काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले फागुन २ गतेदेखि हकप्रद शेयर निष्कासन गर्ने भएको छ । हाल कायम चुक्तापूँजी १ करोड ४५ लाख रूपैयाँको आधारमा शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्न लागेको हो । उक्त हकप्रद शेयर निष्कासनका लागि कम्पनीले नेपाल धितोपत्र बोर्डबाट पुस ११ गते स्वीकृति पाएको थियो । प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ४५ लाख कित्ता हकप्रद शेयर निष्कासनमा आउनेछ ।
हकप्रद शेयर निष्कासन प्रयोजनका लागि कम्पनीले पुस २२ गते बुकक्लोज गरेको थियो । बुक क्लोजको आधारमा पुस १९ गतेसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको हकप्रद शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद शेयर खरीदका लागि फागुन २२ गतेसम्म आवेदन दिन सकिने व्यवस्था छ ।
यो हकप्रद शेयर निष्कासका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ । योग्य लगानीकर्ताले बिक्री प्रबन्धकसँगै कुमारी बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, प्रभु बैंक र नेपाल बैंकका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएको कार्यालयबाट आवेदन दिन सक्नेछन् । मेरो शेयर अनलाईन मार्फत समेत आवेदन दिन सकिने व्यवस्था छ ।
शतप्रतिशत हकप्रद शेयर निष्कासन तथा बाँडफाँट पछि कम्पनीको चुक्तापूँजी २ अर्ब ९० करोड रूपैयाँ कायम हुनेछ ।
सूचना हेर्न यहाँ क्लिक गर्नुहाेस