कात्तिक १, काठमाडौं । गुराँस लघुवित्तले छैंठौं वार्षिक साधारण सभा कात्तिक २२ गते हुने भएको छ ।
सभा न्यू अञ्जुली होटल धनकुटामा बिहान ११ बजेदेखि शुरु हुने कम्पनीले जानकारी दिएको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाई १६ दशमलव ९० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ८८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने भएको छ ।
बोनस वितरणपछि चुक्तापूँजी वृद्धि हुने भएकोले प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने प्रस्ताव पनि रहेको छ । यसैगरी, सभाले अन्य बैंक तथा वित्तीय संस्थाहरुसँग गाभ्ने/गाभिने सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने ४ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्ने भएको छ ।
सभाको अन्य प्रस्तावमा आर्थिक वर्ष २०७७/७८ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल गर्नका साथै, आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव पनि पारित गर्नेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनाको लागि कम्पनीले कात्तिक ८ गतेदेखि २२ गतेसम्म बुक क्लोज गर्ने भएको छ । कात्तिक ७ गतेसम्मका कायम शेयरधनीले मात्रै सभामा भाग लिन तथा लाभांश पाउनेछन् ।