोग देखिएको छ । यसको समाधान खोज्नुपर्ने भएको छ ।'
यसरी गाउँ फर्कन प्रोत्साहन गरेको सुन्तलाखेती नै सखाप हुने अवस्था आएकाले फेरि विस्थापित नै गराउने हो कि भन्ने त्रास बढेको उनि सुनाउनुहुन्छ । उनि भन्छन्, 'हामीले नै सुरुआत गरेको सुन्तलाखेतीले युवालाई गाउँ फर्काउन प्रोत्साहन र कृषिमा नै लाग्न प्रेरित गरेको थियो । बोट मर्न थालेपछि युवा गाउँतर्फ आउनुभन्दा फेरि जान्छन् भन्ने लाग्न थालेको छ ।' यसको समाधान गर्न सरकार र सम्बन्धित निकायको ध्यान पुग्नुपर्नेमा सुन्तला कृषकको जोड छ ।
त्यस्तै किसान नवराज गुरुङ भन्छन्, 'सुन्तलाले फर्काएको आशा निरासामा परिणत हुनसक्ने अवस्था आएको छ ।' मेरो बगानकै करिब एक सयको हाराहारीमा सुन्तलाको बोट मर्दै गएको छ ।' सरकारले कृषिलाई मुख्य पेसाका रुपमा लिएको छ । तर, जनसुकै खेतीमा आएको परिवर्तनसम्बन्धी भने चासो नदिँदा किसान मर्कामा पर्ने गरेका उनले बताए ।
'सुन्तलाले नै जीविकोपार्जन चलेका हामीलाई सहज कहिले बताउने हो सरकारले खै', उनि भन्छन्, 'सरकारले प्रोत्साहन गर्नुपर्छ । यसका लागि खेतीमा हुने समस्याको समयमा नै समाधान हुनुपर्छ । तर, सरकार मौन रहेको छ । यसले कृषि पेसालाई नै उपेक्षा गरेको आभास हुन्छ ।' यसरी सन्तलाको बोट मर्न थालेपछि केही पनि अन्नबाली नहुने यस क्षेत्रमा भोकमरी हुनसक्ने देखिएको उनको अनुमान छ ।
सुन्तला बजारसम्म पुर्याउँदा भोग्नुपरेको समस्या छुट्टै छ । तर, आयस्रोतका रुपमा गरिएको सुन्तलाको बोट मर्न थालेपछि अझै समस्या थपिएको उनको भनाइ छ । सडक अभावले भोग्नुपरेको सास्ती अहिले बोट मर्न थालेपछि आशा नै निरासामा छाउन थालेको उनको गुनासो छ ।
सुन्तला उत्पादक कृषक भीमबहादुर थापाले सुन्तलाको बोटमा आएको समस्या समाधानका लागि कृषि ज्ञानकेन्द्र तनहुँलाई जानकारी गराइएको बताए । उनिले यहाँ सुन्तलाको बोट मर्न थालेपछि समाधान खोज्दै कृषि ज्ञानकेन्द्रमार्फत प्रयोगशालामा पठाएर परीक्षण गर्दा यसको उपचार सम्भव नभएको जानकारी पाएको बताए ।
केन्द्रका प्राविधिकले यसको उपचार सम्भव नभएको जानकारी गराउँदै सुन्तलामा समस्या देखिनु जलवायु परिवर्तनको असर हुनसक्ने अनुमान गरिएको उनले सुनाए । उपयुक्त वातावरणमा वायुमा भएको तापमानले नै यस्तो परिवर्तन आएको हुनसक्ने अनुमान कृषि ज्ञानकेन्द्रको छ ।
देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले पालिकाको मुख्य उत्पादनमा नै समस्या देखिन थालेका बताए । उनले भने, 'देवघाटको ग्रामीण क्षेत्र तथा पालिकाकै आम्दानीका रुपमा रहेको सुन्तलाखेतीको बोट मर्न थालेपछि चिन्ता बढेको छ । यसको वैकल्पिक उपाय खोज्न पहल तथा समन्वय गर्दैछौँ ।'
