महेन्द्रनगर । कञ्चनपुरको महाकाली नदीमा निर्माणाधीन पक्की पुलको काममा ढिलाइ भएको छ । सुदूरपश्चिमकै ठूलो आयोजनामा पर्ने चार लेनको ८०० मिटर लम्बाइको पक्की पुलसँगै बन्ने बाँध, पहुँचमार्गलगायतमा प्रक्रियागत उल्झन देखिएपछि ढिलाइ भएको हो । गत कात्तिक पहिलो साता महाकाली नदीमा आएको बाढीपछि यहाँ पुलको काम प्रभावित बन्न पुगेको थियो । त्यसयता पुलको काम छिटफुट रूपमा भए पनि बाँध निर्माणलगायत काम भने शुरू नै हुन सकेको छैन ।
पुलको चौतर्फी बन्ने पोखरीका लागि ‘गाइडबण्ड’ बनाउन डिजाइन परिवर्तन स्वीकृत भए पनि ‘भेरिएसन अर्डर’ नहुँदा काम अघि बढ्न नसकेको निर्माण कम्पनीले बताएको छ । यसअघि ठूला ढुंगाको गाइडबण्ड बनाउने सम्झौतामा रहे पनि त्यसको व्यवस्थापन हुन नसकेपछि डिजाइन परिवर्तनको पहल भएको हो । गाइडबण्ड बनाउन करीब १ लाख ८१ हजार घनमिटर ढुंगा आवश्यक पर्ने बताइएको छ ।
पुल निर्माणको जिम्मा पाएको कुमार श्रेष्ठ निर्माण कम्पनी तथा चाइना फ्युल कन्स्ट्रक्सन कम्पनी (सीएफसी) जेभीका इन्जिनीयर किशोरराज पाण्डेयले गाइडबण्डको डिजाइन परिवर्तन भए पनि ‘भेरिएसन अर्डर’ नहुँदा आर्थिक विषय नटुंगिएको बताए । ‘गत फागुन २३ गते डिजाइन परिवर्तन भए पनि ‘भेरिएसन अर्डर’ नहँुदा काममा ढिलाइ भयो,’ इन्जिनीयर पाण्डेयले भने, ‘डिजाइन परिवर्तनसँगै रकम पनि तल–माथि हुन्छ ।’
‘अब वर्षात् नजिकिँदै छ र यसका कारण खोलाभित्रको काम प्रभावित हुन्छ,’ उनले भने, ‘अन्य निर्माण भने चलिरहेको छ ।’ गत जेठ र कात्तिकमा महाकालीमा आएको बाढीले निर्माण कम्पनीको करीब २० करोडभन्दा बढीको क्षति पुर्याएको थियो । त्यसैगरी पुलसँगै सात दशमलव आठ किलोमिटर ६ लेनको पहुँचमार्गअन्तर्गत चार किलोमिटरभन्दा बढी सडक कालोपत्र भइसकेको छ । रू. तीन अर्ब ६६ करोडको लागतमा निर्माण हुन लागेको पुल आयोजनाको ७६ प्रतिशत वित्तीय प्रगति भइसकेको छ । पुल बने सुदूरपश्चिमको आर्थिक विकासले फड्को मार्ने अपेक्षा गरिएको छ । उक्त आयोजनाको निर्माण दु्रतगतिमा गर्न महाकाली तटीय क्षेत्रका स्थानीयवासीले दबाब दिँदै आएका छन् ।
योजनामा पुलको दुवैतर्फ ५ हजार ४०० मिटर बाँध निर्माण गर्नुपर्ने व्यवस्था छ । २०७४ भदौदेखि पुल निर्माण शुरू भएकोमा कारोना महामारीका कारण दुई पटकसम्म प्रभावित बनेको थियो । रासस
महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशकै ठूलो आयोजनामध्ये पर्ने कञ्चनपुरको महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुलको काम साढे तीन महीनायता प्रभावित छ । गत कात्तिक पहिलो साता महाकाली नदीमा आएको बाढीले पुलसँगै बनेको पहुँच मार्गलगायत संरचना बगाएपछि प्रभावित बनेको आयोजनाको निर्माणले अझै गति लिन सकेको छैन ।
