जेठ २, सुनसरी । दोस्रो लहरको नयाँ भेरियन्ट सहितको कोरोना संक्रमणको दर काठमाडौं पछि प्रदेश १ दोस्रो जोखिमको रूपमा रहेपछि जारी गरिएको निषेधाज्ञालाई जेठ १ गतेबाट कडाइका साथ लागू गरिएको छ ।
प्रदेश १ को तीन ओटा जिल्लामा संक्रमण बढेसँगै मृत्युदर दोब्बर देखिएपछि सावधानी अपनाउदै तीन ओटै जिल्लाका प्रसाशन कार्यालयहरूले निषेधाज्ञालाई कडाइका साथ पालना गराउन मातहतका सुरक्षाकर्मीहरूलाई निर्देशन दिएको छ ।
हालै बसेको प्रदेश १ सुरक्षा समितिले सुनसरी, मोरङ र झापामा कडाइका साथ निषेधाज्ञालाई पालना गराउने निर्णय गर्दै निर्णयको कार्यान्वयन थालनी भएको सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले बताए ।
प्रदेश १ आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजनामा बसेको सुरक्षा समितिको बैठकमा तीनओटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुख र नेपाली सेनाका मेजर, सहायक मेजर लगायतको उपस्थिति रहेको थियो ।
मुख्यतयः सुनसरीमा अट्टेरीपन बढेको र त्यसलाई तत्काल नियन्त्रण गर्न आक्रामक योजना सहित प्रशासन कठोर बनिने निर्णय भएको सुनसरीका प्रमुख जिल्ला अधिकारी ढकालले बताए ।
ढकालले अब पनि जो कोहीले निषेधाज्ञा आदेशलाई उल्लंघन गरेको पाइएमा संक्रामक रोग ऐन, २०२० अन्तर्गत भए गरेको कसुरमा १ महीनासम्म कैद वा १०० रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने बताए । ऐन अन्तर्गत काममा बाधा पुर्याउनेलाई ६ महीनासम्म कैद वा ६०० सम्म जरिवाना वा दुवै सजाय हुने जानकारी दिइएको छ ।
सुरक्षा संयन्त्रमा नेपाली सेनाले समेत सहजिकरण गरेको जानकारी दिइएको छ । सुनसरीमा यस अघिनै वैशाख ३१ गतेबाट कडाइका साथ निषेधाज्ञा पालना गराउने निर्णय बमोजिम स्थानीयस्तरमा नेपाली सेनाले पनि सघाउ पुर्याउने बताइएको छ ।
सुनसरीको धरान, इटहरी र इनरूवामा नेपाली सेनाले शनिवार बिहानैदेखि कोरोना संक्रमणबारे स्थानीयहरूलाइ सचेत गराउँदै माइकिङ तथा सुरक्षा सतर्कता अपनाउन आग्रह गर्दै आएको छ ।
सेना स्वयम राजमार्गमा निस्किएपछि प्रदेश १ का मुख्य जिल्लामा निषेधाज्ञा कडाइका साथ पालना भइरहेको पाइएको छ । मुख्य राजमार्ग सुनसान देखिएको छ भने बीना काम हिडडुल गर्ने स्थानीयहरूलाइ प्रहरीले बाटोबाटै फर्काउने गरेको छ ।