केही समययता खाद्यान्नमा निरन्तर मूल्य वृद्धि भइरहेको छ । यसको कारणको रूपमा रसियाले युक्रेनमाथि आक्रमण गर्नु हो । रसिया–युक्रेन तनाव अझै कायम रहेकाले मूल्य वृद्धि कतिसम्म पुग्छ भन्ने यकिन छैन । जसका कारण मूल्य वृद्धिलाई एकल अंकमा राख्न हम्मेहम्मे पर्ने देखिएको छ ।
तत्कालका लागि आम्दानी वृद्धि गर्ने क्षेत्र भनेको कृषि नै हो । किनभने कृषि बालीबाट उत्पादन लिन अन्य क्षेत्रभन्दा सबभन्दा कम समय लाग्छ ।
यहीबेला नेपालको कृषि क्षेत्रलाई सुधार गर्ने अवसर पनि आएको छ । आयातित खाद्यान्नमा भर पर्दा जुनसुकै बेला संकट आउन सक्दो रहेछ भन्ने अहिलेको उदाहरणबाट पुष्टि हुन्छ । तर चैते बालीका लागि रासायनिक मलको अभाव भएको खबर आएको छ । विश्वमा कृषि उत्पादनका लागि आधुनिक प्रविधि र उपकरण प्रयोग हुन थालेको वर्षौं भयो । त्यसैले त आज ती देशमा कृषिले निकै फड्को मारेको छ । ती देशमा ४–५ प्रतिशत मान्छे आवद्ध कृषिले अन्य बाँकी जनसंख्यालाई चाहिने खाद्यान्न बाली पुर्याउन सकेका छन् ।
कृषि क्षेत्रमा भइरहेको यस्तो प्रगति र परिवर्तनबारे नेपालका अधिकांश नीति, निर्मातालाई राम्रो ज्ञान छ । नीति, निर्माण तहमा बस्नेहरू नेपालको सम्भावनाको रूपमा कृषि क्षेत्रलाई लिन्छन् पनि । तर व्यवहार भने कृषि क्षेत्रलाई बढावा दिने खालको नभई कृषि पेशामा लाग्न खोज्नेलाई निराशा बनाउने खालको छ । कृषि प्रधान भनिएको मुलुकमा ६५ प्रतिशतभन्दा बढी जनसंख्या कृषिमा आवद्ध हुँदासमेत तिनैलाई गुजारा चलाउने गरी उत्पादन हुन सकेको छैन ।
चैते बाली लगाउने बेला किसान रासायनिक मल नपाएर हाहाकारको अवस्थामा छन् । सरकारी अनुदानको रासायनिक मल ल्याउने ठेक्का पाएका कम्पनीहरूले मल ल्याउन नसक्दा चैते बाली प्रभावित हुने देखिएको छ । किसानलाई जुनसुकै हालतमा रासायनिक मल नभई नहुने अवस्थामा पुग्दा सत्ताको बागडोर सम्हालेकाहरू भने जसरी हुन्छ आफ्नो फाइदा लिने दौडमा देखिन्छन् ।
यस्तो श्रृङ्खलाको पछिल्लो उदाहरण सरकार नेपाल राष्ट्र बैंकका गभर्नरलाई हटाउने खेलमा लाग्नुलाई लिन सकिन्छ । यतिखेर अर्थतन्त्रका सूचक सामान्य छैनन् भन्ने यथार्थ जगजाहेर नै छ । खासगरी आम्दानीभन्दा खर्च बढी हुँदा समस्या देखिएका हुन् । त्यसैले त अहिले जसरी हुन्छ आम्दानी वृद्धि गर्न जरूरी छ । तत्कालका लागि आम्दानी वृद्धि गर्ने क्षेत्र भनेको कृषि नै हो । किनभने कृषि बालीबाट उत्पादन लिन अन्य क्षेत्रभन्दा सबभन्दा थोरै समय लाग्छ । नेपालले आम्दानी गर्ने क्षेत्रका रूपमा चिनिएको पर्यटन लयमा फर्किसकेको छैन । नेपालले लाभ लिनसक्ने अर्को क्षेत्र जलविद्युत् हो । तर जलविद्युत्बाट आम्दानी लिन पनि लामो अवधि नै पर्खनु पर्छ । यी सबै पक्षलाई केलाउँदा तत्काल उत्पादन गरेर लाभ लिनसक्ने क्षेत्र कृषि नै हो । तर कृषिमा मल, बीउ, सिँचाइ जस्ता सुविधा नहुने हो भने कसरी उत्पादन वृद्धि हुन सक्छ ? कृषि उत्पादनका लागि मल, बीउ, सिँचाइ नभई नहुने हुन् भन्ने कुरा नीति निर्माण तहमा बस्नेले किन बुझ्न नसकेको भन्ने प्रश्न वर्षौंदेखि टड्कारो रूपमा रहेको छ । मल, बीउ, सिँचाइको जोहो गर्ने दायित्व सरकारको हो । अहिलेकै सन्दर्भमा किसानलाई मल, बीउ, सिँचाइको व्यवस्था मिलाउने दायित्व सरकारको हो । यसमा राष्ट्र बैंकका गभर्नरको भूमिका हुँदैन । आफूले गर्नुपर्ने दायित्व पूरा नगर्ने तर दोष जति अरूलाई थोपर्ने कार्यशैली कुनै पनि हालतमा मान्य हुन सक्दैन । सरकारले जो कोहीलाई त्यतिबेला प्रश्न गर्न सक्छ, जतिबेला ऊ सही बाटोमा हुन्छ । उत्पादन वृद्धि आवश्यक छ भन्ने भाषण त्यतिबेला स्वीकार्य हुन्छ, जतिबेला सरकारी निकायबाट किसानलाई कम्तीमा मल, बीउ र सिँचाइको सुविधा पुर्याउने व्यवस्था गरिएको हुन्छ । नेपालमा मल कारखाना स्थापना गर्नुपर्छ भन्ने आवाज वर्षौंदेखि उठ्दै आएको हो । मल कारखानाका लागि आवश्यक पर्ने विद्युत् नेपालमा उत्पादन हुन थालेको छ । तैपनि मल कारखाना स्थापना भएको छैन । कहिले विश्व बजारमा मल नपाएको र कहिले ठेकेदारले समयमै ढुवानी गरेन भन्दै बसिरहने हो भने नेपालको कृषि क्षेत्रमा सुधार हुने सम्भावना हुँदैन । त्यसैले अहिलेको आवश्यकता कृषि क्षेत्रमा लगानी बढाई कम्तीमा मल, बीउ, सिँचाइको सहज उपलब्ध र व्यवस्थापन गर्नु हो ।