दाङ । कोरोना संक्रमितका लागि दाङको तुलसीपुरमा ५० शøयाको आइसोलेसन केन्द्र स्थापना गरिएको छ । तुलसीपुर उपमहानगरपालिकाले सोमवार राति ११ बजेदेखि आइसोलेसन सञ्चालनमा ल्याएको नगरप्रमुख घनश्याम पाण्डेयले जानकारी दिए ।
कोरोना संक्रमितको संख्या बढ्दै गएको र जिल्लाका कोरोना अस्पतालमा बिरामीले उपचारका लागि शय्या अभाव भएपछि छोटो समयमै उक्त क्षमताको आइसोलेसन केन्द्र तयारी पारेर सञ्चालनमा ल्याइएको नगरप्रमुख पाण्डेयले बताए । आइसोलेसन सञ्चालनमा आएसँगै संक्रमित बिरामीहरू आउन शुरू भएको छ । पहिलो दिनमै दुईजना संक्रमित भर्ना भएर उपचार शुरू गरिएको उनले बताए । आइसोलेसन केन्द्रलाई थप व्यवस्थित गर्दै लगिने उनको भनाइ छ ।
संक्रमितको संख्या बढ्दै गएपछि बेल्झुण्डीस्थित प्रदेश कोरोना विशेष अस्पताल र घोराहीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बेड अभाव हुन थालेको छ । यस्तो बेला ५० बेडको आइसोलेसन सञ्चालनमा आएकाले उपचारमा केही सहज हुने अपेक्षा गरिएको छ ।