कोशी करिडोरले उजाड बन्दै गुराँसको राजधानी

धनुकटा । प्रदेश १ मा राष्ट्रिय गौरवको कोशी करिडोर विद्युत् प्रसारण लाइन विस्तारको क्रममा छ । निर्माणाधीन कोशी करिडोर २ सय २० केभीए विद्युत् प्रसारण लाइन विस्तार क्रममा २५ हजारभन्दा बढी रुख काटिने भएको छ । गुराँसको राजधानीका रूपमा परिचित तेह्रथुम, संखुवासभा र ताप्लेजुङको संगमस्थल तिनजुरे मिल्के जलजले (टीएमजे) को मध्य भागबाट विद्युत् प्रसारण लाइन विस्तार हुने भएपछि नकारात्मक प्रभाव पार्ने भन्दै यसको विकल्पको खोज्न स्थानीयले माग गरेका छन् । टीएमजेको वन क्षेत्रबाट ठूलो संख्यामा रुख काटिँदा पर्यटन र पर्यावरण क्षेत्रमा नकारात्मक असर पर्ने सरोकारवालाको चिन्ता छ । गुराँस र हरियो वनका कारण फस्टाएको यहाँको पर्यटन व्यवसाय रुख कटानपछि खस्किने आशंका स्थानीयको छ । विद्युत् विस्तार गर्दा वन क्षेत्र जोगाएर लैजान सकिने अवस्था हुँदाहुँदै पनि आयोजना कार्यालयले घना वन क्षेत्र नै फँडानी गरेर विद्युत् विस्तारको काम सुरु गरेको छ । पूर्वी पहाडी जिल्लाको हालसम्मकै ठुलो आयोजना मानिएको कोशी करिडोर २ सय २० केभिए विद्युत् प्रसारण लाइनको काम धमाधम भइरहेको छ । आयोजनाले धनकुटा र तेह्रथुममा पोल गाड्ने तथा तार जोड्ने कार्य गरिरहेको छ । विद्युत् लाइन विस्तार गुराँसको राजधानी तिनजुरे मिल्के जलजले क्षेत्रको मध्य भागबाट हुने भएकाले यहाँका हजारौं रुख काटिँदा यस क्षेत्रकोे जैविक विविधता नष्ट भएर पर्यटकीय आकर्षण खस्कने लालीगुराँस नगरपालिका–१ वसन्तपुरका मिङ्मा शेर्पाले बताए । गुराँस हेर्न देश–विदेशका पर्यटक आउने गरेका र वन फँडानीले पर्यटक आगमन कम हुने उनको आशंका छ । अन्यत्रबाट ठाउँ हुँदाहुँदै जंगल बीचबीचबाट फँडानी गरेर लगेका कारणले पर्यटक कमै मात्रामा आउन थालेको उनले दाबी गरे । आयोजना सञ्चालनका लागि ०७३ मा प्रारम्भिक वातावर परीक्षण गरिएको थियो । लाइन विस्तारका क्रममा तिनजुरेका ६ वटा सामुदायिक वनका गुराँससहित २५ हजार रुख कटान हुने भएका हुन् । आयोजनाले पहिलो पटक सर्वे गर्दा तिनजुरेको डाँडैडाँडा लाइन विस्तार गर्ने भनेकाले सहमति दिइएको धर्मदेवी नगरपालिका–१ संखुवासभाका तिनजुरे हात्तिसार सामुदायिक वन उपभोक्ता समूह अध्यक्ष डम्बरबहादुर बुढाथोकीले बताए । दोस्रो पटक सर्भे गरेर जहाँ घना जंगल छ, त्यहीबाटै लैजान लागिएको बुढाथोकीको भनाइ छ ।  