राष्ट्रिय वाणिज्य बैंकको खुद नाफा ५ अर्ब २१ करोड

नेपाल सरकारको स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आ.व.२०७८÷७९ को चौथो त्रैमाससम्मको वित्तीय विवरणहरु प्रकाशित गरेको छ । बैंकले यस अवधिमा रु. ५ अर्ब २१ करोड खुद मुनाफा आर्जन गरेको छ । गत आ.व. को सोही अवधिमा बैंकको खुद मुनाफा ३ अर्ब ७९ करोड रुपैंया रहेको थियो । यस अवधिमा बैंकको कर्जा लगानी तथा गुणस्तरमा उल्लेखनीय सुधार भई ब्याज आम्दानी बढेकाले खुद मुनाफा बढेको हो । आ.व. २०७८÷७९ को बैंकको खुद ब्याज आम्दानी रु. ९ अर्ब ६७ करोड (गत वर्ष रु. ८ अर्ब २४ करोड), कुल संचालन आम्दानी रु. ११ अर्ब २७ करोड (गत वर्ष रु. ९ अर्ब ७६ करोड), संचालन नाफा रु. ७ अर्ब १ करोड (गत वर्ष रु. ५ अर्ब ९ करोड), कुल समग्र आम्दानी रु. ३ अर्ब ८ करोड (गत वर्ष रु. ६ अर्ब ३७ करोड) तथा वितरणयोग्य मुनाफा रु. ३ अर्ब ३ करोड  रहेको छ । २०७९ आषाढ मसान्तमा बैंकको ग्राहक निक्षेप रु.२ खर्ब ५९ अर्ब र  खुद कर्जा तथा सापट रु. २ खर्ब २९ अर्ब पुगेको छ । अघिल्लो वर्षको सोही मितिको तुलनामा बैंकको निक्षेपमा १.८९ प्रतिशतले कमी र कर्जा तथा सापटमा १८ प्रतिशतले वृद्धि भएको छ । आ.व. २०७८÷७९ मा बैैंंकको शेयरधनी कोष रु. ४ अर्ब ८१ करोडले वृद्धि भई रु. ३३ अर्ब ४८ करोड र कुल सम्पत्ति रु.१९ अर्ब रुपैंयाले वृद्धि भई रु. ३ खर्ब २९ अर्ब पुगेको छ ।२०७९ आषाढ मसान्तसम्ममा पुँजी कोष अनुपात १३.९७ प्रतिशत, कर्जा र निक्षेप अनुपात८५.८९ प्रतिशत, आधार दर ७.६३ प्रतिशत, ब्याजदर अन्तर  ४.२९ प्रतिशत, कोषको लागत दर६.०१ प्रतिशत तथा प्रतिशेयर आम्दानी रु.३४.९० रहेको छ । यस अवधिमा बैंकको निष्क्रिय कर्जा अनुपातमा उल्लेखनीय सुधार भई २ प्रतिशतमा झरेको बैंकले जनाएको छ ।आ.व.२०७८÷७९ को चौथो त्रैमाससम्मको समिक्षा अवधिमा बैंकले खुद मुनाफा, कर्जा, शेयरधनी कोष, कर्जाको गुणस्तर लगायत समग्र व्यावसायिक नतिजाहरुमा उत्साहजनक प्रगति हासिल गर्न सफल भएको छ । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको सूचकाङ्कहरु परिपालना गर्न तथा प्रमुख परिसूचकहरुमा सुविधाजनक स्थिति कायम गर्न सफल भएको बैंकले जनाएको छ । 

