पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो प्रधानमन्त्री कालमा सुरु गरेका योजना पूरा गर्न र देशलाई समृद्ध बनाउनका लागि पुनः एमालेको जित आवश्यक रहेको बताउनुभएको छ । नेकपा एमाले पर्वतले कुस्मामा शनिबार आयोजित आमसभामा बोल्दै अध्यक्ष ओलीले विकास निर्माणले तीव्रता पाएको देखेपछि आफ्नो नेतृत्वको सरकार आफ्नै पार्टीका मान्छेबाट ढाल्ने खेल सुरु भएको र संसद्बाट नसकेपछि अदालतबाट ढालेको बताउनुभयो ।
“हामीले सुरु गरेका योजना अहिले पूरा हुँदैछन्, ती योजना अहिलेको सरकारले बाध्य भएर कार्यान्वयन गरिरहेको छ,” उहाँले भन्नुभयो, “केही योजना अलपत्र पार्न खोजिएकाले आगामी सरकार बनाएर पुनः सुरु गर्छौं ।” उहाँले आफ्नो कार्यकालको काम जनकपुर रेल सेवा अहिले उद्घाटन भएकोमा देउवा सरकारलाई धन्यवाद दिनुभयो ।