स्थानीयरुपमा आम्दानीको स्रोत नै सुन्तला भए पनि सुन्तलाको बोट मर्दै गएपछि प्राविधिकसँग समन्वय गरी उपचार र समाधानतर्फ सचेत भएको उनको भनाइ छ । देवघाटसँगै तनहुँका सुन्तला पकेट क्षेत्रका रुपमा परिचित व्यास नगरपालिका–११ तनहुँसुर, भानु नगरपालिका–६ सिम्पानीका तारा खड्गीले सुन्तलाबाट करिब रु ९० हजार आम्दानी भए पनि अहिले बोट मर्न थालेपछि चिन्तित भएको बताउँछन् ।
उनि भन्छन्, 'पहिले वार्षिकरुपमा राम्रो आम्दानी गर्दै आएकामा अहिले बोट नै मर्दै गयो । सुन्तला नै फलेन । सामूहिकरुपमा मोल हालेपछि यहाँको सुन्तलाको बोट नै मरे । हाम्रो आयस्रोत सकियो । यसको उपाय पत्तालगाइदिए सल्लाहअनुसार काम गरी उत्पादन लिन पाइन्थ्यो ।'
जिल्लाका व्यास, भानु, शुक्लागण्डकी र भिमाद नगरपालिका, आँबु, देवघाट, बन्दीपुर, ऋषिङ, घिरिङ र म्याग्देमा सुन्तला उत्पादन हुँदै आएको कृषि ज्ञानकेन्द्रले जनाएको छ । केन्द्रका अनुसार अधिकांश स्थानमा सुन्तला राम्रो उत्पादन भए पनि केही पालिकामा बोट मर्न थालेका छन् । रासस
दमौली । तनहुँका कृषकले सरकारले आफूहरूको समस्या नसुनेको गुनासो गरेका छन् । पछिल्लो समय कृषि व्यवसाय र कृषकले भोग्दै आएको समस्याबारे सरकारले ध्यान नदिएको गुनासो गर्दै उनीहरूले आफ्ना माग सम्बोधन गर्न सरकार उदासीन देखिए आन्दोलित हुने बताए ।
अण्डा उत्पादक कृषक खेमराज अधिकारीले आफूहरू अण्डा उत्पादनमा दैनिक ६० प्रतिशत घाटा बेहोर्न बाध्य भएको बताए । जिल्लामा ९६ अण्डा उत्पादक कृषकले दैनिक साढे २ लाख अण्डा उत्पादन गर्दै आएको र वार्षिक रू. ६ अर्बभन्दा बढी अण्डा उत्पादनमा लगानी गरे पनि सोचेअनुसारको प्रतिफल नपाएको उनको गुनासो छ ।
कृषक ईश्वरराज पन्थले किसानको अवस्था दिनदिनै नाजुक बन्दै गएकाले किसान आन्दोलित हुन बाध्य भएको बताए । उत्पादनको मूल्यभन्दा लागत मूल्य बढी हुने, बैंकको ब्याज अस्वाभाविक तवरले बढ्ने र उत्पादनले उचित बजार नपाउने समस्याले किसान व्यवसायबाट विस्थापित हुने अवस्थामा पुगेको उनको भनाइ छ ।
दुग्ध उत्पादक कृषक रमेशप्रसाद आचार्यले कृषकले अहिले भोगेको समस्या समाधान गरी कृषिलाई जोगाउन सरकारले पहल गर्नुपर्नेमा जोड दिए । ‘सरकार हाम्रा मागप्रति सचेत भएन भने हामी व्यवसाय छोड्न बाध्य हुन्छौं,’ उनले भने । दुग्ध उत्पादक संघका अध्यक्ष कालिका पौडेलले राज्यको विद्यमान नीतिले तनहुँमा दुग्ध उत्पादक कृषक पीडित भएको बताए । दूधमा उत्पादनभन्दा लागत मूल्य बढी परेकाले व्यवसाय धान्नै कठिन भएको उनको भनाइ थियो ।
