घर खर्च चलाउन साना व्यवसायमा आकर्षण

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ असैनाका ३० वर्षीय हरेन्द्र सार्कीले साइकल मर्मत गर्ने पसल सञ्चालन गरेका छन् । परिवारको खर्च धान्ने मेसो त्यही साइकल पसल हो । वन समिति बजारमा सार्कीले साइकल मर्मत गर्ने पसल सञ्चालन गरिरहेका छन् । पुख्र्यौली पेसा छाला जुत्ताको काम रहे पनि त्यसबाट परिवारको खर्च धान्नै मुस्किल भएपछि उनले साइकल मर्मत गर्ने पसल सञ्चालन गरेका हुन् । साइकलका पाटपुर्जासँगै पञ्चर बनाउने, लहर निकाल्ने, तिल्ली राख्ने, गोली, कटौरी राख्ने कार्यसँगै नयाँ टायर ट्युब राख्ने काम उनले गर्छन् । ‘यसबाट १५ हजार रुपैयाँदेखि २० हजार रुपैयाँसम्म मासिक आम्दानी हुने गरेको छ,’ उनले भने । दातृ निकायले अनुदानमा कम्प्रेसर मेसिन उपलब्ध गराएपछि साइकलसँगै उनले मोटरसाइकलको पञ्चरसमेत जोड्ने काम थालेका छन् । उनले भने, ‘६ जनाको परिवारको खर्च धान्न सहयोग पुगेको छ ।’ २० हजार रुपैयाँ लगानीबाट सञ्चालन गरेको पसलबाट शुरूमा खासै आम्दानी नभएको उनको भनाइ छ । हाल लगानी बढाएर २ लाख रुपैयाँ पुगेसँगै घर खर्च चलाउन सहयोग पुगिरहेको उनले बताए । साइकल पसल चलाउनुअघि सार्कीले अरूको खेत अधिँयामा लिएर परिवारका लागि अन्न जोहो गर्दै आएका थिए । पसल चल्न थालेपछि पसलबाटै घरखर्च चल्न थालेको उनले बताए  ‘थोरै पूँजीको काम गरे पनि निरन्तर लागिरहे परिवारको खर्च चलाउन अप्ठेरो नहुने रहेछ,’ उनले भने, ‘अरूको भन्दा आफ्नै काम गरे सहज रूपमा जीविका चलाउन सकिँदो रहेछ ।’ हरेन्द्र जस्तै वन समिति बजारमै छाला जुत्ताको कार्य गर्दै आएका कसरौलका मन्दिर सार्कीले दैनिक १ हजारदेखि २ हजार रुपैयाँसम्म आम्दानी गर्ने गरेका छन् । उनले नयाँ जुत्ता बनाउने, पुराना जुत्ताचप्पल सिउने लगायत काम थालेका हुन् । सार्कीले ५ छोरी र ३ छोराको विवाहको खर्च समेत यसैबाट धानेको बताए । स्थानीय तहमा ५ वर्ष सरकार हाँकेका जनप्रतिनिधिले हालसम्म गरिखाने वर्गका लागि कुनै पनि योजना नल्याएकोमा असन्तुष्ट छन् उनी । ‘अहिले चुनावका लागि उम्मेदवारले प्रचारप्रसारको काम गरिरहेका छन्,’ उनले भने, ‘हाम्रा दु:खलाई सम्झेर उत्थानका योजना ल्याई काम गर्ने भए मत माग्न आउनोस् । नभए मत नै नमाग्नोस् भनेको छु ।’ रासस

सम्बन्धित सामग्री

पुष्प व्यवसायमा युवाको आकर्षण, 'एक विघाको खेतीबाट वर्षको १२ लाख कारोबार'

