चुरेको वन मासिने खतरा

दक्ष जनशक्ति अभावमा पूर्वीक्षेत्रमा रहेका चुरे वन मासिने खतरा बढेको छ । यहाँका वनबाट काठ, दाउरा र घाँस चोरी हुनुका साथै यसको संरक्षण गर्ने दक्ष जनशक्ति नहुँदा चुरे वन मासिने खतरा बढेको हो ।

सम्बन्धित सामग्री

महोत्तरीको वन क्षेत्र उजाड

महोत्तरी । फागुन मध्यदेखि नै महोत्तरीका वन क्षेत्रमा शुरू भएको डढेलो रोकिएको छैन । वन क्षेत्र पसेपछि जताततै डढेलोको खरानी र डढेका बुटाका ठुटा देखिन्छन् । लगातारको डढेलो र भर्खरका लाथ्रा (कलिला रुख) काटिने क्रम नरोकिँदा वनमा नयाँ बिरुवा देखिन छाडेका छन् । ‘डढेलोको पहिलो चपेटामा पर्ने नयाँ बुट्यान (भर्खरका बोट–लाथ्रा) हुन्, अनि रुख काट्न वन पस्नेको निशानामा पनि यिनै लाथ्रा पर्छन्,’ वन क्षेत्र नजीकको गौशाला–८ बेलगाछीका सामाजिक कार्यकर्ता मीन रहपालले भने, ‘वनमा नयाँ र भर्खरका लाथ्रा देखिन छाडेका छन् ।’ वन क्षेत्रमा धेरैजसो नयाँ बिरुवा साल (साखु) का रुख हुने भएकाले यिनै रुख तथा बिरुवा विनाश हुने गरेका छन् । यहाँका माटो र हावापानी सालका लागि उपयुक्त हुने भएकाले नयाँ उम्रने बिरुवामध्ये अधिकांश सालका हुन्छन् । डढेलो र लाथ्रा काटिने क्रम नियन्त्रण हुन नसक्दा विनाशको चपेटामा यिनै रुख तथा बिरुवा पर्ने गरेका गौशाला–१० बटौवाका लक्ष्मी महतोले बताए । बर्सेनि डढेलोले वन सखाप पार्दै आए पनि यसको रोकथाम र नियन्त्रणका लागि उपयुक्त पहलकदमी नभएका कारण यो क्रम नरोकिएको स्थानीयको भनाइ छ । ‘लाथ्रा काटिने यदाकदा समातिए पनि डढेलो लगाउने कहिल्यै फेला परेको सुनिँदैन । डढेलो नियन्त्रणका लागि के कानुनको अभाव छ ?’ बर्दिबास–३ गौरीडाँडाकी सामाजिक कार्यकर्ता डोमा शाही विष्टले भनिन् । वन क्षेत्रमा डढेलोको जोखिम बढेसँगै वन क्षेत्र नजीकैका बासिन्दा डढेलोबाट असुरक्षित हुँदै गएका छन् । बर्दिबास–३ गौरीडाँडाकी पुनिता शर्माले वनमा लागेको डढेलोले घरै भेट्ने हो कि भन्ने त्रास भइरहने बताइन् । ‘दुई साताअघि नेवारडाँडा कामीडाँडा सामुदायिक वनमा लागेको डढेलोले छिमेकी सुरेश बस्नेतको घर जलेर खरानी भयो, डढेलो सम्झ्यो कि राति सुत्नै सकिँदैन,’ उनले भने । वनमा डढेलोले भएका रुख जल्ने र काँचा लाथ्रा काटिने क्रम नरोकिएकाले महोत्तरीको वन क्षेत्र उजाड बन्दै गएको छ । पूर्व–पश्चिम राजमार्ग वारिपारि पर्ने वन क्षेत्रमा डढेलो लगाउने र भएका लाथ्रा काट्ने क्रम रोकिएको छैन । बर्दिबास र गौशाला नगरपालिकामा पर्ने राष्ट्रिय वन (सामुदायिक वन), साझेदारी वन, धार्मिक वन र सागरनाथ वन विकास परियोजनाका प्लटमा डढेलोका कारण रुख, बुटा खरानीमा परिणत भएको वन क्षेत्र नजीकका बासिन्दाको भनाइ छ । डढेलो लाउने र लाथ्रा काट्ने वन क्षेत्र नजीककै बासिन्दा हुने गरेका गौशाला–८ बेलगाछीका मञ्जु विश्वकर्माको भनाइ छ । ‘डढेलो लगाएपछि वनमा नयाँ घाँस पलाउने भएकाले वन क्षेत्र वरपरका पशुपालक किसानका गोठालाले डढेलो लाउँछन् भन्ने सुनिन्छ,’ विश्वकर्माले भने, ‘यो जघन्य अपराध भएकाले जसले यस्तो गरे पनि कडा कारबाही गरिनुपर्छ ।’ अहिलेसम्म डढेलो लाउने नसमातिएकाले कुनै कारबाही हुन नसक्दा डढेलो लाउने हौसिएको हुन सक्ने उनको अड्कल छ । मध्य फागुनदेखि नै वन क्षेत्रमा डढेलो लाग्ने गरेको छ । उक्त डढेलो नियन्त्रण हुन नसक्दा र वन क्षेत्रमा सुरक्षा गस्ती हिँड्न छाडेपछि लाथ्रा काटिने क्रम पनि बढेको स्थानीयको भनाइ छ । वन कार्यालयको उदासीनताले वन उजाड हुँदै गएको उनीहरू बताउँछन् । वर्षेनि फागुन लागेपछि डढेलो लगाउने क्रम बढ्ने गरेको थाहा भएर पनि वन कार्यालयले यसको नियन्त्रणमा सजगता नअपनाएको स्थानीयको गुनासो छ । ठूला रुख तस्करले काट्ने र ससाना बुट्यान वन क्षेत्र वरिपरिका बासिन्दाले काट्ने गरेका स्थानीय प्रेमध्वज लामाले बताए । उनले रुख कटान तथा डढेलो नियन्त्रण नहुने हो भने जिल्लाको वन क्षेत्र मासिने खतरा बढेको भन्दै चिन्ता व्यक्त गरे । जिल्लामा सामुदायिक (राष्ट्रिय वन), साझेदारी, धार्मिक र सागरनाथ वन विकास परियोजनाको गरी २४ हजार ४६५ हेक्टर क्षेत्रफलमा वन रहेको जिल्ला वन कार्यालय महोत्तरीले जनाएको छ । पछिल्ला केही वर्षयता वन क्षेत्रको सुरक्षामा कमी हुँदा वन क्षेत्र रुखविहीन बन्दै गएको वन तथा वातावरण क्षेत्रमा कार्यरत सामाजिक संस्था सामुदायिक विकास तथा पैरवी मञ्चका अध्यक्ष नागदेव यादवले बताए । डिभिजन वन कार्यालय महोत्तरीले पर्याप्त सुरक्षाकर्मी नहुँदा सबैक्षेत्रमा सघन गस्ती गराउन नसकिएको स्वीकार गरेको छ । वन क्षेत्रको सुरक्षा र व्यवस्थापनका साथै वन क्षेत्रको प्रवर्द्धनमा स्थानीय बासिन्दाको सहयोग भए सम्भव हुने वनसम्बद्ध कर्मचारी बताउँछन् । ‘हामीसँग भएको जनशक्ति सुरक्षाका लागि परिचालित गरेका छौंं, जुन पर्याप्त छैन । ‘डढेलो नियन्त्रणमा समुदायको प्रत्यक्ष पहलकदमी चाहिन्छ,’ डिभिजन वन कार्यालयका प्रमुख सन्तोषकुमार झाले भने । डढेलो नियन्त्रणका लागि वनसम्बद्ध कार्यालयसँगै वन क्षेत्र वरपर रहेका स्थानीय तह, सामाजिक संघसंस्था, किसान समूह र आम नागरिक समाजको चासो र पहलकदमी आवश्यक हुने उनको भनाइ छ । रासस

