काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले यस वर्षको ६ दशमलव ४० प्रतिशत नगद लाभांश वितरण गर्न शुरु गरेको छ । बैंकले पुस २८ गते २२औं वार्षिक साधारण सभा सम्पन्न गरी उक्त नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । करसमेत रहेको उक्त लाभांश पुस २८ गतेदेखि नै जम्मा गर्न थालिएको जानकारी कम्पनीले दिएको छ ।
नगद लाभांश सम्बन्धित शेयरधनीको हितग्राही खातामा उल्लेख बैंक खातामै जम्मा गरिने भएकाले हालसम्म पनि आफ्नो बैंक खाता अद्यावधिक नगराएका शेयरधनीलाई यथाशीघ्र गराउन कम्पनीले भनेको छ ।
कम्पनीको शेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल लिमिटेड छ । आफ्नो नगद लाभांश प्राप्त नगरेका सदस्यले शेयर रजिष्ट्रारको कार्यालयमा सम्पर्क राख्न सक्नेछन् । कम्पनीले यस वर्ष गत वर्षभन्दा कम लाभांश वितरण गरेको हो ।
गत वर्ष ४ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ६ दशमलव ४७ प्रतिशत नगद लाभांश वितरण गरेको कम्पनीले यस वर्ष नगद लाभांशमा जोड दिएको हो । यस वर्षको लाभांशका लागि बैंकले पुस १९ गते बुक क्लोज गरेको थियो । यसर्थ पुस १८ गतेसम्म कायम शेयरधनीले मात्र लाभांश प्राप्त गरेका छन् ।