टीकापुर (कैलाली) । पुष्प व्यवसायबाट राम्रो आम्दानी हुने भएपछि कैलालीमा पछिल्लो समय पुष्पखेतीमा युवाको आकर्षण बढ्दै गएको छ ।  कैलालीमा पहिलो पटक ६ वर्षअघि टीकापुरको वनगाउँका सीताराम चौधरीले पुष्पखेती शुरु गरेका थिए । हाल पुष्पखेतीमा अन्य किसानसमेत आकर्षित हुँदै गएका छन् । पुष्प खेतीबाट अन्य खेतीभन्दा राम्रो आम्दानी हुने भएपछि किसान आकर्षित हुन थालेको बताइन्छ । वनगाउँका सीतारामले ६ वर्षपहिले १० कट्ठा जमिनमा खेती गरेका थिए । पुष्पखेतीमा राम्रो आम्दानी हुँदै गएपछि उनले एक बिघा पाँच कठ्ठामा पुष्पखेती गरिरहेका छन् । ‘मैले जग्गा भाडामा लिएर खेती गरिरहेको छु, अझै विस्तार गर्ने इच्छा थियो, जग्गा पाउन नसक्दा यत्तिकै सीमित भएको हो,’ सीतारामले भने, ‘पुष्पखेतीमा वर्षभरि आम्दानी लिन सकिन्छ, अन्य बालीभन्दा तेब्बर बढी आम्दानी हुन्छ ।’ कैलालीमा पछिल्लो समय दर्जनौं किसानले व्यावसायिकरूपमा खेती गरिरहेका छन् भने कतिपयले तिहार लक्षित फूलमालाको मात्र उत्पादन गरिरहेका छन् ।  सीतारामले यहाँ मौसमअनुसार मात्र नभएर बेमौसमी फूलसमेत रोपेका छन् । उनी फूलका बेर्नादेखि फूलसमेत विक्री गर्छन् । ‘मौसमी, बेमौसमी फूल पाइन्छन्, विभिन्न सजावटका फूल पनि मैले उत्पादन गरिरहेको छु,’ उनी भन्छन्, ‘यहाँ उत्पादन भएका फूल देशैभरिका जिल्लामा निर्यात भइरहेको छ ।’ यतिबेला पुष्पखेती गरेका कैलालीका किसान विभिन्न जिल्लामा फूल निर्यातका लागि फूलबारीमा व्यस्त छन् । फूल टिप्ने, माला उन्ने र प्याकिङ गर्ने कार्यमा किसान व्यस्त छन् । कैलालीमा उत्पादन भएका फूल देशका विभिन्न जिल्लामा जाने गरेका छन् । यो खेतीबाट एक बिघा जमिनमा दुई याममा रु १२ लाखसम्म कारोबार हुने गरेको सीतारामको भनाइ छ ।  ‘मैले एक बिघामा वर्षमा दुई पटक गरी रु १२ लाखको कारोबार गरेको छु । धानबाली तथा अन्य बाली लगाएर एक बिघामा रु १२ लाख कमाउन सकिँदैन,’ उनी भन्छन्, ‘मेहनत गर्नुपर्छ फूलखेतीमा राम्रो कमाइ छ, बजारीकरणका लागि सरकारको सहयोग पनि आवश्यक छ ।’ यतिबेला गाउँका धेरै किसानले धान भित्र्याएका छन् । सीतारामसहित पुष्पखेती गरेका किसान फूल विक्री गर्ने तयारीमा छन् । किसानहरू बजार खोज्ने, फूल भण्डारण गर्ने, टिप्नेलगायत गरिरहेका छन् ।  अर्का पुष्प व्यवसायी छत्र मल्लले पनि तीन वर्षदेखि फूल खेती गरिरहेका छन् । ‘मैले पनि फुर्सदको समय सदुपयोग र नयाँ व्यवसाय भएकाले पुष्प व्यवसाय रोजेको हुँ,’ मल्लले भने, ‘स्थानीय बजार सानो भएकाले भने अलि समस्या भएको छ । गत वर्ष मैले तिहारको समयमा बजार पाउन कठिन भएको थियो ।’ पुष्प व्यवसायी मल्ल स्थानीय सरकारले पुष्पखेती गर्ने किसानलाई हौसला दिन बजारीकरणमा सघाउने, प्लाष्टिकका माला विक्रीमा प्रतिबन्ध लगाउने जस्ता कार्य गरेर सघाउनुपर्ने बताउँछन् । ‘तिहार नजिकिएको छ, बजारभरि प्लाष्टिकका माला छन्,’ उनी भन्छन्, ‘स्थानीय सरकारले भारतबाट निर्यात भएका प्लाष्टिकका माला विक्री प्रतिबन्ध गरिदिएपछि हामीलाई राहत हुन्छ ।’ कैलालीमा कतिपय पालिकाले प्लाष्टिकका माला विक्रीमा प्रतिबन्धसमेत गरेका छन् । तिहार, छठजस्ता चाडपर्वमा कैलालीको धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका र बर्दगोरिया गाउँपालिकामा प्लास्टिक मालामा प्रतिबन्ध लगाइएको छ । यी पालिकाले स्थानीय व्यवसायीको बारीमा फूलेका फूलका माला मात्र विक्री गर्न अनुरोध गरेका छन् । रासस