कोशी करिडोरले उजाड बन्दै गुराँसको राजधानी

धनुकटा । प्रदेश १ मा राष्ट्रिय गौरवको कोशी करिडोर विद्युत् प्रसारण लाइन विस्तारको क्रममा छ । निर्माणाधीन कोशी करिडोर २ सय २० केभीए विद्युत् प्रसारण लाइन विस्तार क्रममा २५ हजारभन्दा बढी रुख काटिने भएको छ । गुराँसको राजधानीका रूपमा परिचित तेह्रथुम, संखुवासभा र ताप्लेजुङको संगमस्थल तिनजुरे मिल्के जलजले (टीएमजे) को मध्य भागबाट विद्युत् प्रसारण लाइन विस्तार हुने भएपछि नकारात्मक प्रभाव पार्ने भन्दै यसको विकल्पको खोज्न स्थानीयले माग गरेका छन् । टीएमजेको वन क्षेत्रबाट ठूलो संख्यामा रुख काटिँदा पर्यटन र पर्यावरण क्षेत्रमा नकारात्मक असर पर्ने सरोकारवालाको चिन्ता छ । गुराँस र हरियो वनका कारण फस्टाएको यहाँको पर्यटन व्यवसाय रुख कटानपछि खस्किने आशंका स्थानीयको छ । विद्युत् विस्तार गर्दा वन क्षेत्र जोगाएर लैजान सकिने अवस्था हुँदाहुँदै पनि आयोजना कार्यालयले घना वन क्षेत्र नै फँडानी गरेर विद्युत् विस्तारको काम सुरु गरेको छ । पूर्वी पहाडी जिल्लाको हालसम्मकै ठुलो आयोजना मानिएको कोशी करिडोर २ सय २० केभिए विद्युत् प्रसारण लाइनको काम धमाधम भइरहेको छ । आयोजनाले धनकुटा र तेह्रथुममा पोल गाड्ने तथा तार जोड्ने कार्य गरिरहेको छ । विद्युत् लाइन विस्तार गुराँसको राजधानी तिनजुरे मिल्के जलजले क्षेत्रको मध्य भागबाट हुने भएकाले यहाँका हजारौं रुख काटिँदा यस क्षेत्रकोे जैविक विविधता नष्ट भएर पर्यटकीय आकर्षण खस्कने लालीगुराँस नगरपालिका–१ वसन्तपुरका मिङ्मा शेर्पाले बताए । गुराँस हेर्न देश–विदेशका पर्यटक आउने गरेका र वन फँडानीले पर्यटक आगमन कम हुने उनको आशंका छ । अन्यत्रबाट ठाउँ हुँदाहुँदै जंगल बीचबीचबाट फँडानी गरेर लगेका कारणले पर्यटक कमै मात्रामा आउन थालेको उनले दाबी गरे । आयोजना सञ्चालनका लागि ०७३ मा प्रारम्भिक वातावर परीक्षण गरिएको थियो । लाइन विस्तारका क्रममा तिनजुरेका ६ वटा सामुदायिक वनका गुराँससहित २५ हजार रुख कटान हुने भएका हुन् । आयोजनाले पहिलो पटक सर्वे गर्दा तिनजुरेको डाँडैडाँडा लाइन विस्तार गर्ने भनेकाले सहमति दिइएको धर्मदेवी नगरपालिका–१ संखुवासभाका तिनजुरे हात्तिसार सामुदायिक वन उपभोक्ता समूह अध्यक्ष डम्बरबहादुर बुढाथोकीले बताए । दोस्रो पटक सर्भे गरेर जहाँ घना जंगल छ, त्यहीबाटै लैजान लागिएको बुढाथोकीको भनाइ छ ।  दोस्रो पटक गरेको सर्भेमा आयोजनाले कसैको सहमति नलिएको उनको दाबी छ । ‘जंगल मासिएपछि मुलुककै महत्वपूर्ण पर्यटकीय स्थल गुम्ने, जीवजन्तु मासिने, पानीका मुहान सुक्ने सम्भावना देखियो,’ बुढाथोकीले भने, ‘पछि गएर जलवायु र जैविक विविधतालाई कोशी करिडोरले ठूलो असर पुर्‍याउने देखियो ।’ पहिले सामूदायिक वनले तिनजुरेको बाटो भनेर अर्कै सर्भेमा सहमति गरेको बुढाथोकीको दाबी छ । गुराँससहितको रुख कटानले नमुना सहर वसन्तपुर बजारमा खानेपानीको संकट हुने खतरा बढेको लालीगुराँस नगरपालिका प्रमुख अर्जुन माबोहाङले जानकारी दिए । वनजंगल जोगाएर लग्ने गरी विकल्प खोज्न पटक–पटक आग्रह गरिएको उनले बताए । वसन्तपुरको टुटे हुँदै ताप्लेजुङको ढुंगेसाँघुसम्मको ३४ किलोमिटर लामो प्रसारण लाइन विस्तार गर्दा तेह्रथुमका ६ वटा सामुदायिक वन क्षेत्रका रुख कटान हुनेछन् । घना जंगल काटेर खाली हुँदा वन्यजन्तुको वासस्थानमा समेत असर पर्ने देखिएको छ । सब–डिभिजन वन कार्यालय वसन्तपुरका सहायक वन अधिकृत सोमेश्वरकुमार दासले राष्ट्रिय गौरवको आयोजना भएकाले यसको वातावरणीय प्रभाव मूल्यांकन गरिएको बताए । तिनजुरेका गुराँससहितका रुख मन्त्रिपरिषद्को निर्णयबाटै कटान गरिएको उनको दाबी छ । आयोजनाले कटान गरिएको एक रुख बराबर २५ बिरुवा रोप्ने गरी ५ वर्षभित्र प्रभावित क्षेत्रमा हुर्काउने सहमति भएको दासले बताए । रुख कटान गरिएकामा   वातावरण र पर्यावरणमा असर पर्ने देखिए पनि पछि नयाँ बिरुवा हुर्किएपछि त्यस्तो नहुने उनको धारणा छ । विद्युत् जनजीवनसँग जोडिएको हिसाबले पनि यसलाई प्राथमिकतामा राखिएको दासले बताए । ताप्लेजुङको तमोर र मेवा खोलामा उत्पादन भएको र हुने चरणमा रहेको १ हजार मेगावाट क्षमताको कोशी करिडोर तेह्रथुमको वसन्तपुर सब–स्टेसन हुँदै सुनसरीको इनरुवामा रहेको केन्द्रीय विद्युत प्रसारण लाइनमा जोड्ने गरी काम भइरहेको छ । प्रसारण आयोजनाले वन क्षेत्रका हुर्किएका र हुर्किने चरणमा रहेका करिब २५ हजार रुख कटान गर्दा हरीयो वन उजाड हुने देखिएको हो ।