काठमाडौं । निर्माण सम्पन्न भएको तीन वर्ष बितिसक्दा पनि टेकु पुल अझै सञ्चालनमा आउन सकेको छैन । निर्माण व्यवसायीले कम गुणस्तरको पुल निर्माण गरेपछि अहिले सो पुल अदालती प्रक्रियामा छ । पप्पु कन्स्ट्रक्सन प्रालिले तोकिएको डिजाइनभन्दा फरक गरी निर्माण गरेको सडक विभागले बताउँदै आएको छ । पुलको माथिल्लो भाग (सुपर स्ट्रक्चर)मा समस्या देखिएपछि विभागले अहिले सो पुलमा सवारीसाधन र यात्रुलाई हिँड्न दिएको छैन । उक्त पुल भत्काउन पनि रकम माग गर्ने योजना बनाइएको डिभिजन सडक कार्यालय काठमाडौंका प्रमुख कुबेर नेपाीले बताए । डिभिजन र निर्माण कम्पनीबीच विवाद भएपछि अहिले सो विषय कानूनी प्रक्रियामा छ । मुद्दा प्रक्रियामा रहेकाले अन्तिम सुनुवाइ पर्खिएको उनले बताए ।
‘व्यवसायी र डिभिजनको कुरा मात्रैभन्दा कानूनी झमेलामा फसेको विषय हो, निर्णय आउनासाथ अघि बढिनेछ,’ उनले भने । अहिले हिँड्न र सवारीसाधन चल्न नदिइएको उक्त पुल कति भागसम्म भत्काउने वा कसरी बलियो बनाउने बनाउने भनी अहिले नै टुंगो लागिसकेको छैन । डिभिजन र निर्माण कम्पनीबीच विवाद भएको विषयमो टुंगो लागेपछि मात्रै विकल्पका बारेमा छलफल हुन सक्ने प्रमुख नेपालीले बताए । सो मुद्दा अदालती प्रक्रियामा गएको एक वर्ष भइसकेको छ । कोभिडका कारण नियमित सुनुवाइ नभएकाले टुंगो लागिसकेको छैन । सो पुल निर्माणका लागि सरकारले आर्थिक वर्ष २०६९/७० मा ठेक्का सम्झौता गरेको थियो । निर्माण सम्पन्न भएपछि केही समयसम्म पुल सञ्चालन गरिए पनि कम गुणस्तरको भएकाले बन्द गरिएको डिभिजनले बताएको छ । अहिलेसम्म डिभिजनले सो पुलको जिम्मेवारी लिइसकेको छैन । ठेक्का तोडिएपछि सवारीसाधनलाई चल्न नदिनेगरी बन्द गरिएको प्रमुख नेपालीले बताए ।
जिम्मा लिएपछि पुलमा कुनै समस्या आउँदा त्यसको जिम्मेवारी आफ्नो हुने भए पनि अहिलेसम्म सो पुल निर्माण व्यसायीको जिम्मेवारीमा छ । तोकिएअनुसार (स्पेशिफिकेसन) अनुसार निर्माण नभएपछि पुल स्वीकार नगरिएको डिभिजनले बताएको छ । अहिलेसम्म हेर्दा पुलको माथिल्लो भाग (सुपर स्ट्रक्चर)मा मात्रै समस्या देखिएको छ । परामर्शदाता कम्पनीले अध्ययन गर्दा पनि माथिल्लो भागको जुन खण्डमा समस्या छ, त्यो मात्रै भत्काए पुग्छ भन्ने राय दिएको डिभिजनले बताएको छ । रासस