सम्बन्धित सामग्री

बैंकिङ क्षेत्रमा रिकभरीको संकेत

काठमाडौं । कोराना महामारीका कारण प्रभावित भएको बैंकिङ क्षेत्रमा पुनरुत्थान (रिकभरी) को संकेत देखिन थालेको छ । कोरोना भाइरस नियन्त्रण गर्न २०७६ चैतयता पटकपटक लगाइएको बन्दाबन्दी तथा निषेधाज्ञाले बैंकिङ क्षेत्र पनि प्रभावित भएको थियो । तर, अहिले भने बैंकिङ क्षेत्र पुनरुत्थानको बाटोमा गएको छ । वाणिज्य बैंकहरूले सोमवारसम्म सार्वजनिक गरेको चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । वित्तीय विवरणअनुसार समीक्षा अवधिमा बैंकहरूको नाफा २४ प्रतिशतले वृद्धि भएको छ । चालू आवको पहिलो त्रैमासमा वाणिज्य बैंकहरूले कुल रू. १८ अर्ब ११ करोड ७३ लाख खुद नाफा कमाएका छन्, जुन गत आवको सोही अवधिको तुलनामा ३ अर्ब ५१ करोड ३१ लाखले बढी हो । गत आवको समीक्षा अवधिमा बैंकहरूले रू. १४ अर्ब ६० करोड खुद नाफा कमाएका थिए । गत आवको सोही अवधिमा वाणिज्य बैंकहरूको खुद नाफा औसतमा ८ दशमलव ४ प्रतिशतले घटेको थियो । तर, चालू आवको समीक्षा अवधिमा बैंकहरूको नाफा दोहोरो अंकले नै बढेको छ । यसपालि कोरबैंकिङ व्यवसायबाट नै आम्दानी हुन थालेको माछापुच्छ्रे बैंकका सीईओ सन्तोष कोइराला बताउँछन् । ‘गत आवसम्म बैंकहरूको नियमित आम्दानी त्यति थिएन । शेयर कारोबारबाट आम्दानी हुने गरेको थियो । तर, अहिले भने नियमित आम्दानीबाट नै नाफा भएको छ,’ उनले भने । अहिले भइरहेको तरलता अभावको प्रभाव भने दोस्रो त्रैमासिकमा देखिन सक्ने उनको भनाइ छ । यसपालि नाफा कमाउने मामलामा एनआईसी एशिया बैंक अगाडि देखिएको छ । समीक्षा अवधिमा एनआईसी एशियाले रू. १ अर्ब १८ करोड खुद नाफा कमाएको छ । दोस्रो स्थानमा रहेको नबिल बैंकले रू. १ अर्ब ११ करोड २२ लाख ३४ हजार र तेस्रो स्थानमा रहेको ग्लोबल आईएमई बैंकले रू. १ अर्ब ११ करोड २२ लाख २४ हजार खुद नाफा कमाएका छन् । यी बैंकहरूसहित ५ बैंकले अर्बभन्दा बढी नाफा कमाएका छन् । तिनमा राष्ट्रिय वाणिज्य बैंक र एनएमबी बैंक रहेका छन् । ती बैंकहरूले क्रमशः १ अर्ब ५ करोड र १ अर्ब ४ करोड रुपैयाँ नाफा कमाएका छन् । अन्य बैंकहरूको नाफा १ अर्बभन्दा तल रहेको सम्बद्ध बैंकहरूको वित्तीय विवरणमा देखिन्छ । ४ बैंकको नाफा भने घटेको छ । तिनमा प्राइम कमर्शियल बैंकको ३ दशमलव ९ प्रतिशत, प्रभु बैंकको २५ दशमलव १४ प्रतिशत, कुमारी बैंकको १० दशमलव १९ प्रतिशत र नेपाल बंगलादेश बैंकको २७ दशमलव ९३ प्रतिशतले नाफा घटेको छ । समीक्षा अवधिमा सिभिल बैंकको नाफामा उच्च वृद्धि देखिएको छ । उक्त बैंकको नाफा २०१ प्रतिशतले बढेको देखिन्छ । गत आवको समीक्षा अवधिमा ९ करोड ६६ लाख खुद नाफा कमाएको यस बैंकले अहिले रू. २९ करोड १८ लाख खुद नाफा कमाएको छ ।

