फर्निचर मेलामा खरीदकर्ताको आकर्षण : ५ करोडको कारोबार हुने अनुमान

रौतहट (अस) । नेपाल विश्वकर्मा बजार समितिको आयोजनामा रौतहटको गरुडा नगरपालिका–१ जयनगरमा सञ्चालित फर्निचर मेलामा खरीदकर्ताको आकर्षण बढेको छ । श्रीपञ्चमीदेखि शुरू भएको मेलामा उपभोक्ताको आकर्षणसँगै कारोबार समेत बढेको व्यवसायी बताउँछन् । मेलामा यस वर्ष करीब ३०० भन्दा बढी व्यवसायीले फर्निचर सामग्री विक्रीका लागि राखेका छन् । काठबाट बनेका आकर्षक फर्निचर सामग्री किन्न रौतहट र आपपासका जिल्लाका बासिन्दाले सो मेला पर्खने गरेका छन् । अन्य ठाउँमा सामान किनेको भन्दा मेलामा २५ प्रतिशतभन्दा कम मूल्यमा फर्निचर सामग्री खरीद गर्न पाइन्छ । मेलामा राखिएका फर्निचरका सामग्री सस्तो, बलियो र आकर्षक हुने भएपछि यहाँका स्थानीयवासी खरीदका लागि मेला नै पर्खने गरेको शिवनगरका स्थानीय करणकुमार मिश्राले बताए । साल, सिसौ, टिक, मसला, आँपलगायत विभिन्न जातको काठबाट आकर्षक तरिकाले बनाइएका फर्निचर सामग्री मेलामा पाइने उनको भनाइ छ । बलियो काठको आफैले फर्निचर बनाएर यस मेलामा ल्याउने गरेकाले बजारभन्दा तुलनात्मक रूपमा सस्तो हुने र सम्पूर्ण सामान एकै ठाउँमा उपलब्ध हुने भएपछि मेला खरीदकर्ताको आकर्षणको केन्द्र बनेको छ । आकर्षक तरिकाले बुट्टा कुँदिएका पलङ, कुर्सी, ढोका, सोफा, दराज तथा किसानलाई खेती र घरायसी प्रयोजनमा आउने फलामका हँसिया, कुटो, बञ्चरो, खुकुरीलगायत सामग्री विक्रीका लागि मेलामा राखिएका छन् । मेलामा सहभागी व्यवसायीले हरेक वर्ष दोब्बर सामग्री विक्री हुने गरेको बताएका छन् । मेलामा यस वर्ष ५ करोड रुपैयाँको कारोबार हुने अनुमान रहेको नेपाल विश्वकर्मा बजार समितिका अध्यक्ष अरुण यादवले बताए । गतवर्ष ४ करोड रुपैयाँको कारोबार भएको थियो । मेलामा राखिएकाका फर्निचर सामग्री सर्लाही, बारा, पर्सा, धनुषा, काठमाडौं, पोखरा, विराटनगर, जनकपुर र भारत विहारका विभिन्न ठाउँसम्म पुग्ने गरेको व्यवसायीको भनाइ छ ।

