बिट्क्वाइनको भाउ घटेर ३० हजार डलर मुनि

वैशाख २७, टोकियो (जापान) । भर्चुअल मुद्रा बिट्क्वाइनको भाउ घटेर सन् २०२१ को जुलाईयता पहिलो पटक ३० हजार डलरभन्दा मुनि आएको छ । अमेरिकाले आक्रामक रुपमा मौद्रिक नीति कसिलो बनाइरहेको अवस्था र महँगीमा भइरहेको वृद्धि बीच लगानीकर्ताहरु त्रस्त बनेसँगै क्रिप्टोकरेन्सी बजार मंगलबार ओरालो लागेको छ । मंगलवार कारोबारमा बिट्क्वाइनको भाउ प्रतिगोटा २९ हजार ७६४ डलरसम्म आएको छ । नोभेम्बरको कीर्तिमानी स्तर यता बिट्क्वाइनको भाउ झन्डै आधाले घटिसकेको छ । अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले दशकौं यताकै उच्च स्तरमा उक्लिएको महँगी नियन्त्रण गर्न धमाधम ब्याजदर बढाइरहेको अवस्थामा लगानीकर्ताहरुले प्रविधिको शेयर जस्ता तीव्र उतारचढाव आउने शेयर र बिट्क्वाइनलगायत अन्य डिजिटल मुद्रामा रहेको लगानी झिकिरहेका छन् ।  वालस्ट्रिटमा सेल–अफ बन्द नहुने संकेतबीच बिट्क्वाइन मुख्य प्राविधिक टेवा स्तरभन्दा तल आएको विश्लेषण गरिएको छ । गत वर्ष आफूले बिट्क्वाइनमा गरेको लगानीमा संस्थागत लगानीकर्ताहरुले घाटा बेहोरेका छन् । यस्तोमा धेरैले बिट्क्वाइन र यसमा गरिएको लगानीलाई नजिकबाट नियालिरहेका छन् । सोमवार अमेरिकी शेयर बजारमा तीव्र कमी आएपछि क्रिप्टोमा पनि यसको प्रभाव देखिएको छ । सोमवार बजार बन्द हुँदा नास्डाक ४ दशमलव ३ प्रतिशत तल आएको थियो । एसएन्डपी ३ दशमलव २ प्रतिशतले घट्दा दाउ जोन्समा पनि २ प्रतिशतको कमी आएको थियो । एजेन्सी

सम्बन्धित सामग्री

माग कम हुँदा पनि यो महीना १२ प्रतिशतले बढ्यो बिट्क्वाइनको भाउ

काठमाडौं ।  भर्चुअल मुद्रा बिट्क्वाइनको भाउ यो महीनाको अहिलेसम्मको अवधिमा १२ प्रतिशतले बढेको छ । जुन शुरु भएयता बिट्क्वाइनको भाउमा तीव्र उतारचढाव आइरहेको छ । बुधवार प्रतिगोटा बिट्क्वाइनले ३० हजार डलरको स्तर नाघ्यो । क्वाइन म्याट्रिक्सको तथ्या‌ंक अनुसार भाउ यो स्तरमा उक्लिएको अप्रिल १४ यता पहिलो पटक थियो । अमेरिकी सम्पत्ति व्यवस्थापन कम्पनी ब्ल्याकरकले बिट्क्वाइन ईटीएफका लागि आवेदन दिएपछि भाउ बढेको विश्लेषण गरिएको छ । ठूला संस्थाहरूले बिट्क्वाइन वा अन्य डिजिटल सम्पत्तिहरू अंगाल्नेतर्फ कदम चालेको खबरले पनि भाउ बढेको हुन सक्छ ।  यो वर्ष क्रिप्टो बजारमा तरलता (मार्केट डेप्थ)अति नै पातलो छ । बजारमा तरलता न्यून भएको बेलामा ठूला खेलाडीहरूले खरीदविक्रीका लागि अर्डर दिए ।  यो वर्ष शुरु भएयता बिट्क्वाइनको मार्केट डेप्थ २० प्रतिशतले घटेको काइकोको तथ्या‌ंकले देखाएको छ । यस मामिलामा बिट्क्वाइन अन्य क्रिप्टोकरेन्सीमध्ये सबैभन्दा मारमा परेको छ । बजारमा तरलता थोरै भएको बेलामा थोरै मागले पनि भाउ बढाएको सीसीडेटाका अनुसन्धान प्रमुख जेमी स्ले बताएका छन् । अमेरिकाले क्रिप्टो उद्योगमाथि कडाइ कसिलो बनाएपछि बजारमा तरलता अभाव उत्पन्न भएको थियो । अमेरिकी शेयर नियामक सेकले क्वाइनबेस र बाइनान्स जस्ता प्रमुख एक्सचेञ्ज गृहमाथि मुद्दा हालेको थियो । अहिले बजारमा कारोबार पातलो हुनुको कारण खुद्रा व्यापारीहरू बजारमा नफर्किनु पनि हो । सन् २०२१ मा बिट्क्वाइनको भाउ उत्कर्षमा भएको बेलामा दैनिक कारोबार १ खर्ब डलरसम्म पुगेको थियो । अहिले कारोबारको रकम २४ अर्ब डलर आसपास छ । भाउ बढ्न थालेपछि अरु बेला खुद्रा व्यापारीहरू बजारमा छिरिसक्थे । यसपटक यस्तो भएको छैन । एजेन्सी