शेयर विक्रीले बढायो वाणिज्य बैंकहरूको नाफा

काठमाडौं । गत आर्थिक वर्ष (आव) २०७६/७७ वाणिज्य बैंकहरूको नाफामा उल्लेख्य सुधार तथा वृद्धि देखिएको छ । गत आवमा वाणिज्य बैंकहरूको नाफा औसतमा २० दशमलव ०२ प्रतिशतले बढेको हो । हाल नेपालमा २७ वाणिज्य बैंक सञ्चालनमा छन् । सोमवारसम्म उनीहरूले सार्वजनिक गरेको गत आवको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो । अघिल्लो आव २०७६/७७ मा भने वाणिज्य बैंकहरूको खुद नाफा औसतमा १२ प्रतिशतले घटेको थियो । तथ्यांकअनुसार गत आवमा वाणिज्य बैंकहरूले कुल रू. ६३ अर्ब ३७ करोड ३८ लाख ३६ हजार खुद नाफा कमाएका छन्, जुन अघिल्लो आवको तुलनामा १० अर्ब ५७ करोड ३२ लाखले बढी हो । अघिल्लो आव २०७६/७७ मा बैंकहरूले रू. ५२ अर्ब ८० करोड ६ लाख खुद नाफा कमाएका थिए । त्यसअघि अर्थात् आव २०७५/७६ मा भने बैंकहरूले ६१ अर्ब ६९ करोड रुपैयाँ खुद नाफा कमाएको देखिन्छ । अघिल्लो आवमा कोरोना महामारीका कारण बैंकहरूको नाफा नमज्जाले प्रभावित भएको थियो । प्रवाहित कर्जा नउठ्दा र नयाँ व्यवसाय पनि विस्तार हुन नसक्दा व्यवसाय नमज्जाले प्रभावित भएको थियो । तर, गत आवमा भने बैंकहरूको नाफामा ह्वात्तै बढेको छ । बैंकहरूले व्यावसायिक गतिविधिबाट नै त्यस बराबरको नाफा कमाएका भने होइनन् । नाफा बढ्नुको पछाडि राष्ट्र बैंकको एक निर्देशन कारण रहेको छ । गत जेठमा राष्ट्र बैंकले एक निर्देशन जारी गर्दै वाणिज्य बैंकहरूलाई पनि लघुवित्त वित्तीय संस्थाहरूको शेयर खरीद गर्न रोकेको थियो । साथै, खरिीद गरिसकेको शेयर पनि आगामी पुस मसान्तभित्र विक्री गर्नुपर्ने राष्ट्र बैंकको निर्देशन थियो । वाणिज्य बैंकहरूले लघुवित्तको शेयर व्यापक मात्रामा खरीद गर्दै आएका थिए । तर, राष्ट्र बैंकको निर्देशनपछि बैंकहरूले धमाधम त्यस्तो शेयर विक्री गर्दै आएका छन् । त्यसको असरले नै बैंकहरूको नाफा बढेको बैंकरहरू बताउँछन् । साथै, व्यावसायिक गतिवधि पनि बढ्दो अवस्थामा रहेकाले नाफा बढेको बताइएको छ । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले नाफा बढ्नुको मुख्य कारण लघुवित्त कम्पनीको शेयर विक्री गर्नु रहेको बताए । ‘हाम्रो बैंकको हकमा नाफा बढ्नुको मुख्य कारण यही हो । राष्ट्र बैंकको निर्देशनअनुसार त्यस्तो शेयर विक्री गर्नुपर्ने भएकाले समग्र बैंकिङ क्षेत्रको नाफा बढको देखिन्छ,’ उनले भने, ‘साथै, यस अवधिमा व्यावसायिक वृद्धि पनि राम्रो नै भएको छ ।’ गत आवमा नाफा कमाउने मामलामा अन्य बैंकलाई पछि पार्दै नबिल बैंक अग्र स्थानमा देखिएको छ । नबिल बैंकले समीक्षा वर्षमा रू. ४ अर्ब ५० करोड ४४ लाख खुद नाफा कमाएको छ । नाफा कमाउने मामिलामा सबैभन्दा बढी चुक्ता पूँजी भएको ग्लोबल आईएमई बैंक भने दोस्रो नम्बरमा रहेको छ । उक्त बैंकले रू. ४ अर्ब १२ करोड ६५ लाख खुद नाफा कमाएको छ । नाफा कमाउने मामिलामा अघिल्लो आवसम्म पहिलो नम्बरमा रहेको राष्ट्रिय वाणिज्य बैंक यसपटक भने तेस्रो स्थानमा पुगेको छ । बैंकले रू. ३ अर्ब ७९ करोड ५३ लाख नाफा कमाएको छ । सिभिल बैंक यसपटक पनि नाफा कमाउने मामलामा अन्तिम नम्बरमा रहेको छ । बैंकले ५५ करोड ९३ लाख ६८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । विश्वव्यापी रूपमा फैलिएको कोरोना नियन्त्रण गर्न पहिलोपटक २०७६ चैत ११ गतेबाट २०७७ असारसम्म नै पूर्ण बन्दाबन्दी लगाइएको थियो । नमज्जाले प्रभावित भए । त्यो अवस्थामा कोरोना प्रभावित क्षेत्रमा प्रवाह भएको कर्जाको सावाँब्याज उठ्न सकेन । कर्जा पुनर्तालिकीकरण, सावाँब्याज भुक्तानीको म्याद थपजस्ता नीतिले अघिल्लो आवमा बैंकहरूको नाफा नमज्जाले प्रभावित भएको थियो । तर, चालू आवमा बैंकिङ गतिविधि बढ्दै गयो । त्यसको असरले नै नाफा बढेको बताइएको छ । शेयर कारोबार पनि बैंकहरूको नाफा बढ्न गएको बताइएको छ । यद्यपि गत वैशाख १६ गतेदेखि गरेको निषेधाज्ञा कारण बैंकको व्यवसाय प्रभावित भएको थियो ।

आयल निगमले कमायो सबैभन्दा बढी नाफा

काठमाडौं। आयल निगमले नाफामा सबै सरकारी संस्थानलाई उछिनेको छ। गत वर्ष २०७७ मा १२ अर्ब ९१ करोड रुपैयाँ खुद नाफा कमाएको हो। नाफा कमाउने सरकारी संस्थानको दोस्रो स्थानमा रहेको नेपाल विद्युत प्राधिकरणले ११ अर्ब ३ करोड रुपैयाँ कमाएको छ। यसैगरी, तेस्रोमा नेपाल टेलिकम, चौथोमा राष्ट्रिय वाणिज्य बैंक र पाँचौंमा कृषि विकास बैंक रहेका छन्।