किसानहरु भन्छन्, ‘ड्रागनफ्रुट व्यवसायमा सम्भावनासँगै चुनौती पनि बढे ’

पछिल्लो समय ड्रागनफ्रुट व्यवसायमा किसानको आकर्षण बढ्दै गएको छ । खेती गर्न सजिलो, फल स्वादिलो तथा पोषिलो हुनुका साथै बजार मूल्यमा पनि समस्या नभएपछि ड्रागनफ्रुट व्यवसायमा किसानको आकर्षण बढ्दै गएको हो । बजारमा ड्रागनफ्रुट प्रतिकिलो ६ सय ५० देखि आठ सय ५० सम्ममा किन्न पाइन्छ । नेपालमा पहिलो पटक जगनाथ राईले विदेशबाट ड्रागनफ्रुट भित्र्याएर खेती […]

व्यावसायिक च्याउ खेतीमा युवा आकर्षण बढ्दै

काठमाडौं, १४ माघ । कैलालीको जानकी गाउँपालिका–४ का श्रीराम कठरिया विगत आठ वर्षदेखि व्यावसायिक च्याउ खेतीमा व्यस्त छन् । गाउँमा एक गैरसरकारी संस्थाले दिएको तालिमबाट सिकेको ज्ञानलाई व्यवहारमा लागू गर्दै सुरु गरेको उनको व्यवसायले आठ वर्षमा निकै ठूलो फड्को मारेको छ । श्रीरामको परिवार सबै त्यहीँ व्यवसायमा केन्द्रित भएको छ । घरको आर्थिक अवस्थाले पढाइलाई […]

वैदेशिक रोजगारको रन्कोले भेडापालन व्यवसायमा आकर्षण घट्यो

रुकुम पूर्व : पुथा उत्तरगङ्गा गाउँपालिका–११ माथिल्लो सेराका रामकुमार बुढा मगरले ३ दशक अघिदेखि पालेका सबै भेडा दुई वर्ष अघि बेचिदिए।बुढेसकाल लाग्यो, खर्कका भेडा हेर्ने कोही भएनन्। उमेर ढल्किँदै जाँदा उनले पुर्ख्यौली पेशा धान्न सकेनन्।  ‘भेडा बेच्ने मन थिएन’, उनले भने, ‘उमेर ढल्किँदै गएसँगै एक्लै पाल्न नसकिने रहेछ।’रामकुमार मात्र होइन, यो क्षेत्रमा पहिलेझैँ भेडापालक छैनन्। एकाध पाका पुस्ताले भेडापालनलाई निरन्तरता दिए पनि युवापुस्ताले चासो देखाएका छैनन्। गाउँ

सिन्धुलीमा माछापालनमा आकर्षण बढ्यो

सिन्धुली । पछिल्ला समयमा सिन्धुलीमा व्यावसायिक माछापालनतर्फ किसानको आकर्षण बढ्दै गइरहेको छ । जिल्लामा बढ्दो शहरीकरण र राजमार्ग आसपासका होटलहरुमा माछाको माग बढेसँगै व्यवसायिक माछा पालन व्यवसायमा किसानको आकर्षण बढ्दै गइरहेको हो । उर्वराभूमि र मलिलो माटो बिना नै सिमसार जमिनमा पलाएको पानी जम्मा पारेर बनाएको पोखरीमा माछा पालन व्यवसाय संचालन गरेपछि सिन्धुली जिल्लाका कमलाखोच […]

