रोल्पा । दिदीको छोराको बिहेमा रुकुम पश्चिम हिँडेकी रोल्पा नगरपालिका–४ लिवाङकी टीका आचार्य कष्टपूर्ण यात्रा गर्दै ४ घण्टा ढिला माइत पुगिन् । बिहेजस्तो अत्यावश्यक काममा हिँडेकी उनलाई विवाहको साइतमा नपुगिने हो कि भन्ने चिन्ता थियो । सदरमुकाम लिवाङबाट परिवर्तन गाउँपालिका–६ इरिवाङ हिँडेकी मेलिना थापाको यात्रा निकै कष्टकर रह्यो । ८ महिनाको छोरीसहित घर हिँडेकी उनलाई समयमै घर नपुगिने कुराले चिन्तित बनाएको थियो । जाडोको याममा बच्चासँगको यात्रा गर्न बाध्य उनलाई बेलुकाको बास कहाँ हुने हो भन्ने चिन्ता थियो ।
जिल्ला सदरमुकाम लिवाङबाट गंगादेव गाउँपालिका हिँडेका मनोजकुमार वली चढेको गाडी रोल्पा नगरपालिका–७ निम्रीस्थित सडकमा रहेको हिलोमा भासियो । उनले गाडीका स्टाफ र अन्य यात्रुसँगै हिलोमा फसेको गाडी तान्न तम्सिए । लगातार एक घण्टा डोरी लगाएर तानेपछि हिलोमा फसेको गाडी निस्कियो ।
आचार्य, थापा र वली मात्र हैन सदरमुकाम लिवाङबाट पश्चिम रोल्पाका चार स्थानीय तहसहित रुकुमपूर्व र रुकुमपश्चिम आवतजावत गर्ने यात्रुहरू अचेल यस्तै समस्या भोग्ने गर्दछन् । यसको मुख्य कारण हो रोल्पा नगरपालिका–७ मा पर्ने निम्री सडक । सो सडकले जिल्ला सदरमुकाम लिवाङलाई पश्चिम रोल्पाका आधा दर्जन स्थानीय तहका साथै रुकुमपूर्व र पश्चिम दुई जिल्लालाई समेत जोडेको छ । दैनिक दर्जनौं गाडी ओहोरदोहोर गर्ने उक्त सडकमा यात्रा गर्ने यात्रुहरूलाई कष्टपूर्ण यात्रा गर्न बाध्य हुने गरेका छन् । डेढ घण्टा लाग्ने यात्रामा साढे तीन घण्टा लाग्ने गरेको छ । बाटोको अस्तव्यस्तताले यात्रासमेत अनिश्चित हुने गरेको छ । अत्यावश्यक काम लिएर हिँड्ने यात्रुहरूसमेत बाटोको अवस्थाले कैयौं अवसर गुमाउने गरेका छन् । बाटामा रहेका ठूल्ठूला खाल्डाखुल्डी, झाडी, पहिरो र साँघुरो मोडले यात्रालाई असहज बनाउने गरेका छन् । सडक स्तरोन्नतिका नाममा हरेक वर्ष करोडौं रुपैयाँ खर्च भएको देखिने भए पनि बाटोको अवस्था भने परिवर्तन हुन सकेको छैन ।
सोही सडक भएर पश्चिम रोल्पाका थवाङ, परिवर्तन, गंगादेव, त्रिवेणी, रुन्टीगढी र माडी गाउँपालिकाका अध्यक्षहरू जिल्ला समन्वय समितिको बैठकमा हरेक महिना सदरमुकाम ओहोरदोहोर गर्दछन् । सोही सडक भएर धार्मिक पर्यटकीय क्षेत्र जलजला र ऐतिहासिक गाउँ थवाङ पुग्ने गरिन्छ । जिल्लाका सबै स्थानीय तहको विकास प्राथमिकतामा सडक सञ्जाल परे पनि वर्षौं बित्दासमेत सडकको अवस्था भने सुधार हुन नसक्नु दुःखद भएको सरोकारवालाको भनाइ छ । जिल्लाका सबै स्थानीय तहले सडक निर्माण तथा मर्मत शीर्षकमा कुल बजेटको झन्डै ६० प्रतिशत विनियोजन गर्ने गर्दछन् । संघीय र प्रदेश सरकारले समेत जिल्लाको सडक निर्माणलाई नै प्राथमिकता दिएको देखिन्छ । विगत पाँच वर्षयता यो क्रमले निरन्तरता पाइरहे पनि जिल्लाका सडकको गुणस्तर भने परिवर्तन हुन नसकेको जिल्लावासीको गुनासो छ । रासस