पुलको चौतर्फी बन्ने पोखरीका लागि ‘गाइडबण्ड’ बनाउन डिजाइन परिवर्तन गर्ने प्रक्रिया अघि बढेपछि निर्माणको काम रोकिएको हो । यसअघि ठूला ढुंगाको ‘गाइडबण्ड’ बनाउने भनिए पनि ठूलो ढुंगाको व्यवस्थापन हुन नसकेपछि डिजाइन परिवर्तनको पहल अघि बढेको छ । ‘हामीलाई गाइडबण्ड बनाउन करिब एक लाख ८१ हजार घनमिटर ढुंगा आवश्यक थियो,’ पुल निर्माणको जिम्मा पाएको कुमार श्रेष्ठ निर्माण कम्पनी तथा चाइना फ्युल कन्स्ट्रक्सन कम्पनी (सीएफसी) जेभीका इञ्जिनीयर किशोरराज पाण्डेयले भने, ‘अहिले डिजाइन परिवर्तनको काम नसकिएकाले निर्माणको काम ठप्प जस्तै छ ।’
पुलको ‘स्ल्याब’ ढलानको काम सकिएको जानकारी उनले दिए । ‘७ दशमलव ८ किमी ६ लेनको पहुँच मार्गअन्तर्गत चार किमी सडक कालोपत्र भइसकेको छ,’ उनले भने, ‘गाइडबण्डका लागि स्थानीय प्रशासनसँग समन्वय गरेर चुरेतर्फका खोलाबाट करिब १८ हजार घनमिटर ढुंगा ल्याए पनि त्यसले पर्याप्त भएन ।’
उनका अनुसार गाइडबण्ड बनाउन २५७ किलोग्रामभन्दा माथिका ७० प्रतिशत र २० देखि ४० किलोग्रामका ३० प्रतिशत ढुंगा आवश्यक थियो । तीन अर्ब ६६ करोडको लागतमा निर्माण हुन लागेको पुल आयोजनाको ७२ प्रतिशत वित्तीय प्रगति भइसकेको छ ।
‘पुलको रेलिङ र रङरोगनको काम गर्ने तयारी हँुदै छ,’ उनले भने, ‘मौसम प्रतिकूलताका कारण कालोपत्र कार्य रोकिएको छ ।’ सुदूरपश्चिमको व्यापारिक नाकाका रूपमा विकास गर्न खोजिएको पुलको पारि र वारि दुवैतर्फ पाँच हजार ४०० मिटर बाँध निर्माण गर्ने योजना छ ।
महाकाली पुल योजना कार्यालयका इञ्जिनीयर दुर्गा अवस्थीले वाइडबण्डको डिजाइन परिवर्तनका लागि फाइल विभागमा पेश भएको बताए । ‘कोरोनाका कारण डिजाइन परिवर्तनको काममा केही ढिलाइ भएको हो,’ उनले भने, ‘छिट्टै डिजाइन परिवर्तनको काम सकिनेछ ।’ उनले पुलको अरू काम भने सञ्चालन रहेको बताए ।
२०७४ भदौदेखि शुरू भएको पुल निर्माणको अवधि आगामी फागुन १५ गतेसम्म रहेको छ । गत जेठ र कात्तिकमा महाकालीमा आएको बाढीले निर्माण कम्पनीको करिब २० करोडभन्दा बढीको क्षति पुर्याएको थियो । रासस
काठमाडौं। गत साता गत गएको पहिरोले मेलम्ची खानेपानी आयोजनामा एक अर्ब रुपैयाँभन्दा बढीको क्षति गरेको छ। मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले आयोजनाका मुख्य संरचना सुरुङ र ‘हेडवर्क’बाहेक अरू संरचनामा पहिरोले क्षति पु¥याएको बताए। निर्माण सामग्री र कर्मचारी बस्न बनाइएका संरचना पहिरोले बगाएको छ। निर्माणस्थलसम्म पुग्ने सडक र पुल बगाएकाले अब काम गर्न पनि कठिन हुने उनले बताए।