काठमाडौं । सरकारले कोभिड–१९ को रोकथाम, उपचार र नियन्त्रणका लागि स्वास्थ्यको भौतिक पूर्वाधार थप्ने क्रम जारी राखेको छ । सरकारले संक्रमण दोस्रो लहरको बढेपछि कोभिड–१९ व्यवस्थापनका लागि लक्षित कार्ययोजनानुसार अस्पताल र शय्या थप्ने गरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का प्रवक्ता किरणराज आचार्यले विज्ञप्ति जारी गर्दै कार्ययोजनानुसार नै संक्रमणको रोकथाम, उपचार र नियन्त्रणका लागि अस्पताल र शय्या थप गरिएको जानकारी दिए । उनका अनुसार १२ अस्पताल, ५४ सघन उपचार कक्ष, १२ हाई डिपेन्डेन्सी युनिट र पाँच भेन्टिलेटर थप गरिएको छ । नयाँ थपसँगै अहिले अस्पताल ५०५, आईसीयू १ हजार ८७१, भेन्टिलेटर ७४१, एचडीयू २ हजार ८७७ र शय्या २० हजार ३६४ पुगेका छन् ।
प्रवक्ता आचार्यका अनुसार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट काठमाडौं उपत्यकामा तीन टोली परिचालन गरी बजार अनुगमन गरिएको छ । अनुगमनका क्रममा ६ पसललाई जरीवाना गरिएको छ । यस्तै चीन सरकारले अनुदानमा उपलब्ध गराउने अक्सिजनका ४०० खाली सिलिण्डर लिन सोमवार नेपाल वायुसेवा निगमको वाइड बडी जहाज गएको छ । नेपालमा अहिले २७ हजार ७६१ अक्सिजन सिलिण्डर छन् । चीन सरकारले उपलब्ध गराउने २० हजार सिलिण्डर आएपछि ४७ हजार ७६१ अक्सिजन सिलिण्डर पुग्नेछ ।
प्रवक्ता आचार्यले अलपत्र नागरिकलाई चार्टर गरेर उद्धार गरिएको जानकारी दिए । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल, पोखरा, नेपालगञ्ज, लुक्ला र सुर्खेत विमानस्थलबाट १२७ आन्तरिक उडान भरी आइतवार १४८ यात्रुलाई उद्धार गरिएको छ । रासस