म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रो लिमिटेडले म्याग्दीमा निर्माण गर्न लागेको राहुघाट जलविद्युत् आयोजनाको इलेक्ट्रोमेकानिकल ठेकेदारले काम शुरू गरेको छ । सम्झौता भएको दुई वर्षपछि भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल)ले काम थालेको हो । ४० मेगावाट क्षमताको राहुघाटको २०७६ कात्तिकमा एक करोड दुई लाख ९३ हजार २२.३५ अमेरिकी डलरमा इलेक्ट्रोमेकानिकल ठेक्काको सम्झौता भएको थियो ।
आयोजना प्रमुख राजबहादुर विष्टले भेलले विद्युत्गृहमा अर्थिङ गरेर आयोजनास्थलमा काम शुरू गरिएको जानकारी दिए । ‘सिभिल ठेकेदारले विद्युत्गृहको पूर्वाधार बनाउन थालेसँगै इलेक्ट्रोमेकानिकल ठेकेदार पनि आयोजनास्थलमा परिचालित भएको छ,’ उनले भने, ‘आयोजना व्यवस्थापन, सिभिल र इलेक्ट्रोमेकानिकल ठेकेदार तथा परामर्शदाताले समन्वय गरेर विद्युत् गृह निर्माणलाई तीव्रता दिएका छौं ।’
इलेक्ट्रोमेकानिकल ठेक्काको सम्झौता अवधि ३६ महिनाको हो । भेल भारतको सरकारी निर्माण कम्पनी हो । विद्युत्गृहभित्रका उपकरण र स्वीचार्डका उपकरण आपूर्ति, ढुवानी र जडानको ठेक्का लिएको भेलले डिजाइन तयार पारिसकेको बताएको छ । सिभिल ठेकेदार जयप्रकाश एशोसिएट्सले बेनी–जोमसोम सडकको छेउमा पर्ने रघुगंगा गाउँपालिका–३ को तिल्केनीचौरमा विद्युत्गृह निर्माण शुरू गरेको छ ।
प्राधिकरणको शतप्रतिशत शेयर लगानीमा २०७३ मा स्थापना भएको लिमिटेडसँग २०७४ मङ्सिरमा ठेक्का सम्झौता गरेको सिभिल ठेकेदार जेपीले हालसम्म सर्जसाफ्ट र चारओटै अडिट (मुख्य सुरुङमा पुग्ने पहुँचमार्ग)को ब्रेक थ्रू गरेको कम्पनीका प्रबन्ध सञ्चालक गणेश केसीले जानकारी दिए । भारतीय आयात निर्यात (एक्जिम) बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा विद्युत् प्राधिकरण र नेपाल सरकारकोे संयुक्त लगानीमा निर्माण गर्न लागिएको यस आयोजनाको हालसम्म ३५ प्रतिशत भौतिक प्रगति भएको आयोजनाले बताएको छ ।
विद्युत्गृहदेखि दग्नाम र झिंको सिमानामा पर्ने बाँधसम्म ११ किलोमिटर पहुँचमार्ग निर्माण गरिएको छ । बुग्लस्थित रघुगंगा नदीमाथि ४० मिटर लामो ट्रस प्रविधिको मोटर चल्ने पुल निर्माण गरिएको छ । छ किलोमिटर २०० मिटर लामो सुरुङमध्ये हालसम्म दुई हजार १८० मिटर निर्माण सकिएको छ ।
पिप्लेमा ६१ मिटर गहिरो सर्ज साफ्ट र सुरुङको ब्रेक थ्रू भएर १७० मिटर गहिरो प्रेसर साफ्ट निर्माण शुरू गरिएको छ । अर्धजलाशययुक्त (पिआरओआर) प्रविधिको बाँध रहने यस आयोजनाले सन् २०२३ को जनवरी ३१ देखि वार्षिक २४ करोड पाँच लाख ९३ हजार ३४ युनिट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित २०७५ चैतमा विद्युत् खरिदविक्री सम्झौता गरेको थियो । सिभिल ठेकेदार जेपीले २०७५ असारमा पहुँचमार्ग र २०७६ असारमा सुरुङ खन्न शुरू गरेको थियो । रासस