काठमाडौं । भारतमा थोक मूल्य वृद्धिदर घटेको छ । गएको महीना त्यहाँ थोक मूल्यमा आधारित मुद्रास्फीति (डब्ल्यूपीआई) गत वर्षको सोही अवधिको तुलनामा ४ दशमलव ७३ प्रतिशत रहेको वाणिज्य मन्त्रालयले मंगलबार सार्वजनिक गरेको प्रारम्भिक तथ्यांकले देखाएको छ । अघिल्लो महीना डब्ल्यूपीआई सूचक ४ दशमलव ९५ प्रतिशत थियो ।
यसले आपूर्तिका कारण उत्पन्न दबाब केही कम भएको संकेत गरेको छ । अघिल्लो महीनाको तुलनामा डिसेम्बरमा १ दशमलव १२ प्रतिशतले घटेको थोक महँगी जनवरीमा भने शून्य दशमलव १३ प्रतिशतले बढेको छ । थोक महँगीमा आएको कमीले कर्पोरेट आम्दानीमा परेको दबाब कम गर्ने अनुमान गरिएको छ । यसले खुद्रा मुद्रास्फीति थप घटाउन मद्दत गर्ने देखिन्छ ।
खनिज इन्धन, केमिकल र केमिकल प्रडक्ट, टेक्सटाइल, कच्चा पेट्रोलियम र प्राकृतिक ग्यास र खाद्य वस्तुको भाउमा आएको कमीका कारण समीक्षा अवधिमा थोक महँगी घटेको एउटा विज्ञप्तिमा मन्त्रालयले भनेको छ । डिसेम्बरको डब्ल्यूपीआई पनि २२ महीनाकै न्यून थियो । गएको कयौं महीनायता भारतमा थोक महँगी घट्दो क्रममा छ ।
सोमवार सार्वजनिक भउको तथ्यांकले जनवरीमा उपभोग्य मूल्यमा आधारित महँगी अनपेक्षित रूपमा बढेको देखाएको थियो । गएको महीना सीपीआईमा आधारित मुद्रास्फीति ५ दशमलव ६ प्रतिशतमा उक्लिएको छ । यो तीन महीनायताकै उच्च हो । यसले भारतीय केन्द्रीय बैंक ‘रिजर्भ बैंक अफ इन्डिया’ले ब्याजदर वृद्धिलाई निरन्तरता दिने संकेत गरेको छ । एजेन्सी