काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले आगामी वैशाख १० गते २२औं वार्षिक साधारण सभा प्रयोजनका लागि बुक क्लोज गर्ने भएको छ । चैत १५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले वैशाख १८ गते आयोजना गर्न लागिएको २२औं वार्षिक साधारण सभा प्रयोजनका लागि बुक क्लोज गर्ने निर्णय गरेको हो ।
बुक क्लोजको आधारमा वैशाख ९ गतेसम्म कायम शेयरधनी मात्र सभामा भाग लिन सक्नेछन् । सभा चितवनको टाँडीस्थित होटल स्टारमा बिहान ११ः३० बजे शुरु हुनेछ । सभाले गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।
कम्पनीले यस वर्ष पनि लाभांश वितरण नगर्ने भएको छ । सञ्चालक मनोनयन र निर्वाचनको कार्यक्रम पनि सभाका लागि तय भएको छ । कम्पनीको रजिष्टर्ड कार्यालयको ठेगाना परिवर्तन गर्ने र प्रबन्धपत्र तथा नियमावली संशोधनको विषय पनि सभाका लागि प्रस्ताव गरिएको छ । अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा प्राप्तिमा जान आवश्यक भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।