दोस्रो पटक गरेको सर्भेमा आयोजनाले कसैको सहमति नलिएको उनको दाबी छ । ‘जंगल मासिएपछि मुलुककै महत्वपूर्ण पर्यटकीय स्थल गुम्ने, जीवजन्तु मासिने, पानीका मुहान सुक्ने सम्भावना देखियो,’ बुढाथोकीले भने, ‘पछि गएर जलवायु र जैविक विविधतालाई कोशी करिडोरले ठूलो असर पुर्‍याउने देखियो ।’ पहिले सामूदायिक वनले तिनजुरेको बाटो भनेर अर्कै सर्भेमा सहमति गरेको बुढाथोकीको दाबी छ । गुराँससहितको रुख कटानले नमुना सहर वसन्तपुर बजारमा खानेपानीको संकट हुने खतरा बढेको लालीगुराँस नगरपालिका प्रमुख अर्जुन माबोहाङले जानकारी दिए । वनजंगल जोगाएर लग्ने गरी विकल्प खोज्न पटक–पटक आग्रह गरिएको उनले बताए । वसन्तपुरको टुटे हुँदै ताप्लेजुङको ढुंगेसाँघुसम्मको ३४ किलोमिटर लामो प्रसारण लाइन विस्तार गर्दा तेह्रथुमका ६ वटा सामुदायिक वन क्षेत्रका रुख कटान हुनेछन् । घना जंगल काटेर खाली हुँदा वन्यजन्तुको वासस्थानमा समेत असर पर्ने देखिएको छ । सब–डिभिजन वन कार्यालय वसन्तपुरका सहायक वन अधिकृत सोमेश्वरकुमार दासले राष्ट्रिय गौरवको आयोजना भएकाले यसको वातावरणीय प्रभाव मूल्यांकन गरिएको बताए । तिनजुरेका गुराँससहितका रुख मन्त्रिपरिषद्को निर्णयबाटै कटान गरिएको उनको दाबी छ । आयोजनाले कटान गरिएको एक रुख बराबर २५ बिरुवा रोप्ने गरी ५ वर्षभित्र प्रभावित क्षेत्रमा हुर्काउने सहमति भएको दासले बताए । रुख कटान गरिएकामा   वातावरण र पर्यावरणमा असर पर्ने देखिए पनि पछि नयाँ बिरुवा हुर्किएपछि त्यस्तो नहुने उनको धारणा छ । विद्युत् जनजीवनसँग जोडिएको हिसाबले पनि यसलाई प्राथमिकतामा राखिएको दासले बताए । ताप्लेजुङको तमोर र मेवा खोलामा उत्पादन भएको र हुने चरणमा रहेको १ हजार मेगावाट क्षमताको कोशी करिडोर तेह्रथुमको वसन्तपुर सब–स्टेसन हुँदै सुनसरीको इनरुवामा रहेको केन्द्रीय विद्युत प्रसारण लाइनमा जोड्ने गरी काम भइरहेको छ । प्रसारण आयोजनाले वन क्षेत्रका हुर्किएका र हुर्किने चरणमा रहेका करिब २५ हजार रुख कटान गर्दा हरीयो वन उजाड हुने देखिएको हो ।  