सुन जत्तिकै महँगो आँप, खाने हो त ?

काठमाडौं । अहिले आँपको सिजन सिजन उत्कर्षमा छ । जात अनुसार फरक फरक मूल्यमा भने जस्ता आँप खान पाइन्छ । गएको हप्ता सिलगुडीमा दूर्लभ जातको आँप सुनकै मूल्यमा बिक्यो । पश्चिम बंगालको बिरभम जिल्लाका एक किसानको आफ्नो बगैंचाको हरेक आँप ३० हजार रुपयामा बेचे ।   यो भनेको ५ ग्राम २४ क्यारेट सुनको भाउ जत्तिकै थियो । सुनकै मूल्यमा बिकेको यो आँपको नाम मियाजाकी हो । बैजनी रातो खालको यो आँपको उद्गमस्थल चाँहि जापानको मियाजाकी प्रिफेक्चर हो । यो विश्वको सबैभन्दा महँगो आँप हो । विश्व बजारमा यो आँपको भाउ किलोकै २५ लाख रुपया छ । यो आँपको तौल ३५० ग्रामदेखि ९०० ग्रामसम्म हुन्छ ।  यो वर्ष भारतमा दूर्लभ खालको आँप मात्रै होइन । अन्य जातको आँप पनि उच्च मूल्यमा बिकिरहेका छन् । प्रतिकूल मौसमका कारण उत्पादन प्रभवित हुँदा देशभर नै आँप महँगो बनेको छ । महाराष्ट्र र कोन्कान क्षेत्रमा फल्ने अल्फोन्सो जातको आँपको उत्पादन घटेर आधामा झरेपछि मूल्य बढेको व्यापारीहरु बताउँछन् ।  गुजरातमा केसर जातको आँप पनि छोइ नसक्नु भएको छ । उत्पादन कम हुँदा निर्यात पनि प्रभावित बनेको छ । संयुक्त अरब इमिरेट्स, बेलायत, अमेरिका, कतार, कुवेत, ओमान, क्यानडा, सिंगापुर, बहराइन र भुटान भारतको मुख्य निर्यात बजार हुन् । तर यो वर्ष यी देशहरुमा जम्मा ३६ करोड रुपयाका मात्रै आँप निर्यात भए । फेब्रुअरीमा अल्फोन्सो आँपको फसल रामै्र थियो । तर अप्रिल र मेमा पाक्ने बेलासम्म आँप निकै कम थिए । मुख्य सिजन अघि एक दर्जन अल्फोन्सो आँपको मूल्य ५ हजार रुपया थियो । मियाजाकी आँपको बोटलाई विशेष हेरचाह चाहिन्छ ।  गएको वर्ष अप्रिलमा जापानमा दुई दाना मियाजाकी आँप ५ लाख येन (झन्डै ४ हजार डलर)मा विक्री भएको थियो । भारतमा पछिल्लो समय किसानहरु यो आँपको खेतितिर आकर्षित हुन थालेका छन् । यो आँप लटरम्मै फल्दैन । सूर्यको अन्डा भनेर चिनिने यो आँपको स्वाद पनि अति नै मिठो हुन्छ । विदेशमा यो आँपलाई विशेषगरी उपहारको रुपमा प्रयोग गर्ने गरेको पाइन्छ ।  एजेन्सी

