फागुन २९, काठमाडौं । नेपाल आयल निगमले अहिले खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर १ हजार ५७५ रुपैयाँ कायम गरेको छ ।
उपभोक्ताले विक्रेताबाट कुनै पनि सिलिण्डर खरीद गर्दा उक्त रकम तिर्नुपर्छ ।तर, अब ग्लोबल आइएमई बैंकमा आबद्ध उपभोक्ताले भने ग्यासको एक सिलिण्डर १ हजार ५२५ रुपैयाँमा पाउने भएका छन् । ग्लोबल आइएमई बैंक र नेपाल ग्यास विक्रेता महासंघ बीच शनिवार भएको सम्झौता अनुसार ग्लोबल आइएमई बैंकका ग्राहकले प्रतिसिलिण्डर ग्यास खरीदमा ५० रुपैयाँ छूट पाउने भएका हुन् ।
ग्यास विक्रेता महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले ग्लोबल आइएमई बैंकका ग्राहकले क्यूआर कोडको माध्यमबाट भुक्तानी गर्दा उक्त रकम छूट पाइने गरी सम्झौता गरिएको बताए ।
‘ग्लोबल आइएमई बैंकको क्यूआरकोडको माध्यमबाट भुक्तानी गर्दा महीनामा एक सिलिण्डरमा मात्रै ५० रुपैयाँ छूट पाउने छन्’, अर्यालले भने, ‘डिलर महासंघमा आबद्ध भएको हुनुपर्छ ।’ उनका अनुसार ग्यास विक्रेता महासंघमा आबद्ध भएका विक्रेतामार्फत ग्यास खरीद गर्दा मात्रै उक्त छूट पाइने छ ।
ग्यास विक्रेता महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्र थापाका अनुसरा मुलुकभर ग्यास विक्रेताको संख्या १२ हजार रहेको छ ।