कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता श्रीराम घिमिरेले कृषिमा वैदेशिक लगानी आवश्यक रहेको स्पष्टोक्ति दिनुभएको छ । सरकारले प्रतिनिधिसभा भङ्ग भएकै अवस्थामा सर्तसहितको प्रत्यक्ष वैदेशिक लगानी खुल्ला गर्ने निर्णय गरेपछि वैदेशिक लगानी आवश्यक हो वा होइन भन्ने चर्चा चलिरहेकै अवस्थामा सरकारको तर्फबाट सो धारणा राख्नु भएको हो ।
एशोसिएशन अफ नेपाली अग्रीकल्चर जर्नालिष्ट्स (अनाज) र राष्ट्रिय कृषक समूह महासङ्घ, नेपालले काठमाडौँमा आयोजना गरेको बहस कार्यक्रममा प्रवक्ता घिमिरेले सम्बन्धित सरोकारवालासँग यथेष्ट बहस र गृहकार्यपछि मात्र वैदेशिक लगानी भित्र्याइने जानकारी दिनुभयो ।