हिमालयन रिइन्स्योरेन्सको शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडको शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल नियुक्त भएको छ । कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकको समेत जिम्मेवारी पूरा गरेको क्यापिटलले आगामी दिनमा शेयर रजिष्ट्रारको काम गर्ने जिम्मेवारीसमेत पाएको हो । कम्पनीको सञ्चालक समितिको बैठकले आगामी दिनमा धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरधनीहरूको लगत अद्यावधिक गरी राख्नेसम्बन्धी सम्पूर्ण कार्य गर्ने जिम्मेवारी एनएमबि क्यापिटललाई दिने निर्णय गरेको हो । कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि मङ्सिर २७ देखि पुस २ गतेसम्म आईपीओ विक्री गरी पुस ११ गते बाँडफाँट गरेको छ ।  कम्पनीले सर्वसाधारणमा आफ्नो जारी पूँजी १० अर्ब रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने ३ अर्ब रुपैयाँ बराबरको ३ करोड कित्ता आईपीओ विक्री गरेको छ । कम्पनीले प्रतिशेयर एक सय रुपैयाँ अंकित मूल्यमा प्रिमियमबापत १०६ रुपैयाँ थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा सर्वसाधारणका लागि आईपीओ विक्री गरेको हो । कुल कित्ता आईपीओमध्ये १० प्रतिशत दरको ३० लाख कित्ता आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीमा, ६ लाख कित्ता कम्पनीका कर्मचारीहरूमा १५ लाख कित्ता सामूहिक लगानीकोषहरू र २ करोड ४९ लाख कित्ता भने सर्वसाधारणमा बाँडफाँट गरिएको हो । अधिकृत पूँजी २१ अर्ब रुपैयाँ रहेको कम्पनीको जारी पूँजी १० अर्ब रुपैयाँ छ । हाल संस्थापक तर्फबाट चुक्ता भएको पूँजी ७ अर्ब रुपैयाँ रहेको कम्पनीले सर्वसाधारणमा सम्पूर्ण कित्ता आईपीओ बाँडफाँटपछि चुक्ता पूँजी १० अर्ब रुपैयाँ कायम भएको छ । सूचना हेर्न यहाँ क्लिक गर्नुहाेस्

सम्बन्धित सामग्री

हिमालयन रिइन्स्योरेन्सको आईपीओ सूचीकृत, शेयर कारोबार भोलिदेखि

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडको आईपीओ नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । कम्पनीले आइतवार १० करोड कित्ता आईपीओ नेप्सेमा सूचीकृत गराएको हो ।  कुल कित्ता आईपीओमध्ये सर्वसाधारण लगानीकर्ता शेयरधनीतर्फ ३ करोड कित्ता र संस्थापक शेयरधनीतर्फको ७ करोड कित्ता छ । नेप्सेले कम्पनीलाई एचआरएज सिम्बोल प्रदान गरेको छ । उक्त सिम्बोलबाट सोमवार (भोलि)देखि कम्पनीको शेयर कारोबार हुनेछ । सोमवार प्रि–स्पेशल ओपनिङ सेसनमा कम्पनीको शेयर कारोबार भए मात्र नियमित सेसनमा कारोबार शुरु हुनेछ ।  नेप्सेले कम्पनीको पहिलो शेयर कारोबारका लागि प्रतिकित्ता १०३ रुपैयाँ ७ पैसादेखि अधिकतम प्रतिकित्ता २०९ रुपैयाँ २१ पैसासम्मको मूल्य रेञ्ज तोकेको छ । कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थको आधारमा नेप्सेले कम्पनीको शेयर कारोबारका लागि खुला मूल्य तोकेको हो । कम्पनीको शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल लिमिटेडछ ।  कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि मङ्सिर २७ देखि पुस २ गतेसम्म आईपीओ विक्री गरेको थियो । कम्पनीले सर्वसाधारणमा प्रतिशेयर एक सय रुपैयाँ अंकित मूल्यमा प्रिमियमबापत १०६ रुपैयाँ थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा सर्वसाधारणका लागि आईपीओ विक्री गरेको हो ।  सर्वसाधारणतर्फको कुल कित्ता आईपीओमध्ये ३० लाख कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीमा, ६ लाख कित्ता कम्पनीका कर्मचारीहरूमा १५ लाख कित्ता सामूहिक लगानीकोषहरूमा र २ करोड ४९ लाख कित्ता सर्वसाधारणमा सार्वजनिक निष्कासन गरिएको थियो ।

बाँडफाँट भएको ६ दिनमै हिमालयन रिइन्स्योरेन्सको आईपीओ डिम्याट खातामा

काठमाडौं । बाँटफाँट भएको ६ दिनमै हिमालयन रिइन्स्योरेन्स आईपीओ लगानीकर्ताको डिम्याट खातामा आएको छ । हिजो मंगलवार कम्पनीको शेयर डिम्याट खातामा आएको हो । कम्पनीको आईपीओ पुस ११ गते बाँडफाँट भएको थियो ।  शेयर डिम्याट खातामा आएसँगै यी शेयर नेप्सेमा सूचीकृत भएपछि त्यसको भोलिपल्टबाट शेयर कारोबार गर्न सकिने छ । कम्पनीको आईपीओले रू. १०३ दशमलव ०७ देखि ३०९ दशमलव २१ सम्मको ओपन रेञ्ज पाउने देखिएको छ । कम्पनीको आर्थिक वर्ष २०७८/७९ को वास्तविक प्रतिशेयर नेटवर्थ रू. १०३ दशमलव ०७ रहेकोले उक्त रेञ्ज पाउने देखिएको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ । सोही कारण कम्पनीले उक्त मूल्य रेञ्ज पाउने देखिएको हो । कम्पनीको स्टक सिम्बोल एचआरएल रहेको छ ।  कम्पनीले शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल नियुक्त गरेको छ।  यससँगै  नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा शेयर कारोवारको लागि सूचीकरण गर्ने तथा सर्वसाधारणमा बाँडफाँट भएको साधारण शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा जम्मा गरिदिने, कारोवार भएको शेयरको अभिलेख राख्ने, दाखिल खारेज गर्ने, शेयरधनी लगत अद्यावधिक गर्ने लगायतका शेयर रजिष्ट्रारसम्बन्धी सम्पूर्ण कार्य एनएमबि क्यापिटलले गर्नेछ।