माघ २४, काठमाडौं । एक दिनको अन्तरालमा वाणिज्य बैंकहरूमा ४ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । माघ २० गतेको तुलनामा २१ गते वाणिज्य बैंकहरूमा ४ अर्ब रुपैयाँ निक्षेप थपिएको हो ।
माघ २० गतेसम्म वाणिज्य बैंकहरुको निक्षेप संकलन ४३ खर्ब ७ अर्ब रुपैयाँ थियो । एक दिनपछि निक्षेप संकलन बढेर ४३ खर्ब ११ अर्ब रुपैयाँ पुगेको हो । वाणिज्य बैंकको निक्षेप बढेसँगै सीडी रेसियोमा सुधार देखिएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार माघ २० गतेको तुलनामा २१ गते सीडी रेसियो शून्य दशमलव शून्य ९ विन्दुले घटेको छ । २० गते सीडी रेसियो ९० दशमलव ३९ प्रतिशत रहेको थियो । एक दिनपछि सीडी रेसियोमा सुधार भई ९० दशमलव ३० प्रतिशत कायम भएको छ ।
वाणिज्य बैंकहरूले माघ २१ गतेसम्म ४१ खर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।
सो अवधिमा बैक तथा वित्तीय संस्थाको निक्षेप संकलन ४८ खर्ब ७३ अर्ब रुपैयाँ पुुगेको छ भने ४६ खर्ब ७१ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ । कर्जा प्रवाह भने स्थिर देखिएको छ ।