खुला नाका पुष्प व्यवसायको मुख्य चुनौती, कोभिडका कारण १ अर्ब घाटा (भिडियो)

काठमाडौँ – नेपालमा पछिल्लो समय फस्टाउँदै गएको व्यवसाय हो पुष्प व्यवसाय। केही वर्षअघिसम्म सामान्य मानिएको यो व्यवसायमा पछिल्लो समय युवा पुस्ताको आकर्षण देखिन्छ। पुष्प व्यवसायमा आकर्षण बढ्दै गएसँगै यस व्यवसायमा थुप्रै चुनौतीसमेत थपिएको व्यवसायी बताउँछन्। भारतसँगको खुला नाका व्यवसायको मुख्य कारण रहेको मिलन नर्सरीका सञ्चालक तीर्थ लोप्चन बताउँछन्। ‘भनेको बेला मल पाइँदैन, औषधि पनि पाइँदैन, […]

खानेपानी व्यवसायमा निजी क्षेत्रको आकर्षण

सबै चालू आर्थिक वर्षको माघदेखि चैत महिनासम्ममा १४ खानेपानी कम्पनी दर्ता भएका छन् । गत आवको सो अवधिमा दर्ता संख्या ८ मात्र रहेको कम्पनी रजिस्ट्रार कार्यालयले बताएको छ । कार्यालयका सहायक रजिस्ट्रार वसन्तराज पुरीका अनुसार यस अवधिमा दर्ता भएका कम्पनीहरूको अधिकृत पुँजी घटीमा रू. १ लाखदेखि  बढीमा रू. ३ करोडसम्म रहेको छ । खानेपानी आपूर्तिको जिम्मा लिएको नेपाल   खानेपानी संस्थानले माग पूरा गर्न नसक्दा निजी क्षेत्र यस व्यवसायतर्फ आकर्षित भएको हो । चालू आवमा व्यवसाय दर्ताको क्रम बढ्दै गए पनि ती कम्पनीहरूको पूर्ण विवरण खानेपानी तथा ढल निकास विभाग, खानेपानी संस्थान र काठमाडौं उपत्यका खानेपानी लिमिटेडसँग छैन । लिमिटेडका सहायक प्रबन्धक सुरेशप्रसाद आचार्यका अनुसार ट्यान्कर व्यवसायीहरूको मनलागी बढ्दै गएकाले यसको अनुगमन हुनु जरुरी छ  । खानेपानीको मागसँगै कुनै पनि निकाय दर्ता नगरी टयान्करबाट पानी बेच्नेहरू पनि निकै बढेका छन् । यसो हुँदा व्यवसायको विश्वसनीयता घट्दै गएको सम्बद्ध व्यवसायीहरू बताउँछन् । संस्थानले जडान गरेको धारामा पानी आउन छाडेपछि आफूहरूले ट्यान्करको पानी किनेर खान बाध्य हुनपरेको उपभोक्ताहरूको भनाइ छ । यो बाध्यतालाई मौकाको रूपमा उपयोग गर्दै व्यवसायीहरूले परीक्षण नगरिएका दुषित पानी बेच्ने गरेको उपभोक्ताको गुनासो छ । ट्यान्करको पानी प्रयोग गर्दै आएका सामाखुसीका पुरूषोत्तम भट्टराई पानीको मूल्यमा समेत एकरूपता नभएको बताउँछन् । अंक  ३८, २०६७, जेठ १०–१६

नेपालमा विदेशी कामदारको आकर्षण

पछिल्लो समय संसारभर बढी प्रचलित शब्द हो, नलेज ट्रान्सफर अर्थात् ज्ञानको प्रसारण । मुलुकमा विभिन्न पेसा–व्यवसायमा दक्षता नभएका कार्यका लागि सरकारले नेपाली नागरिकको दक्षता नभए विदेशी नागरिक ल्याउन सुविधा दिएको छ । तर, यसबाट कति नलेज ट्रान्सफर भयो भन्ने अनुगमन सरकारले गरेको पाइन्न । कतिपय संघसंस्थाले कानुनी रूपमा विभिन्न मुलुकका दक्ष नागरिकलाई परामर्शदाताका रूपमा वा […]

