पुष्प व्यवसायमा युवाको आकर्षण, 'एक विघाको खेतीबाट वर्षको १२ लाख कारोबार'

टीकापुर (कैलाली) । पुष्प व्यवसायबाट राम्रो आम्दानी हुने भएपछि कैलालीमा पछिल्लो समय पुष्पखेतीमा युवाको आकर्षण बढ्दै गएको छ ।  कैलालीमा पहिलो पटक ६ वर्षअघि टीकापुरको वनगाउँका सीताराम चौधरीले पुष्पखेती शुरु गरेका थिए । हाल पुष्पखेतीमा अन्य किसानसमेत आकर्षित हुँदै गएका छन् । पुष्प खेतीबाट अन्य खेतीभन्दा राम्रो आम्दानी हुने भएपछि किसान आकर्षित हुन थालेको बताइन्छ । वनगाउँका सीतारामले ६ वर्षपहिले १० कट्ठा जमिनमा खेती गरेका थिए । पुष्पखेतीमा राम्रो आम्दानी हुँदै गएपछि उनले एक बिघा पाँच कठ्ठामा पुष्पखेती गरिरहेका छन् । ‘मैले जग्गा भाडामा लिएर खेती गरिरहेको छु, अझै विस्तार गर्ने इच्छा थियो, जग्गा पाउन नसक्दा यत्तिकै सीमित भएको हो,’ सीतारामले भने, ‘पुष्पखेतीमा वर्षभरि आम्दानी लिन सकिन्छ, अन्य बालीभन्दा तेब्बर बढी आम्दानी हुन्छ ।’ कैलालीमा पछिल्लो समय दर्जनौं किसानले व्यावसायिकरूपमा खेती गरिरहेका छन् भने कतिपयले तिहार लक्षित फूलमालाको मात्र उत्पादन गरिरहेका छन् ।  सीतारामले यहाँ मौसमअनुसार मात्र नभएर बेमौसमी फूलसमेत रोपेका छन् । उनी फूलका बेर्नादेखि फूलसमेत विक्री गर्छन् । ‘मौसमी, बेमौसमी फूल पाइन्छन्, विभिन्न सजावटका फूल पनि मैले उत्पादन गरिरहेको छु,’ उनी भन्छन्, ‘यहाँ उत्पादन भएका फूल देशैभरिका जिल्लामा निर्यात भइरहेको छ ।’ यतिबेला पुष्पखेती गरेका कैलालीका किसान विभिन्न जिल्लामा फूल निर्यातका लागि फूलबारीमा व्यस्त छन् । फूल टिप्ने, माला उन्ने र प्याकिङ गर्ने कार्यमा किसान व्यस्त छन् । कैलालीमा उत्पादन भएका फूल देशका विभिन्न जिल्लामा जाने गरेका छन् । यो खेतीबाट एक बिघा जमिनमा दुई याममा रु १२ लाखसम्म कारोबार हुने गरेको सीतारामको भनाइ छ ।  ‘मैले एक बिघामा वर्षमा दुई पटक गरी रु १२ लाखको कारोबार गरेको छु । धानबाली तथा अन्य बाली लगाएर एक बिघामा रु १२ लाख कमाउन सकिँदैन,’ उनी भन्छन्, ‘मेहनत गर्नुपर्छ फूलखेतीमा राम्रो कमाइ छ, बजारीकरणका लागि सरकारको सहयोग पनि आवश्यक छ ।’ यतिबेला गाउँका धेरै किसानले धान भित्र्याएका छन् । सीतारामसहित पुष्पखेती गरेका किसान फूल विक्री गर्ने तयारीमा छन् । किसानहरू बजार खोज्ने, फूल भण्डारण गर्ने, टिप्नेलगायत गरिरहेका छन् ।  अर्का पुष्प व्यवसायी छत्र मल्लले पनि तीन वर्षदेखि फूल खेती गरिरहेका छन् । ‘मैले पनि फुर्सदको समय सदुपयोग र नयाँ व्यवसाय भएकाले पुष्प व्यवसाय रोजेको हुँ,’ मल्लले भने, ‘स्थानीय बजार सानो भएकाले भने अलि समस्या भएको छ । गत वर्ष मैले तिहारको समयमा बजार पाउन कठिन भएको थियो ।’ पुष्प व्यवसायी मल्ल स्थानीय सरकारले पुष्पखेती गर्ने किसानलाई हौसला दिन बजारीकरणमा सघाउने, प्लाष्टिकका माला विक्रीमा प्रतिबन्ध लगाउने जस्ता कार्य गरेर सघाउनुपर्ने बताउँछन् । ‘तिहार नजिकिएको छ, बजारभरि प्लाष्टिकका माला छन्,’ उनी भन्छन्, ‘स्थानीय सरकारले भारतबाट निर्यात भएका प्लाष्टिकका माला विक्री प्रतिबन्ध गरिदिएपछि हामीलाई राहत हुन्छ ।’ कैलालीमा कतिपय पालिकाले प्लाष्टिकका माला विक्रीमा प्रतिबन्धसमेत गरेका छन् । तिहार, छठजस्ता चाडपर्वमा कैलालीको धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका र बर्दगोरिया गाउँपालिकामा प्लास्टिक मालामा प्रतिबन्ध लगाइएको छ । यी पालिकाले स्थानीय व्यवसायीको बारीमा फूलेका फूलका माला मात्र विक्री गर्न अनुरोध गरेका छन् । रासस