माघ २७, काठमाडौं । बिहीवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयरमूल्य समायोजन गरेको छ ।
नेप्सेले कम्पनीले निष्कासन गर्न लागेको ४० प्रतिशत हकप्रद शेयर प्रयोजनका लागि मूल्य समायोजन गरेको हो । कम्पनीले बिहीवार कायम अन्तिम शेयरमूल्य रू. १ हजार १०७ को आधारमा ४० प्रतिशत हकप्रद शेयरपछिको मूल्य रू. ८१९ दशमलव २९ तोकेको हो ।
आइतवार समायोजन पछिको मूल्यको आधारमा कम्पनीको शेयर कारोबार खुला हुनेछ । कम्पनीले हकप्रद शेयर प्रयोजनका लागि फागुन १ गते (एक दिन) बुक क्लोजको मिति तोकेकाले माघ २७ गतेसम्म कायम शेयरधनीहरुले मात्र हकप्रद शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीले ४० प्रतिशत आर्थात् १०:४ अनुपातमा हकप्रद शेयर निष्कासन गर्नका लागि बुक क्लोज मिति तय गरेको हो । कम्पनीले रू. १०० अंकित दरको ४६ लाख ३० हजार ३४४ कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ ।
विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । हालसम्म कम्पनीले हकप्रद शेयर निष्कासनको मिति भने तय गरेको छैन ।