नवलपपुर। गोपाल गिरीको मृत्यु भएको सातौँ दिन राष्ट्रिय जनमोर्चा नवलपुर र चितवनको संयुक्त आयोजनामा शनिवार गैँडाकोट–२ स्थित उहाँकै घरमा श्रध्दाञ्जली कार्यक्रम सम्पन्न भएको छ।
राजमो नवलपुरका जिल्ला अध्यक्ष दिपक पाण्डेको अध्यक्षतामा अघि बढेको उक्त कार्यकममा मन्तव्य दिँदै राजमो पूर्व सचिव कृष्ण अधिकारीले कसैको मृत्यु पातसरि हलुङ्गो हुन्छ भने कसैको मृत्यु गरुङ्गो हुने बताउनुयो ।
गोपाल गिरीको मृत्यु वजनदार भएको बताउँदै उहाँले गिरीको मृत्युले उहाँको परिवारले मात्र एउटा सदस्य गुमाएको होइन, सिङ्गो समाजले एउटा असल, मिजासिलो छिमेकी गुमाएको छ बताउनुभयो ।
‘हाम्रो पार्टीले पार्टीप्रति जस्तोसुकै अप्ठ्यारो परिस्थितिमा पनि जुध्न सक्ने जुझारू सदस्य गुमाएको छ’ उहाँले अगाडि भन्नुभयो– ‘उहाँको मृत्युले पार्टीलाई अपूरणीय क्षति पुगेको छ ।’
‘उहाँले लिँदै आएको अडान र आस्थालाई सफल बनाउनु लाग्नु नै अब उहाँप्रति सच्चा श्रध्दा हुने छ’ उहाँले भन्नुभयो ।
राजमो कन्द्रीय सचिव तथा चितवन जिल्लाध्यक्ष डम्मर पुरीले शोकमन्तव्य सहितको फोटो फ्रेम हस्तान्तरण गर्दै यो परिवारप्रति पार्टी र पार्टीप्रति यो परिवार पनि सधैँ सहयोगी रहने विश्वास व्यक्त गर्नु भयो ।
राजमो कन्द्रीय सदय राजेन्द्र ढुङ्गानाले गोपालजीको मृत्युले आज यो परिवार मात्र होइन, सिङ्गो पार्टी र परिवार शोकमा रहेको बताउनुभयो।
अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्घका केन्द्रीय अध्यक्ष ढुण्डिराज पौडेल, अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का कार्यवाहक अध्यक्ष लोकराज भुसालले पनि उक्त कार्यक्रममा मन्तव्य दिनु भएको थियो ।
प्रतिभा महिला समूहका अध्यक्ष विष्णु पाण्डेले शोकमन्तव्यसहित फोटो फ्रेम हस्तान्तरणपछि सभा अध्यक्ष दिपक पाण्डेले नवलपुर जिल्लाको तर्फबाट शोकमन्तव्यसहितको फोटो फ्रेम हस्तान्तरणपछि कार्यक्रम समापन गरिएको थियो ।
राजमो जिल्ला सल्लाहकार देवराज पौडेलले दिवङ्गत गिरीको सङ्क्षिप्त जीवनीसहित कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।