अण्डा उत्पादक कृषक राजु खड्काले उत्पादनलाई बजारीकरण गर्न सरकारले ठोस नीति ल्याउनुपर्नेमा जोड दिए । दुग्ध उत्पादक कृषक भगवती जिसीले कृषि पेशालाई अपहेलित पेशाका रूपमा व्याख्या गर्ने प्रवृत्तिले निराशा पैदा गरेको जानकारी दिइन् ।
कृषकले समस्या समाधानका लागि दबाब दिन संघर्ष समिति गठन गरेका छन् । उक्त समितिले उत्पादनमा आधारित अनुदान व्यवस्था हुनुपर्ने, सरकारमार्फत सीधै कृषि कर्जा तथा बीमा सुविधा प्रदान गर्नुपर्ने, कृषि उत्पादन सोझै खरीदका लागि ग्यारेन्टी हुनुपर्ने लगायत माग गर्दै आएको छ ।
त्यस्तै विदेशी विषादीयुक्त तरकारी, फलफूल तथा पशुपन्छीको आयात बन्द गर्नुपर्ने, आश्वासनमा फसाएर लादिएको कृषि कर्जा मिनाहा गर्नुपर्ने, परियोजनाको धितोमा शून्य प्रतिशत व्याजदरमा कृषि कर्जा प्रदान गर्नुपर्ने, कृषि कर्जा अनुदान अपचलन गर्नेलाई तुरुन्त कारबाही गर्नुपर्ने, दाबी भुक्तानी नदिने बीमा कम्पनी खारेज गर्नुपर्ने, लघुबित्त कम्पनीलाई नियन्त्रण गर्नुपर्ने, किसान पेन्सन योजना कार्यावन्यन गर्नु पर्नेलगायत माग गरेका छन् । रासस
केही समययता खाद्यान्नमा निरन्तर मूल्य वृद्धि भइरहेको छ । यसको कारणको रूपमा रसियाले युक्रेनमाथि आक्रमण गर्नु हो । रसिया–युक्रेन तनाव अझै कायम रहेकाले मूल्य वृद्धि कतिसम्म पुग्छ भन्ने यकिन छैन । जसका कारण मूल्य वृद्धिलाई एकल अंकमा राख्न हम्मेहम्मे पर्ने देखिएको छ ।
तत्कालका लागि आम्दानी वृद्धि गर्ने क्षेत्र भनेको कृषि नै हो । किनभने कृषि बालीबाट उत्पादन लिन अन्य क्षेत्रभन्दा सबभन्दा कम समय लाग्छ ।
यहीबेला नेपालको कृषि क्षेत्रलाई सुधार गर्ने अवसर पनि आएको छ । आयातित खाद्यान्नमा भर पर्दा जुनसुकै बेला संकट आउन सक्दो रहेछ भन्ने अहिलेको उदाहरणबाट पुष्टि हुन्छ । तर चैते बालीका लागि रासायनिक मलको अभाव भएको खबर आएको छ । विश्वमा कृषि उत्पादनका लागि आधुनिक प्रविधि र उपकरण प्रयोग हुन थालेको वर्षौं भयो । त्यसैले त आज ती देशमा कृषिले निकै फड्को मारेको छ । ती देशमा ४–५ प्रतिशत मान्छे आवद्ध कृषिले अन्य बाँकी जनसंख्यालाई चाहिने खाद्यान्न बाली पुर्याउन सकेका छन् ।
कृषि क्षेत्रमा भइरहेको यस्तो प्रगति र परिवर्तनबारे नेपालका अधिकांश नीति, निर्मातालाई राम्रो ज्ञान छ । नीति, निर्माण तहमा बस्नेहरू नेपालको सम्भावनाको रूपमा कृषि क्षेत्रलाई लिन्छन् पनि । तर व्यवहार भने कृषि क्षेत्रलाई बढावा दिने खालको नभई कृषि पेशामा लाग्न खोज्नेलाई निराशा बनाउने खालको छ । कृषि प्रधान भनिएको मुलुकमा ६५ प्रतिशतभन्दा बढी जनसंख्या कृषिमा आवद्ध हुँदासमेत तिनैलाई गुजारा चलाउने गरी उत्पादन हुन सकेको छैन ।
