मध्यपश्चिम विश्वविद्यालयमा स्थापनाकालदेखि नै विभिन्न विवादमा पर्दै आएको छ । विश्वविद्यालयमा कहिले पदाधिकारी, प्राध्यापक, कर्मचारी विवादमा तानिँदै आएका छन् भने कहिले प्राध्यापक, विद्यार्थीहरूले आन्दोलन गरिरहेका छन् ।
पछिल्लो समय विश्वविद्यालयमा आन्दोलनका कार्यक्रम दिनहुुँ भइरहेको छ । अहिले प्राध्यापक र विद्यार्थीले आ–आफ्ना विभिन्न मागहरू राखेर आन्दोलन गरिरहेका छन् । मागप्रति विश्वविद्यालय, प्राध्यापक र विद्यार्थीहरूका आ–आफ्नै अडान छन् । विश्वविद्यालय पदाधिकारीले प्राध्यापक र विद्यार्थीले राखेका कतिपय मागहरू जायज नभएकाले सम्बोधन गर्न नसकिने अडान राख्दै आएका छन् । खासगरी कारबाही गरिएका प्राध्यापकहरूको कारबाही फिर्ता गरिनुपर्ने र अनलाइन माध्यमबाट परीक्षा हुनुपर्ने प्राध्यापक र विद्यार्थीको मुख्य माग छ । यी माग पूरा गर्न नसकिने र अन्य मागहरू वार्ताबाट सहमति गरेर अघि बढ्न सकिने विश्वविद्यालयका पदाधिकारीले भन्दै आएका छन् । आन्दोलनरत पक्ष यी दुई मागलाई सम्बोधन गर्नुपर्ने भनेर खरो रूपमा उत्रिएका छन् ।