सम्बन्धित सामग्री

‘मोरङ व्यापार संघ एक्स्पो’ पुस ६ देखि

विराटनगर। मोरङ व्यापार संघले पुस ६ देखि १६ गतेसम्म सातौं ‘मोरङ व्यापार संघ एक्स्पो २०८०’ आयोजना गर्ने भएको छ । यसअघि हुँदै आएको अन्तरराष्ट्रिय कृषि, औद्योगिक तथा व्यापार मेलाकै निरन्तरतास्वरूप यसपटक संघको नाम राखेर एक्स्पो सञ्चालन गर्न लागिएको हो । विराटनगर महानगरपालिका–२ शंकरपुरमा एक्स्पो सञ्चालन हुने एक्स्पोका संयोजक अनिल साहले जानकारी दिए । क्रिसमस र अंग्रेजी नयाँ वर्ष समेत पर्ने भएकाले नेपाल र भारतका गरी करीब ४ लाख अवलोकनकर्ताले मेला भ्रमण गर्ने अनुमान गरिएको उनले बताए । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले मेलालाई भव्य रूपमा सम्पन्न गर्न संघका उपाध्यक्ष अनिल साहलाई संयोजक र संघका सचिव सञ्जय श्रेष्ठ तथा कार्यकारिणी सदस्य अमित शारडालाई सह–संयोजकको जिम्मेवारी दिइएको बताए । संघका अध्यक्ष रिजालले मेलामा १५ करोड रुपैयाँभन्दा बढीको कारोबार हुने अनुमान रहेको बताए । मेला सम्पन्न गर्न साढे ३ करोड रुपैयाँभन्दा बढी खर्च हुने उनको भनाइ छ । नेपाल व्यापार रणनीति अन्तर्गत पहिचान गरिएका प्रदेशका उत्पादन, अन्तरप्रादेशिक व्यापार सम्भावना बोकेका उत्पादन र सेवाको अन्तरराष्ट्रिय बजार विस्तारको लक्ष्य  नेपाल व्यापार रणनीति अन्तर्गत पहिचान गरिएका प्रदेशका उत्पादन, अन्तरप्रादेशिक व्यापार सम्भावना बोकेका उत्पादन र सेवाको अन्तरराष्ट्रिय बजार विस्तारको लक्ष्य राखेर मेला आयोजना गर्न लागिएको अध्यक्ष रिजालले बताए ।  मेलामा २५० स्टल रहनेछन्, जसमा ग्रामीण क्षेत्रबाट आउने कृषि तथा महिला उद्यमीका लागि १० ओटा स्टल नि:शुल्क हुनेछन् । एउटा स्टलको शुल्क भ्याटबाहेक ४० हजार रुपैयाँ राखिनेछ । मेलामा जर्मन प्रविधिको ह्याङगर र अक्टानर्म स्टल तयार पारिनेछ । मेलामा भारत, बंगलादेश र पाकिस्तानका उद्योगको उत्पादन समेत राखिने संघले जानकारी दिएको छ । संघका निवर्तमान अध्यक्ष प्रकाश मुन्दडाले सुनसरी–मोरङ औद्योगिक कोरिडोर चलायमान रहेको सन्देश दिने लक्ष्यसहित मेला आयोजना गर्न लागिएको बताए । सरकारको कर उठिरहेको र बाहिरबाट आउने विप्रेषण समेत बढिरहेकाले अहिले उपभोक्तामा खर्च गर्ने क्षमता रहेको भन्दै उनले मेलामा उनीहरूको आकर्षण बढ्ने अपेक्षा गरे । संघका वरिष्ठ उपाध्यक्ष अनुपम राठीले यसअघि आयोजना गरिएको व्यापार मेलामा सांगीतिक क्षेत्रमा बढी दर्शकको घुइँचो भएकाले यसपटक स्टल घटाएर सांगीतिक कार्यक्रमका लागि पर्याप्त स्थान छुट्ट्याइएको जानकारी दिए ।

भक्तपुरको मेलामा डेढ करोडको कारोबार

भक्तपुर । नयाँ वर्ष २०७९ का अवसरमा भक्तपुरको सल्लाघारीमा औद्योगिक तथा व्यापार मेला लागिरहेको छ । मेलाको पाँचौँ दिनमा एक करोड ५० लाख रुपैयाँको कारोबार भएको छ । मेलामा कारोबार बढ्दै गएको आयोजक औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दीप महतले जानकारी दिए । दैनिक उपभोग्य सामग्री, लत्ताकपडा, जुत्ता, कृषि तथा हस्तकलाका सामग्री, नयाँ तथा पुराना सवारीसाधन खरिदमा उपभोक्ताको आकर्षण रहेको पनि उनले बताए । मेलामा फेशन तथा नृत्य, औद्योगिक उत्पादनको प्रदर्शनी, सूचना तथा विज्ञान प्रविधिको प्रदर्शनी, ग्रामीण प्रविधिसम्बन्धी गतिविधि, अटो मोबाइल प्रदर्शनी, विद्युतीय मेशिन, कृषि औजार प्रदर्शनीलगायत रहेको मेला संयोजक दीपक थापाले जानकारी दिए । मेलामा विद्यार्थीलाई ४० र अन्यलाई  ५० रुपैयाँ प्रवेश शुल्क निर्धारण गरिएको छ ।   यही चैत २४ देखि शुरू भएको उक्त मेला आगामी वैशाख ४ गतेसम्म चल्नेछ । मेलामा २ सयभन्दा बढी कक्ष राखिएको आयोजकले जानकारी दिएको छ । मेलामा ८ करोड रुपैयाँ बराबरको कारोबार हुने आयोजकको अनुमान छ । औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज ब्याण्डले मेला आयोजना गरेका हुन् । कोरोना महामारीका कारण लामो समय रोकिएका व्यापार मेला तथा प्रदर्शनीहरू विस्तारै लयमा फर्किन थालेका छन् ।  रासस