चैते बाली लगाउने बेला किसान रासायनिक मल नपाएर हाहाकारको अवस्थामा छन् । सरकारी अनुदानको रासायनिक मल ल्याउने ठेक्का पाएका कम्पनीहरूले मल ल्याउन नसक्दा चैते बाली प्रभावित हुने देखिएको छ । किसानलाई जुनसुकै हालतमा रासायनिक मल नभई नहुने अवस्थामा पुग्दा सत्ताको बागडोर सम्हालेकाहरू भने जसरी हुन्छ आफ्नो फाइदा लिने दौडमा देखिन्छन् ।
यस्तो श्रृङ्खलाको पछिल्लो उदाहरण सरकार नेपाल राष्ट्र बैंकका गभर्नरलाई हटाउने खेलमा लाग्नुलाई लिन सकिन्छ । यतिखेर अर्थतन्त्रका सूचक सामान्य छैनन् भन्ने यथार्थ जगजाहेर नै छ । खासगरी आम्दानीभन्दा खर्च बढी हुँदा समस्या देखिएका हुन् । त्यसैले त अहिले जसरी हुन्छ आम्दानी वृद्धि गर्न जरूरी छ । तत्कालका लागि आम्दानी वृद्धि गर्ने क्षेत्र भनेको कृषि नै हो । किनभने कृषि बालीबाट उत्पादन लिन अन्य क्षेत्रभन्दा सबभन्दा थोरै समय लाग्छ । नेपालले आम्दानी गर्ने क्षेत्रका रूपमा चिनिएको पर्यटन लयमा फर्किसकेको छैन । नेपालले लाभ लिनसक्ने अर्को क्षेत्र जलविद्युत् हो । तर जलविद्युत्बाट आम्दानी लिन पनि लामो अवधि नै पर्खनु पर्छ । यी सबै पक्षलाई केलाउँदा तत्काल उत्पादन गरेर लाभ लिनसक्ने क्षेत्र कृषि नै हो । तर कृषिमा मल, बीउ, सिँचाइ जस्ता सुविधा नहुने हो भने कसरी उत्पादन वृद्धि हुन सक्छ ? कृषि उत्पादनका लागि मल, बीउ, सिँचाइ नभई नहुने हुन् भन्ने कुरा नीति निर्माण तहमा बस्नेले किन बुझ्न नसकेको भन्ने प्रश्न वर्षौंदेखि टड्कारो रूपमा रहेको छ । मल, बीउ, सिँचाइको जोहो गर्ने दायित्व सरकारको हो । अहिलेकै सन्दर्भमा किसानलाई मल, बीउ, सिँचाइको व्यवस्था मिलाउने दायित्व सरकारको हो । यसमा राष्ट्र बैंकका गभर्नरको भूमिका हुँदैन । आफूले गर्नुपर्ने दायित्व पूरा नगर्ने तर दोष जति अरूलाई थोपर्ने कार्यशैली कुनै पनि हालतमा मान्य हुन सक्दैन । सरकारले जो कोहीलाई त्यतिबेला प्रश्न गर्न सक्छ, जतिबेला ऊ सही बाटोमा हुन्छ । उत्पादन वृद्धि आवश्यक छ भन्ने भाषण त्यतिबेला स्वीकार्य हुन्छ, जतिबेला सरकारी निकायबाट किसानलाई कम्तीमा मल, बीउ र सिँचाइको सुविधा पुर्याउने व्यवस्था गरिएको हुन्छ । नेपालमा मल कारखाना स्थापना गर्नुपर्छ भन्ने आवाज वर्षौंदेखि उठ्दै आएको हो । मल कारखानाका लागि आवश्यक पर्ने विद्युत् नेपालमा उत्पादन हुन थालेको छ । तैपनि मल कारखाना स्थापना भएको छैन । कहिले विश्व बजारमा मल नपाएको र कहिले ठेकेदारले समयमै ढुवानी गरेन भन्दै बसिरहने हो भने नेपालको कृषि क्षेत्रमा सुधार हुने सम्भावना हुँदैन । त्यसैले अहिलेको आवश्यकता कृषि क्षेत्रमा लगानी बढाई कम्तीमा मल, बीउ, सिँचाइको सहज उपलब्ध र व्यवस्थापन गर्नु हो ।