पुस २२, काठमाडौं । शुक्रवार तीन ओटा कम्पनीको साधारण सभा हुँदैछ । छिमेक लघुवित्त वित्तीय संस्था, चिलिमे जलविद्युत् कम्पनी र याक एण्ड यती होटलले साधारण सभा गर्न लागेका हुन् ।
छिमेक लघुवित्त वित्तीय संस्थाले शुक्रवार मकवानपुर स्थित होटल सामना प्रालिको सभा हलमा बिहान ११ बजे सभा शुरु गर्ने जानकारी गराएको हो । सभाले २७ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश कर सहित वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस ७ गतेदेखि २३ गतेसम्म बुक क्लोज गर्ने जानकारी दिएको छ । यस आधारमा पुस ६ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।
त्यसैगरी, चिलिमे जलविद्युत् कम्पनीले २५औं वार्षिक साधारण सभा स्काई रेस्ट्रो एण्ड ब्याक्वेट्स धुम्वाराही काठमाडौंमा गर्ने जानकारी दिएको हो । सभाले ७ दशमलव ५ प्रतिशत बोनस शेयर र ७ दशमलव ५ प्रतिशत नगद लाभांश कर सहित वितरण गर्ने प्रस्ताव पारीत गर्नेछ । कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस १५ गते देखि २३ गतेसम्म बुक क्लोज गर्ने जानकारी दिएको हो । यस आधारमा पुस १४ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।
त्यसैगरी, याक एण्ड यती होटल लिमिटेडले ४५औं वार्षिक साधारण सभा रजिष्टर्ड कार्यालय लालदरबार, काठमाडौंमा हुने जानकारी गराएको हो । सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ । त्यसैगरी, २०७८ मंसिर २ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई बोनस शेयर प्रदान गर्ने निर्णय गरेको हुँदा सो विशेष प्रस्तावलाई पारित गर्नेछ ।
त्यसैगरी, आव २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ती र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।