जेठ १६, काठमाडौं । पछिल्लो समय नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या र मृत्युदर घट्दै गएको छ । पाँच दिनअघि संक्रमितको संख्या छ हजार ७४१ रहेकोमा आइतवार सो संख्या घटेर चार हजार ३६९ रहेको छ । यस्तै पाँच दिनअघि कोरोनाबाट ज्यान गुमाउनेको संख्या १४५ रहेकामा आइतवार सो संख्या घटेर १०९ पुगेको छ ।
यही जेठ १ गते कोरोना संक्रमितको संख्या आठ हजार १६७ रहेको थियो भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या १८७ थियो । जेठ ३ गते नेपालमा हालसम्मकै बढी नौ हजार २४७ जना कोरोनाबाट संक्रमित भएका थिए । सो दिन कोरोनाबाट ज्यान गुमाउनेको संख्या भने २१४ रहेको थियो ।
जेठ ५ गते कोरोनाबाट नेपालमा कोरोनाबाट हालसम्मकै बढी २४६ जनाको मृत्यु भएको थियो । त्यसयता मृत्युदर भने लगातार घट्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।
मन्त्रालयका अनुसार पछिल्लो समय १० हजार ९८६ जनाको पिसिआर परीक्षण तथा एक हजार ७८४ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको थियो । पिसिआर विधिबाट तीन हजार ७०२ तथा एन्टिजेनबाट ६६७ जनामा संक्रमण पुष्टि भएको हो ।
यो सँगै कोरोना संक्रमितको संया नेपालमा पाँच लाख ५३ हजार ४२२ पुगेको छ । हाल ७६३ संक्रमित क्वारेन्टिनमा रहेको मन्त्रालयले जानकारी दिएको छ ।
हालसम्म चार लाख ४० हजार ९५५ जना कोरोना भाइरसबाट मुक्त भई घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर छ हजार २०५ संक्रमित निको भएर घर फर्किएका छन् ।
निको हुने दर ७९ दशमलव २ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ । हाल देशभर एक लाख आठ हजार ८९७ सक्रिय संक्रमित रहेका छन् । पिसिआर परीक्षण गराउनेको संख्या ३० लाख ४२ हजार ३६९ पुगेको छ ।
काठमाडौं उपत्यकामा पनि घट्दै संक्रमितको संख्या
काठमाडौं उपत्यकामा पनि पछिल्लो समय कोरोना संक्रमितको संख्या घट्दै गएको छ । यही जेठ ९ गते उपत्यकामा कोरोना संक्रमितको संख्या दुई हजार ८२१ रहेकामा आइतवार सो संख्या घटेर एक हजार ९३ पुगेको छ । मन्त्रालयका अनुसार काठमाडौंमा ८०४, ललितपुरमा १६८ तथा भक्तपुरमा ११३ जनामा संक्रमण पुष्टि भएको छ ।
काठमाडौंमा हाल सक्रिय संक्रमितको संख्या १५ हजार ३७७ रहेको छ । हालसम्म कोरोनाबाट एक लाख ७० हजार ३६२ संक्रमित निको भएका छन् भने एक हजार ५९९ संक्रमितको मृत्यु भएको छ । यस्तै ललितपुरमा हाल छ हजार ५२५ सक्रिय संक्रमित रहेका छन् ।
हालसम्म २६ हजार १२५ संक्रमित निको भएका छन् भने कोरोनाबाट ४३० संक्रमितको मृत्यु भएको छ । यसैगरी भक्तपुरमा चार हजार ५०१ सक्रिय संक्रमित छन् । निको हुनेको संख्या १४ हजार ९६६ रहेको छ भने ३२१ संक्रमितले ज्यान गुमाएको मन्त्रालयले जानकारी दिएको छ । रासस