साउन ६, म्याग्दी । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकमा दुई सातापछि सिधा सवारी सुचारु भएको छ । म्याग्दीको रघुगंगा गाउँपालिका–३ राहुघाट गलेश्वर र अन्नपूर्ण गाउँपालिका–३ रुप्से छहरा, काभ्रेभीर लगायतका स्थानमा पहिरोले अबरुद्ध बनेको सडकलाई निर्माण कम्पनीहरु परिचालन गरि पहिरो पन्छाएर सुचारु गराईको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
राहुघाटमा गत असार २४ गतेदेखि सडकमाथिबाट खसेको पहिरोले सडक अबरुद्ध बनाएपछि सिधा सवारी हुन सकिरहेको थिएन । रुप्से र काभ्रेभिरमा भने शनिवारदेखि सडक अबरुद्ध बनेको थियो । यहाँ पटक पटक पहिरो पन्छाएर सवारी सुचारु गराउने गरिएको भएपनि वर्षा हुँदासाथ पहिरो खस्ने समस्याले सवारी प्रभावित हुँदै आएको प्रहरीले जानकारी दिएको छ ।
बेनी–जोमसोम सडकखण्डको स्तरोन्नतिमा परिचालन भएका निर्माण कम्पनीलाई परिचालन गरि अबरुद्ध बनेको सडक सुचारु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरिक्षक विरेन्द्रराज गुरुङले जानकारी दिए ।
‘लामो समयसम्म सडक अबरुद्ध भएपछि सर्वसाधारण र बिरामीहरुले सास्ती व्यहोर्न बाध्य बने, निरन्तर ताकेता गरेर निर्माण कम्पनीलाई पहिरो हटाउन लगाएका छौँ, वर्षा हुँदासाथ सडकखण्डको ठाउँठाउँमा पहिरो खस्ने समस्या छ’ प्रहरी निरिक्षक गुरुङले भने ।
सडकमा सिधा सवारी नहुँदा म्याग्दीको रघुगंगा र अन्नपूर्ण गाउँपालिकाका स्थानीयबासीसँगै मुस्ताङबासीले ठाउँ ठाउँमा सवारी साधन परिवर्तन गरी आवत जावत गर्न बाध्य भएका थिए ।
गलेश्वरमा पहिरोले लामो समयसम्म सडक अबरुद्ध बनाउँदा समेत कार्यक्षेत्रमा परिचालन भएको निर्माण कम्पनीले बेवास्ता गरेपछि प्रहरीले सडक निर्माण आयोजनाका प्रतिनिधिलाई नियन्त्रणमा समेत लिएको थियो ।