नेकपा (माओवादी केन्द्र)ले सरकार छोड्ने चेतावनी दिएपछि प्रधानमन्त्री शेर बहादुर देउवा अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा टेबल नगर्न सहमत भएका छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री देउवाबीच भएको छलफलपछि आजको बैठकमा एमसीसी पेश नगर्ने र भोलि गठबन्धनको बैठक बसेर यस बारे निर्णय लिने सहमति भएको हो ।यस अघि सिंहदरबारस्थित आज बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले एमसीसी परियोजनाको विपक्षमा उभिने र सहमति बिना संसदमा टेबल गरे सरकारबाट बाहिरिने निर्णय गरेको थियो । बैठकले संशोधनबिना एमसिसी पारित गर्न नसकिने निष्कर्ष निकाल्दै जबरजस्ती पारित गर्न खोजे सरकार छोड्ने निर्णय गरेको हो । बैठकलगत्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री शेर बहादुर देउवालाई भेट्न गएका थिए। बैठकपछि आज एमसीसी पेश नगर्ने सहमति भएको हो । कांग्रेसको संसदीय दलको बैठकले भने हिजो नै एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री देउवाले हिजो नै सभामुख अग्नि सापकोटालाई फोन गरेर एमसीसी संसद पेश गर्ने तयार गर्न भनेका थिए । एमालेले भने आफ्नो माग पुरा नभएको भन्दै आजको बैठक पनि अवरोध गर्ने जनाएको छ ।संसद बैठक आज दिउँसो १ बजेको लागि बोलाईएको छ ।