सरकारले बन्दाबन्दी गरेको दुई महिना बिते पनि अहिलेसम्म जटिल प्रकृतिका रोगका र सामान्य समस्याका औषधिको अभाव देखिएको छैन । केही महिनाका लागि औषधि मौज्दात रहेको र अहिले नियमित उत्पादन भइरहेकाले अभाव नहुने देखिएको छ ।
औषधि व्यवस्था विभागले बन्दाबन्दी शुरु हुनासाथ पाँच ६ महिनाका लागि औषधि रहेको जनाएको थियो । त्यही आधारमा बन्दाबन्दी आज दुई महिना बितेकाले अझै तीन चार महिनाका लागि औषधि बाँकी रहेको औषधि व्यवस्था विभागले जनाएको छ । त्यसो त भारतबाट आउने औषधि पनि आइरहेको छ भने स्वदेशी उत्पादकले पनि उत्पादन गरिरहेका छन् । विभागले अहिले कति औषधि मौजुदा अवस्थामा छ भनी अध्ययन गर्न लागेको सूचना अधिकारी सन्तोष केसीले बताउनुभयो । उहाँले भन्नुभयो, “महिना नै तोकेर यति समयका लागि औषधि छ भन्न नसकिए पनि अझै केही महिना समस्या नहुने देखिएको छ ।”