काठमाडौं (अस) । एभरेष्ट प्रिमियर लिग (ईपीएल)ले नेपाल क्रिकेट संघ (क्यान)विरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेको छ । ईपीएलद्वारा बिहीवार जारी प्रेस विज्ञप्तिअनुसार क्यानले फ्रेन्चाइज क्रिकेटलाई राष्ट्रिय प्रतियोगिताको रूपमा स्वीकृति नदिने निर्णय गरेकाले त्यसविरुद्ध रिट दायर गरिएको हो ।
यसअघि क्यानले फ्रेन्चाइज क्रिकेट प्रतियोगिता ‘नेपाल टी–२०’ लिग आयोजना गर्ने निर्णय गरेको थियो । क्यानको उक्त निर्णयविरुद्ध ईपीएलका टिम मालिकहरूले प्रतियोगिता आयोजनाको स्वीकृति नपाए क्यानका सबै कार्यक्रम बहिष्कार गर्ने चेतावनी दिएका थिए ।
त्यसपछि क्यानले ईपीएलको चेतावनीप्रति खेद प्रकट गरेको थियो । साथै क्यानको बोर्ड बैठकले नेपालमा एकमात्र आधिकारिक लिग हुने, अन्य लिगलाई राष्ट्रिय लिगको मान्यता नदिने र क्षेत्रीय लिगको व्यवस्था गर्ने निर्णय गरेको थियो । ईपीएलको विज्ञप्तिमा क्यानका बारेमा धम्कीपूर्ण ढंगले सार्वजनिक टिप्पणी दिइएको भन्ने आरोप अस्वीकार गरिएको छ ।