बिट्क्वाइनमा सेल–अफ जारी, २७ हजारभन्दा मुनि आयो भाउ

काठमाडौं (अस) । भर्चुअल मुद्रा बिट्क्वाइनको भाउमा हालैका दिनमा देखिएको सेल–अफ (भाउ थप घट्छ कि भन्ने पिरमा सस्तोमै भएपनि मिल्काउने प्रवृत्ति)ले बिहीबार पनि निरन्तरता पाएको छ ।  बिहीबार दिउँसो प्रतिगोटा बिट्क्वाइनको भाउ ८ दशमलव ७६ प्रतिशतको कमी सहित २६ हजार ८४८ डलर २० पैसामा आएको क्वाइन मेट्रिक्सको तथ्यांकले देखाएको छ । सोही समयमा इथरको भाउ पनि १३ प्रतिशतले घटेर प्रतिगोटा १ हजार ८३२ डलर ३३ सेन्टमा झरेको थियो । अमेरिकी श्रम तथ्यांक विभागले अप्रिलमा उपभोक्ता मूल्य बढेर ८ दशमलव ३ प्रतिशतमा उक्लिएको तथ्यांक सार्वजनिक गरेपछि क्रिप्टोकरेन्सीको भाउ थप ओरालो लागेको हो । योसँगै अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले आक्रामक रुपमा ब्याजदर बढाउने सम्भावना बलियो भएपछि क्रिप्टोसमेत जोखिमयुक्त सम्पत्तिमा रहेका लगानीबाट लगानीकर्ताहरु धमाधम बाहिरिन थालेपछि बजार ओरालो लागेको हो ।  पछिल्लो समय एसएन्डपी ५००, नष्डाक कम्पोजिट र क्रिप्टोकरेन्सीको प्रदर्शन सह–सम्बन्धित जस्तै देखिएको छ । केही समयका लागि क्रिप्टो बजार दबाबमा रहेका एसेन्डएक्सका भेञ्चर एशोसियट माइकल रिन्को भन्छन् । फेडले ब्याजदर बढाउँदै गर्दा शेयर पनि ओरालो लागिरहेको र साथै क्रिप्टो पनि घटिरहेको उनले बताए । यसले बजारमा निकै धेरै भय सृजना भएको पनि उनले बताए ।  बिट्क्वाइनको भाउ २९ हजार भन्दा मुनि झरेको यो हप्तामा यो दोस्रो पटक हो । बिट्क्वाइनको लागि ३० हजार महत्वपूर्ण टेवा स्तर थियो । यसमा अडिन नसकेपछि यो झनै तल ओर्लिन सक्ने विश्लेषकहरु बताउँछन् । एजेन्सीको सहयोगमा

तेलको भाउ घट्ने क्रम जारी

कात्तिक २५, न्यूयोर्क (अमेरिका) । अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको भाउ घट्ने क्रमले बिहीवार पनि निरन्तरता पाएको छ । अमेरिकामा मुद्रास्फीति बढिरहेको चिन्ताबीच तेल बजार दबाबमा आएको हो । पेट्रोलियम निर्यातकर्ता देशहरुको संगठन (ओपेक)ले ऊर्जाको उच्च मूल्यतर्फ औंल्याउँदै तेलको माग प्रक्षेपण घटाउँदा पनि तेल बजार दबाबमा आएको हो । लन्डन स्थित आईसीई एक्सचेञ्जको कोमेक्स डिभिजनमा बिहीवार प्रतिब्यारेल ब्रेन्ट क्रुडको भाउ १३:४३ जीएमटीतिर शन्ूय दशमलव ६३ प्रतिशतले घटेर ८२ डलर १२ सेन्टमा आएको थियो । बिहानी कारोबार भने यसको भाउ बढेर प्रतिब्यारेल ८३ डलर ३७ सेन्टसम्म उक्लिएको थियो । उता, अमेरिकी बेञ्चमार्क वेष्ट टेक्सास इन्टरमिडियट (डब्ल्यूटीआई)को भाउ पनि १ प्रतिशतको कमी सहित प्रतिब्यारेल ८० डलर ५१ सेन्टमा आएको थियो । यस वर्षको चौथो त्रैमासमा तेलको माग दैनिक ओसत ९ करोड ९४ लाख ९० हजार ब्यारेल रहने ओपेकले आफ्नो पछिल्लो मासिक प्रतिवेदनमा भनेको छ । यो गत महीना गरिएको प्रक्षेपणको तुलनामा ३ लाख ३० हजार ब्यारेल कम हो । ऊर्जाको भाउमा भएको वृद्धिका कारण अक्टोबरमा अमेरिकामा मुद्रास्फीति ६ दशमलव २ प्रतिशतले बढेको बुधवार सार्वजनिक भएको तथ्यांकले देखाएको थियो । यो ३० वर्षयताकै उच्च वृद्धि थियो । यो खबर सार्वजनिक भएपछि बुधवार ब्रेन्ट र डब्ल्यूटीआईको भाउ क्रमशः २ दशमलव ५ प्रतिशत र ३ दशमलव ३ प्रतिशतले घटेका थिए । एजेन्सी