दाङ : पाेल्ट्री व्यवसायमा आकर्षण बढ्दै, ३ अर्ब बढीकाे लगानी

दाङ – पछिल्लाे समय दाङमा पाेल्ट्री व्यवसायतर्फकाे आकर्षण बढ्दाे छ । पोल्ट्री व्यवसायमा आम्दानी राम्रो हुने भएपछि मासु, अण्डा उत्पादन, कुखुराका लागि दानासँगै कुखुराका बच्चा उत्पादनका लागि ह्याचरी उद्योगमा लगानी बढ्दै गएको हो । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङका अनुसार जिल्लामा ह्याचरी, कुखुरा फर्म र सप्लायर्स गरी ७ सय बढी फर्म तथा उद्योगहरू रहेका छन् । जिल्लामा ब्रोइलर चल्लाका बच्चा उत्पादनका लागि १७ वटा ह्याचरी उद्योग, मासुका लागि करिब साढे ४ सय फर्म, करिब एक सय दाना सप्लायर्स र अण्डाका लागि करिब १ ...

धनकुटाका युवाको आकर्षण बाख्रा पालन व्यवसायमा

साउन ५, धनकुटा । पछिल्लो समय धनकुटामा बाख्रपालन व्यवसायमा आकर्षण बढ्दो छ । यसै क्रममा धनकुटाको साँगुरीगढी गाउँपालिका ३ कुशेटारका स्थानीयले सामूहिक बाख्रापालन गरिरहेका छन् । पहिले एक्लाएक्लै स्थानीय जातका बाख्रा पाल्दै आएका किसानले अहिले सामूहिक रुपमै उन्नत जातका बाख्रापालन गरिरहेका छन् ।  कुशेटारका २१ घरपरिवारले सामूहिक बाख्रापालन व्यवसाय गर्दै आएका छन् । २१ घरपरिवारले ‘रातमाटे घाँसी बोयर बाख्रापालन समूह’ गठन गरेका छन् । बाख्रापालन व्यवसायमा अधिकांश युवा वैैदेशिक रोजगारबाट फर्केका छन् । उनीहरुले वैदेशिक रोजगारमा भन्दा राम्रो कमाइ भइरहेको बताएका छन् । कुशेटारका देवि नेम्बाङ आजकाल प्रायः बाख्राको खोरमै भेटिन्छन् । बाख्रालाई अन्न, दानापानी तथा घाँसको व्यवस्था गर्नु उनको दैनिकी हो । उनीसहित गाउँका २१ परिवारले ‘रातमाटे घाँसी बोयर बाख्रापालन समूह’ नामको सामूहिक बाख्रा समूह खोलेपछि उनीहरुको दैनिकी बाख्रा फार्ममै बित्ने गरेको छ । नेम्बाङको खोरमा ६० ओटा भन्दा बढी बाख्रा रहेका छन् । गाउँमै व्यावसायी बन्न बाख्रापालन रोजेको उनी बताउँछन् । चितवन र मकवानपुरबाट उन्नत बोयर जातका बाख्रा खरीद गरेर ल्याएको नेम्बाङले जानकारी दिए । बाख्रापालनका लागि उनले ६० लाख बढीको लगानी भएको छ । २२ वर्षसम्म शिक्षक पेशामा आवद्ध नेम्बाङले माछापालन, लेयर्स कुखुरा र सुँगुर पालन पालन पनि गरेको बताउँछन् । माछापालन र सुँगुर पालन व्यवसायमा सोचेजस्तो आम्दानी नभएपछि बाख्रापालनमा लागेको उनले बताए । ६ वर्ष अगाडिबाट शुरु गरेको बाख्रापालनकै लागि ३५ रोपनी जग्गामा घाँस खेती गरिरहेको नेम्बाङले बताए । नेम्बाङले खरी, जमुनापारि हुँदै बोयर बाख्रा पालन गरिरहेको बताउँछन् । ‘बाख्रापालनबाट परिणाम आइसक्ने बेला भएको छैन’, नेम्बाङले भने, ‘२१ घरमा बाख्रा पालन गरिरहेका छौँ, समूहमा मिलेर काम गरेका छौँ, राम्रो परिणाम आउनेमा विश्वस्त छौँ ।’ नेम्बाङले युवा पुस्तालाई बाख्रापालनमा सक्रिय बनाउन आवश्यक प्राविधिक सहयोग समेत गर्ने बताए ।  कुशेटारकै ४३ वर्षीय अशोक याख्याको फर्ममा अहिले ४० ओटा बाख्रा छन् । उनी बाख्रापालनमा लागेको ७ वर्ष भएको छ । रोजगारीको शिलशिलामा ९ वर्ष मलेसिया, बहराइन डेढ वर्ष याख्याले गाउँमा फर्केपछि सुँगुर पालन गरेको बताउँछन् । उनले बाख्रापालनका लागि ४ रोपनी जग्गामा घाँस खेती गरिरहेका छन् । बाख्रापालन व्यवसायबाट वार्षिक साढे ५ लाख रुपैयाँ भन्दा बढी कमाइ भइरहेको याख्खाले बताए । उनले बाख्रापालनको लागि खोरमा मात्रै ३ लाख लगानी भएको बताए ।  ‘विदेशमा अर्काको अधिनमा बस्नुपर्छ, तर यहाँ छुट्टै आनन्द छ’, याख्खाले भने, ‘अब यही पेशालाई निरन्तरता दिँदै परिवारसँग रमाएर बस्ने हो ।’ उनले थप्दै भने ‘घर खर्च जोहो गर्नकै लागि विदेश जानुपर्ने रहेनछ, आफूसँग भएको ज्ञान र सीपलाई राम्रोसँग प्रयोग गर्नुपर्ने रहेछ ।’ कुशेटारमा बाख्रा पालनका लागि ठाउँ पनि उपयुक्त भएकोले त्यहाँका मानिसले यो पेशा रोजेका हुन् । पुख्यौली रुपमा बाख्रापालन गर्दै आएका किसान व्यावसायिक बनेका छन् । २१ परिवारले प्रतिपरिवार मासिक ५० हजारदेखि ३ लाखसम्म आम्दानी गरिरहेका छन् । विदेश जानेलाई रोक्न सकिन्छ कि भन्ने हेतुले समूहमा बाख्रापालन शुरु गरेको र सरकारी अनुदान भन्दा आफैँ सक्षम बन्नेतर्फ लागेको रातमाटे घाँसी बोयर बाख्रापालन समूहका अध्यक्ष झप्टमान अधिकारीले बताए । अहिले २१ घरको बाख्रा फर्ममा करीब १ हजार भन्दा बढी बाख्रा रहेका छन् । कुशेटारका केही युवा विदेश जाने सोचलाई त्यागेर र विदेशबाट फर्केर बाख्रापालनमा लागेको समूहका अध्यक्ष अधिकारीले बताए । ‘केही युवा विदेश जाने सोच त्यागेर बाख्रापालनमा लागेका छन’, अधिकारीले भने आर्थिक अवस्था कमजोर भएकालाई समूहका एक सदस्यबाट १० देखि १५ हजार सहयोग गरेर खोर बनाउने काममा सहयोग गर्दै आएका छौं ।’ कुशेटारका बाख्रा फार्ममा अहिले ३ लाख रुपैयाँसम्म पर्ने बोयर जातका बोका रहेका छन् । ‘यहाँको कमाईले हरेक सदस्य पूर्णरुपमा सन्तुष्ट भएको पाएको छु’, अधिकारीले भने ‘आम्दानीलाई दोब्बर बनाउने गरी थप काम गर्ने तयारीमा रहेका छौं ।’ २१ घरले बाख्रापालनका लागि करीब २ करोड रुपैयाँ बढी लगानी गरेको अध्यक्ष अधिकारीले बताए । बाख्रापालनका लागि यस आर्थिक वर्षमा साँगुरीगढी गाउँपालिकाले समूहलाई १५ लाख रुपैयाँ अनुदान उपलब्ध गराएको छ ।