उदयपुर । उदयपुरमा बेमौसमी वर्षाले भत्किएका ग्रामीण क्षेत्रका सडक अझै खुलेका छैनन् । भत्किएका सडक हालसम्म पुनर्निर्माण हुन नसक्दा सञ्चालनमा आउन सकेका छैनन् ।
दशैंअघि नै पहाडी क्षेत्र पुगेका र केही सो क्षेत्रबाट फर्किएका सवारीसाधन अझै बीच बाटोमै थन्किएका छन् । यही कात्तिक २ र ३ गतेको वर्षाका कारण रौतामाई गाउँपालिकाको मुर्कुची, पुवारे, डिल्लीबर र माझखर्क, लिम्चुङबुङ गाउँपालिकाको बलाम्ता, जाँते, ताम्लीछा र बासबोटेका ग्रामीण सडक वर्षाले भत्किएका छन् । ती सडक अझै पनि सञ्चालनमा आउन नसकेको बासबोटे बराहका यातायात व्यवसायी धनवीर मगरले बताए ।
दशैंअघि नै दैनिक उपभोग्य सामान ढुवानी गर्न सवारीसाधन गाउँ गाउँ पुगेका थिए । सडक नखुलेकाले ती सवारीसाधन बाटोमै थन्किएको मगर बताउँछन् । उदयपुरगढी र ताप्ली गाउँपालिकाको भलायाडाँडा, तावाश्री, लेकगाउँ, ओख्ले, नुनथला, पिपलभञ्ज्याङसहितका क्षेत्रमा पनि वर्षाले भत्काएका ग्रामीण सडक नखुलेपछि सवारीसाधन बीच बाटोमै थन्किएका ओख्लेका बाबु ठकुरीले बताए ।
ग्रामीण सडक नुखुलेपछि दशैं मान्न गाउँ गएकाहरू बीच बाटोमा अलपत्र छन् । उनीहरू दुई÷तीन दिनसम्म हिँडेरै सदरमुकाम गाईघाट तथा कटारी बजार पुग्न बाध्य छन् । यातायात व्यवसायी मोहन श्रेष्ठ ग्रामीण सडक सञ्चालन हुन नसक्दा यातायात व्यवसायी र यात्रुले कष्ट भोग्नु परिरहेको बताउँछन् । रासस