बिट्क्वाइन ३० हजारभन्दा तल आएपछि क्रिप्टोबजारले गुमायो ८९ अर्ब डलर

साउन ५, लन्डन (बेलायत) । भर्चुअल मुद्रा बिट्क्वाइनको भाउ मंगलवार जुन २२ यता पहिलो पटक घटेर ३० हजार डलरमुनि ओर्लिएको छ ।   योसँगै मंगलवार बिहान ६ : २९ इटीसम्मको २४ घन्टामा समग्र क्रिप्टोबजारबाट ८९ अर्ब डलर गुमेको क्वाइन डेस्कको तथ्यांकले देखाएको छ ।  बिट्क्वाइनको भाउ ५ प्रतिशतले घटेको थियो । इथर र एक्सआरपीको भाउ क्रमशः ६ प्रतिशतभन्दा बढी र करीब ९ प्रतिशतले घटेको थियो । पछिल्लो कमीसँगै यस वर्षको अहिलेसम्मको अवधिमा बिट्क्वाइन १ दशमलव ८७ प्रतिशत माथि छ भने इथर र एक्सआरपी १३५ प्रतिशत माथि छन् ।  विश्व शेयर बजारमा ठूलो सेल–अप देखिएपछि बिट्क्वाइनको भाउ घटेको हो । विश्वको आर्थिक पुनःबहालीको स्तर र मजबूतिप्रति चिन्ता रहँदा उच्च प्रतिफल दिने समेतका सबै जोखिमयुक्त सम्पत्ति बजार कमजोर बनेको विश्लेषण गरिएको छ ।  मध्य–अप्रिलको कीर्तिमानी उच्च विन्दुको तुलना अहिले बिट्क्वाइन ५० प्रतिशतभन्दा धेरैले घटिसकेको छ । चीनले त्रिप्टोकरेन्सीको कारोबार र माइनिङमा कडाई थप बढाएपछि बिट्क्वाइनको भाउ दबाबमा आएको हो । एजेन्सी

मस्कको ट्विटपछि बिट्क्वाइनको भाउ बढेर ३९ हजार डलरमाथि

जेठ ३१, सनफ्रान्सिस्को (अमेरिका) । भर्चुअल मुद्रा बिट्क्वाइनको भाउ सोमवार बढेको छ ।  अमेरिकी विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्लाइंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्कले एक ट्विटमार्फत कम्पनीले भविष्यमा पुनः बिट्क्वाइनमा भुक्तानी स्वीकार गर्न सक्ने बताएपछि यसको भाउ बढेको हो । सोमवार प्रतिगोटा बिट्क्वाइनको भाउ साढे ९ प्रतिशतले बढेर ३९ हजार २४० डलरमा पुगेको क्वाइन डेस्कको तथ्यांकले देखाएको छ ।  यो वर्ष शुरु भएदेखि बिट्क्वाइनको भाउ ३० प्रतिशतभन्दा धेरैले बढिसकेको छ । यद्यपि यसको भाउमा तीव्र उतारचढाव पनि देखिएको छ । अप्रिलमा यसको भाउ ६४ हजार ८२९ डलरको कीर्तिमानी उच्च विन्दुमा पुगेको थियो । अनि मे महीनामा भने यो घटेर ३० हजार डलर नजिक आएको थियो । बिट्क्वाइनमा इनरहरुले माइनिङमा ५० प्रतिशत स्वच्छ ऊर्जा प्रयोग गर्ने गरेको पुष्टि भयो भने कम्पनीले पुनःक्रेताहरुलाई कार खरीदको भुक्तानी बिट्क्वाइनमा गर्ने अनुमति दिने एक ट्विटमा मस्कले भनेका थिए । क्रिप्टोकरेन्सी माइनिङले जलवायु परिवर्तनमा प्रभाव पार्ने चिन्तातर्फ औंल्याउँदै कम्पनीले मध्य–मेमा बिट्क्वाइनबाट कार खरीदमा रोक लगाएको थियो ।  हालैका महीनाहरुमा मस्कको ट्विटले बिट्क्वाइन र समग्र क्रिप्टो बजारलाई प्रभावित बनाउँदै आएको छ । पछिल्लो वृद्धि यसैको नयाँ उदाहरण हो । एजेन्सी