काठमाडौं । संसदीय समितिले ग्रामीण क्षेत्रमा देखिएका टेलिकमको नेटवर्कसम्बन्धी समस्या जतिसक्दो चाँडो समाधान गर्न सरकारलाई निर्देशन दिएको छ । प्रतिनिधि सभा, अर्थ समितिको बुधवारको बैठकमा सांसदहरूले अझै पनि कतिपय दूरदराजका बस्तीमा नेपाल टेलिकमकै सेवा पुग्न नसकेको भन्दै सेवा विस्तार र गुणस्तरीयता ध्यान दिनुपर्ने खाँचो औंल्याए ।
चालू आवको बजेट कार्यान्वयनको अवस्था र आगामी आवको बजेट तयारी सम्बन्धमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग छलफल भएको थियो । सांसद श्यामकुमार श्रेष्ठले ग्रामीण क्षेत्रका डाँडामा मात्रै नेटवर्क टिप्ने र गैरो गाउँमा नटिप्ने समस्या समाधान गर्दै फोरजी सेवालाई सबै जनताको पहुँचसम्म पुर्याउनुपर्नेमा जोड दिए । प्रभावकारी नदेखिएको हुलाक सेवालाई सरकारले कुरियर सेवामा परिणत गर्दै गाउँगाउँसम्म विस्तार गर्नुपर्ने धारणा समेत उनले राखे । समितिका सभापति कृष्णप्रसाद दाहालले नेपालमा प्रविधिको विकास भए पनि कामकाज प्रविधिमैत्री हुन नसकेको भन्दै हुलाक सेवालाई उत्पादनसँग जोडेर अगाडि बढाउनुपर्ने बताए । रासस