कञ्चनपुर । भीमदत्त नगरपालिका–२ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रले १० हजार ८०० जनालाई स्वास्थ्य सेवा प्रदान गरेको छ । केन्द्रका अनुसार ३ सय ४५ जनालाई परिवार नियोजन सेवा, २सय ६४ जनालाई सुरक्षित मातृत्वअन्तर्गत झूल वितरण, ७ सय ८२ बालबालिकालाई नियमित खोप सेवा दिइएको छ । लक्षित समूहअन्तर्गत ८ हजार ६६४ जनालाई कोरोनाविरुद्धको खोप, १५ महिनादेखि १५ सम्मका १ हजार ४७८ बालबालिकालाई टाइफाइडविरुद्धको खोप, लक्षित समूहका ७ सय ८२ बालबालिकालाई पोषणसम्बन्धी सेवा दिइएको केन्द्रले जनाएको छ ।
पाँच वर्षमुनिका ३ हजार बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने काम सम्पन्न भएको । आर्थिक रूपमा विपन्न अवस्थामा रहेका वडाका ६ परिवारको घरको फुसको छानो हटाई जस्तापाता राखिएको छ । यसैबीचm आर्थिक अवस्था कमजोर रहेका परिवारका युवा छनोट गरी वडा कार्यालयले स्वरोगारमूलक कार्यक्रम सञ्चालन गर्न तालीम दिएको छ । १५ युवालाई गुडिया, ६० लाई इलेक्ट्रिसियन र २० जनालाई ब्युटिपार्लरसम्बन्धी तालीम दिइएको छ ।
वडामा रहेका विपन्न ४ जनालाई माछापोखरी निर्माण, २ जनालाई मासु पसल सञ्चालन, १५ जनालाई स्थानीय जातका कुखुरापालन र १ जनालाई बङ्गुरपालनका लागि ५० हजारदेखि एक लाख रुपैयाँका दरले अनुदान उपलब्ध गराइएको कार्यालयले जनाएको छ ।
यसैगरी, कार्यालयले ९१ जना किसानलाई बाख्रा वितरण गरिएको उल्लेख गर्दै वडाध्यक्ष डम्बरसिंह कार्कीले तरकारी खेतीका लागि ३२ वटा प्लास्टिक टनेलसमेत निर्माण गरेको छ । कार्यालयले ९ किलोमीटर सडक कालोपत्र सम्पन्न गरेको जनाएको छ । रासस