सम्बन्धित सामग्री

टिएमजे : जहाँ पाइन्छ २८ प्रजातिका गुराँस

धनकुटा : त्यतिकै प्राकृतिरूपमा सुन्दर। त्यही ठाउँमा ढकमक्क फुल देख्दा कसलाई आनन्द अनुभूति नहोला! यस्तै अनुभूति हुन्छ टिएमजे (तीनजुरे‚ मिल्के र जलजले) पुग्दा।टिएमजे तेह्रथुम, संखुवासभा र ताप्लेजुङ तीन जिल्लाको संगमस्थल हो। यहाँ एउटै डाँडामा बसेर २८ प्रजातिका गुराँस फुले हेर्न पाइन्छ। त्यसैले टिएमजेलाई ‘गुराँसको राजधानी’ पनि भनिन्छ। विश्वमा ३२ प्रजातिका गुराँस पाइन्छ।फागुनदेखि वैशाखसम्म गुराँस फुल्ने मुख्य सिजन हो। गुराँस फुल्ने सिजन सुरू भएसँगै टिएमजेको प्रवेशद्वार रंगिन बन्दै ग

कोरोना कहर बढ्दै : सुनसान बन्दै पर्यटकीय स्थल

सुनसरी । कोरोनाको तेस्रो लहरको संक्रमण तीव्र बढ्दै गएपछि प्रशासनले भीडभाड हुने स्थानमा रोक लगाएको छ । यसले प्रदेश १ का पर्यटकीय स्थल पुनः सुनसान बन्दै गएका छन् । केही महीना अघिदेखि चलायमान देखिन थालेका पर्यटकीय क्षेत्र पछिल्लो समय ओमिक्रोन भेरियन्टसहितको संक्रमण बढ्दै गएपछि सुनसान हुन थालेका हुन् । कोरोना महामारीको सन्त्रास बढ्दै गएपछि सरकारले गरेको कडाइका कारण प्रदेशका पर्यटन गन्तव्यहरूमा अहिले आन्तरिक तथा बाह्य पर्यटक आगमन ठप्प भएको छ । सुनसरी, मोरङ, तेह्रथुम, धनकुटाका मुख्य पर्यटकीय गन्तव्यमा पर्यटक आगमन ठप्पप्रायः हुँदा सम्बद्ध व्यवसायी चिन्तित छन् । हरेक समय पर्यटकको भरिभराउ हुने प्रदेश १ का पर्यटकीय स्थल धनकुटाको भेडेटार, हिले, पाख्रिबास, संखुवासभा तेह्रथुम र ताप्लेजुङको संगम स्थल गुराँसको राजधानी तीनजुरे–मिल्के–जलजले (टीएमजे), सुनसरी र उदयपुरको सिमानामा पर्ने कोशीटप्पु, मोरङको बेतना सिमसार क्षेत्र, सुनसरीको तालतलैया, सुनसरीकै वराह क्षेत्र–विजयपुर र इलामको कन्याममा अहिले पर्यटक आगमन ठप्प छ । होटल व्यवसाय बन्द भएपछि दैनिक लाखौंको आम्दानी गुमेको व्यवसायी बताउँछन् । कोरोनाको पहिलो र दोस्रो लहरका कारण पर्यटक व्यवसायमा ठूलो धक्का लागेको र अहिले पुनः तेस्रो  लहरले थप मारमा परेको उनीहरूको गुनासो छ । सरकारले होटल व्यवसाय गर्नेलाई कम ब्याजदरमा ऋण दिने व्यवस्था गरेअनुसार धेरै होटल खोलिएका थिए । धनकुटा होटल एसोसिएसनमा १३० होटल आबद्ध छन् । सामान्य अवस्थामा यहाँका होटलमा दैनिक ४० लाखभन्दा बढीको कारोबार हुने गरेको छ । सिजनमा धनकुटाको भेडेटारमा दैनिक करिब ५ हजार आन्तरिक तथा बाह्य पर्यटक घुम्न आएको संघले बताएको छ । कोरोनाका कारण नाम्जेमा सञ्चालित घरबास समेत बन्द भएको छ । नाम्जेमा सञ्चालित होमस्टे गतवर्ष नेपालकै उत्कृष्ट भएर पुरस्कृत भएको थियो । कोरोनाकै कारणले संखुवासभा, तेह्रथुम र ताप्लेजुङको संगमस्थलमा तिनजुरे मिल्के जलजले, सुनसरी उदयपुरको सिमानामा पर्ने कोशीटप्पु, मोरङको बेतना सिमसार क्षेत्र, सुनसरीको तालतलैया, वराह क्षेत्र र इलाम कन्याम पनि सुनसान भएका छन् । इटहरीको पर्यटकीय स्थल तालतलैयामा एक सातायता पर्यटक घटेका छन् । त्यस्तै इटहरीकै इपिल्याण्ड वाटरपार्कमा पनि पर्यटक आगमन घटेको छ । सुनसरीमा समेत जोखिम बढेको भन्दै सावधानी अपनाउन प्रशासनले अनुरोध गर्दै आएको छ । भीडभाड हुने क्षेत्रहरू सञ्चालन नगर्न सूचना जारी गरेलगत्तै पर्यटकीय क्षेत्रमा पर्यटकीय चहलपहलमा कमी आएको छ । बन्दाबन्दीका कारण गतवर्षको ९ महीना पर्यटन व्यवसाय प्रभावित भएकोमा अब पनि लकडाउन भए धराशयी हुने व्यवसायी बताउँछन् । स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारले पर्यटन क्षेत्रको पुनरुत्थानका लागि राहत प्याकेज नल्याएसम्म लकडाउनको कल्पना गर्न नसकिने उनीहरूको भनाइ छ । सरकारले संक्रमण फैलन नदिन उच्च स्वास्थ्य सुरक्षा अपनाउन पुस २७ गते निर्देशन जारी गरेसँगै पर्यटकीय क्षेत्रमा चहलपहल घट्न थालेको हो । कोरोना कहर र सरकारको निर्देशनका कारण तालतलैया क्षेत्रमा पर्यटकीय गतिविधि ठप्पप्रायः बनेको तालतलैया विकास तथा संरक्षण समितिका अध्यक्ष लक्ष्मीप्रसाद खनाल बताउँछन् ।